रौतहटको जयनगरमा नदीछेउको बाटो कटान सुरु

रौतहटको जयनगरमा नदीछेउको बाटो कटान सुरु


आरके श्रीवास्तव, रौतहट

अविरल वर्षासँगै गएराति झाँझनदीमा आएको बढीले रौतहटको जयनगरमा बाटो कटान सुरु गरेको छ । नदीमा आएको बाढीले जयनगरस्थित झाँझ नदीको पुलको पश्चिमछेउमै बाटो कटान सुरु गरेको हो ।

उक्त पुलको छेउको ९० प्रतिशत सडकको भाग बढीले कटान गरिसकेको र अब १० प्रतिशत मात्रै बाटो कटान गर्न बाँकी रहेको देखिएको छ ।

बाढीले कटान गर्न बाँकी रहेको लगभग डेढ मिटर बाटो कटान भएमा उक्त सडक नै अवरुद्ध हुने छ ।

दैनिक मधोपुर, विसुनपूर्वा मानपुर, सिंगारमन धर्मपुर, जयनगर सहित दर्जनौँ गाउँका हजारौँ वासिन्दा जयनगरको झाँझ पुलकै बाटो भएर आवतजावत गर्ने गर्दछन् ।

सम्बन्धित निकायले तत्काल उक्त कटानलाई नियन्त्रण गर्न सकेन भने बाढीले उक्त सडक पूर्ण रूपमा कटान गरेपछि दर्जनौँ गाउँका बासिन्दालाई आवतजावत गर्न ठूलो कठिनाइ हुने निश्चित रहेको छ ।

पुलको पारी पूर्वतर्फ समेत दर्जनौँ घरपरिवार बसोबास गरेका छन् बाटो कटान हुँदा पुलको पारी बस्ने बासिन्दालाई समेत आवतजावत गर्न ठूलो कठिनाई हुने देखिएको छ ।

सम्बन्धित निकायले समयमै उक्त कटानलाई नियन्त्रणमा लिएर अवरुद्ध हुन लागेको बाटोलाई जोगाउनेतिर ध्यान दिनु जरुरी भएको छ ।

यता, गरुडा नगरपालिका १ जयनगरका वडाअध्यक्ष सरोज यादवले अवरुद्ध हुन् लागेको बाटोलाई जसरी पनि जोगाउने प्रतिबद्धता जनाएका छन् । उक्त बाटो कटानलाई रोक्ने तयारी गरिरहेको वडा अध्यक्ष यादवले बताए ।

सम्भवतः आजै नभए भोलि तत्कालको लागि बोरामा माटो वा ढुंगा, इँटा हालेर उक्त बाटो कटानलाई नियन्त्रणमा लिने वडाअध्यक्ष सरोज यादवले बताए ।