एनआरएनए युरोप क्षेत्रको १३औँ क्षेत्रिय बैठक तथा ११औँ महिला सम्मेलन हुँदै

एनआरएनए युरोप क्षेत्रको १३औँ क्षेत्रिय बैठक तथा ११औँ महिला सम्मेलन हुँदै


■ सागर सुवेदी, अष्ट्रिया

‘मातृभूमिका लागि सिप र ज्ञान, महिला तथा युवा आवाजका लागि हाम्रो अभियान’ भन्ने नाराका साथ यही आउँदो अक्टोबर ३ र ४ गते गैरआवासीय नेपाली संघ युरोप छेत्रको क्षेत्रिय भेला तथा ज्ञान सम्मेलन भर्चुअल तवरबाट सम्पन्न हुने भएको छ ।

विश्वको वर्तमान जटिल अवस्थालाई मध्यनजर गर्दै प्रत्यक्ष रुपमा भेला सम्पन्न गर्न असहज भएको कारण युरोप क्षेत्रले पनि अन्य क्षेत्रले जस्तै प्रविधिलाई साधन बनाउँदै भेला सम्पन्न गर्ने बताएको हो ।

यसै विषयमा केन्द्रित रहेर युरोप क्षेत्रले आज (२४ सेप्टेम्बर) यूरोप क्षेत्रमा क्रियाशील पत्रकारहरुलाई निमन्त्रणा गरेर एक अनलाइन प्रेस मिट तथा अन्तरक्रियाको आयोजना गऱ्यो । आजको भर्चुअल पत्रकार सम्म्मेलनमा आयोजना गर्न लागिएको कार्यक्रमको बारेमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा क्षेत्रका संयोजक नारायण आचार्यले आगामी अक्टोबर ३ र ४ मा हुन गइरहेको क्षेत्रिय भेलाका साथ गरिने कार्यक्रममा नेपाल सरकारका मन्त्री, सत्तारुढ पार्टीका नेताहरु प्रमुख प्रतिपक्षी दलका केन्द्रिय नेताहरुका साथै नेपाली चेली तथा बिपी कोइरालाकी नातिनी मनिषा कोइराला पनि सहभागिता जनाउने बारेमा जानकारी दिएका थिए भने युरोपका क्षेत्रिय उपसंयोजकलाई दिइएको जिम्मेवारीका विषयमा पनि जानकारी दिएका थिए ।

संयोजक आचार्यका अनुसार मेडिया संयोजनको लागि उपसंयोजक शुक्रराज न्यौपाने रहेका छन् भने अर्का उपसंयोजक मुक्त गुरुङलाई युरोपभर रहेका एनसीसीहरुको समन्वयको जिम्मेवारी दिइएको बताए ।

आज जानकारी दिइएअनुसार यसपटक पहिलाका रिजनल बैठकहरुजस्तै भिन्न–भिन्न सेसनअनुसार छलफल चलाउने र सम्पूर्ण छलफलको निचोडलाई गैरआवासीय नेपाली संघमार्फत नेपाल सरकारलाई बुझाइने तथा सम्मेलनमा उठेका विषय तथा सम्मेलनबाट निस्केको निचोडलाई सम्भव भएसम्म कार्यान्वयनका लागि नेपाल सरकारलाई आग्रह गरिने पनि जानकारी दिइयो ।

भेला आयोजना तथा सम्पूर्ण प्राविधिक विषयलाई सम्बोधन गर्नका लागि युरोप क्षेत्रले नर्बेबाट आइसीसीको लागि प्रतिनिधित्व गर्ने राजु अर्यालको संयोजनमा तयारी समिति बनाइएको पनि जानकारी दिइयो ।

आजको भर्चुअल प्रेस बैठकमा संयोजक, उपसंयोजकका अलावा युरोप क्षेत्रकी महिला संयोजक योगिता थापा, बिबिसी नेपाली सेवाका पूर्व सञ्चारकर्मी तथा वरिष्ठ पत्रकार भगिरथ योगी, पत्रकार महासंघ युरोप च्याप्टर अध्यक्ष केजिन राई, पत्रकार महासंघ बेल्जियम च्याप्टरका संयोजक तथा चारदिशा डटकमका सम्पादक ओम शर्मा, ईनेपालीजकी अष्ट्रिया सम्वाददाता बाबा थापा ढकाललगायतका संचारकर्मीहरुको उपस्थिति रहेको थियो।

आजको कार्यक्रममा युरोप भेलालाई प्रचारप्रसार गर्ने उद्देश्यले युरोपमा अवस्थित पत्रकारहरुलाई समेटेर बनाइएको सामाजिक संजालको ग्रुपमा पत्रकार महासंघ युरोपका सदस्य जस्ता व्यक्तिले ‘जोक र जोकरहरु’ भएको ग्रुप रहेको भनि ब्यङ्ग गरेको साथै युरोपबाट प्रकाशित हुने केही समाचार साइट तथा ब्लगले उपसंयोजकलाई केही आरोप लगाउँदै विवादित बनाउन खोजेकोतर्फ इंगित गर्दै उपसंयोजक शुक्रराज न्यौपानेले केही दिनअघि बनाइएको समूहमा नितान्त रुपमा सक्रिय पत्रकारलाई समेट्न खोजेको बताए भने पत्रकारले आफ्नो पेशागत धर्मबाट समाचार सम्प्रेषण गरेमा मात्र गैरआवासीय नेपाली संघको अभियानमा सकारात्मक संदेश जाने उल्लेख गर्दै कुनै पनि पत्रकारलाई काखा या पाखा गरिने संघको कुनै नीति नरहेको प्रस्ट पारेका थिए ।

गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका कार्यक्रमका बारेमा मेडिया संयोजक न्यौपानेले मेडियालाई दिएको कार्यक्रमबारेको जानकारीका लागि तल हेर्नुहोस्–
ERM-Announcement