आइपिएलका लागि भारत पुगेका अष्ट्रेलियाका पूर्वक्रिकेटर जोन्सको निधन

आइपिएलका लागि भारत पुगेका अष्ट्रेलियाका पूर्वक्रिकेटर जोन्सको निधन


अष्ट्रेलियाका चर्चित पूर्वक्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ ।

इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला जोन्सको बिहीबार (२४ सेप्टेम्बर) निधन भएको हो ।

आकस्मिक रुपमा हृदयघात भएर उनको ५९ बर्षको उमेरमा निधन भएको बताइएको छ । स्टार इन्डियाद्वारा जारी वक्तव्यमा लेखिएको छ, “डिन मेर्भीन जोन्सको निधन भएको जानकारी गराउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ । यो दुःखद् घडीमा हामी उहाँका परिवारजन, सुभेच्छुक र समर्थकहरुको साथमा छौँ । उहाँको हृदयघातका कारण आकस्मीक निधन भएको हो ।”

जोन्सको अन्त्येष्टिको व्यवस्थापनका लागि आफूहरु अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ ।

क्रिकेट खेलसम्बन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गरेका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रुपमा चिनिन्छ । उनले क्षमतावान युवा क्रिकेटरहरुलाई प्रोत्साहन र सहयोग गर्ने गर्थे भने उनका दशौँ लाखौँ समर्थकहरु थिए । उनी सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रुपमा खेल क्षेत्रमा लोकप्रिय थिए ।

चर्चित व्याड्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रुपमा क्रिकेट क्षेत्रमा योगदान पुर्‍याएका थिए ।

डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरिम प्रशिक्षक रहेका थिए भने पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षक समेत भएका थिए ।