बलात्कार आरोपमा दुई जनालाई कैद सजाय सुनाइयो

बलात्कार आरोपमा दुई जनालाई कैद सजाय सुनाइयो


एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा जिल्ला अदालत चितवनले आठ वर्ष कैद सजायको फैसला गरेको छ । आरोपित भरतपुर महानगरपालिका–११ का १९ वर्षीय कविन परियारलाई न्यायाधीश केशव अधिकारीको इजलासले सो फैसला गरेको हो ।

धादिङ जिल्ला नीलकण्ठ गाउँपालिका–५ घर भई नवलपुर, गैँडाकोट आफन्तकहाँ जाने क्रममा अटो रिक्सा चढाई चालक परियारले भरतपुर–१२ स्थित जंगलमा लगी बलात्कार गरेको भन्दै पीडितले गत मंसिर २ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजूरी दिएकी थिइन् ।

उजूरीलगत्तै आरोपित परियारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

यस्तै, ३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले भरतपुर महानगरपालिका–९ शरदपुर घर भएका ३३ वर्षीय दीपक सापकोटालाई चार वर्ष कैद सजायको फैसला सुनाएको छ ।

स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–१२ घर भएकी महिलालाई गत जेठ २३ गते शरदपुर घर भएका सापकोटाले आफ्नै घरको कोठामा बलात्कार प्रयास गरेको आरोप लागेको थियो ।