कोभिड महामारी र अन्तर्राष्ट्रिय उडानको अनुभव

कोभिड महामारी र अन्तर्राष्ट्रिय उडानको अनुभव


■ सनत आचार्य (बेल्जियम)

बन्दाबन्दीका कारण स्थगन भएको नेपालको वायुसेवा सेक्टर ६ महिनापछि आंशिक रूपले खुलेको छ । हवाई सेवा खुलेसँगै लामो समयदेखि विभिन्न स्थानमा थन्किएर बसेकाहरूलाई दुर्गम क्षेत्रलगायत अन्य जिल्लाहरूमा आवत–जावत गर्न सजिलो भएको छ । हवाई सेवा खुलेसँगै राजधानीमा आवतजावत गर्नेका लागि समेत सहज बनाएको छ ।

हवाई सेवा सञ्चालन शुरु गर्न जति सजिलो छ, सोही अनुपातमा जोखिमहरू पनि उत्तिकै छन् । सञ्चालक र सरोकारवालाहरूले जोखिम कम गर्नेतर्फ संवेदनशील भएर सजकता नअपनाए भविष्यमा यो सेवामा पुनः अवरोध नहोला भन्न सकिँदैन ।

खासगरी चालक दल र यात्रुवर्गका सम्बन्धमा अपनाइनु पर्ने सम्पूर्ण सुरक्षा रणनीतिहरू दुवैले पालना गर्न अनिवार्य देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, आईकाओ र नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्यसम्बन्धी प्रोटोकलहरूलाई यात्रु र सञ्चालकहरूले अक्षरशः पालना गर्नु–गराउनु अहिलेको मुख्य चुनौती रहेको देखिएको छ ।

कोभिड सङ्क्रमणलाई हवाई सेवाको माध्यमबाट फैलन नलिन अहिले युरोपियन मुलुकलगायत विश्वका अधिकांश राष्ट्रहरू अत्यन्तै संवेदशील देखिएका छन् । प्रत्येक मिनेटमा उडान भर्ने विश्वका अत्यन्त व्यस्त संघाई, दुबई, पेरिस, हिथ्रो र हङकङ जस्ता विमानस्थलहरूमा समेत कोभिड महामारीका कारण अत्यन्त न्यून उडानहरू हुने गरेका छन् । जे–जति उडान भएका छन् ती उडानहरूलाई सुरक्षित कसरी बनाउने भन्नेबारे सरोकारवालाहरू जिम्मेवार र संवेदनशील देखिन्छन् ।

युरोपका कतिपय देशहरूमा सरकारद्वारा अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ । यदि निस्कनै पर्ने भए स्वास्थ्य प्रोटोकलको पालना गर्न अनुरोध गरिएको छ । विमानस्थलहरूमा सामाजिक, भौतिक दूरी र मास्कको प्रयोग अनिवार्य गरिएको छ । तोकिएको स्थानमा मास्कको प्रयोग नगर्नेलाई हजारौँ रुपियाँ जरिवानासमेत गर्ने गरिएको छ ।

रेल सेवामा पनि स्वास्थ्य सजगता अपनाउन आग्रह गरिएको छ । यहाँ पनि सामाजिक वा भौतिक दूरी पालना गर्न लगाइएको छ । अन्तर्राष्ट्रिय उडानमा विमान चढ्दा विमानको मुल ढोकामा केही थान मास्क र सेनिटाइजरको सानो बोतल राखिएको हुन्छ । यात्रुलाई प्याकेटभित्र राखिएको उक्त सामग्री निःशुल्क दिइन्छ ।

जहाज चढेसँगै सामाजिक दूरी पालना गर्न र मास्कको प्रयोग गर्न बारम्बार आग्रह गरिएको हुन्छ । यात्रुहरू पनि सामाजिक दूरी पालना गर्नेतर्फ सजग रहेको देखिन्छ ।
विमानस्थलमा रहेका रेष्टुरेण्ट र पसललगायतका सम्पूर्ण स्थानहरूमा सामाजिक र भौतिक दूरी कायम गर्नका लागि विभिन्न सङ्केतहरू राखिएका छन् । मानिसहरू उक्त सङ्केतका आधारमा सामाजिक दूरी कायम गरी बस्छन्, सामान किन्छन् र भऱ्याङ चढ्छन् ।

विमानस्थलभित्र यात्रुले मास्क लगाएको वा नलगाएको अनुगमन गर्न स्वयम्सेवकहरू खटिएका हुन्छन् । उनीहरू सानो साइकिल जस्तो साधनमा यताउता घुमिरहेका हुन्छन् । जसले मास्क लगाएको छैन उनीहरूलाई मास्क लगाउन आग्रह गर्छन् । कसै–कसैको मास्क चिउँडोमा छ भने पनि सही तरिकाले मास्क प्रयोग गर्न सभ्य तरिकाले सम्झाउँछन् । यात्रु पनि उनीहरूको आग्रहलाई सहजै स्विकार गरी मास्क सही तरिकाले लगाउँछन् ।

बालबालिकाको हकमा भने मास्कलाई स्वेच्छिक गरिएको देखिन्छ । बालबालिकाको चञ्चल स्वभावका कारण उनीहरूलाई मास्क लगाउन त्यति धेरै दबाब दिइँदैन । तर आमाबाबुले भने उनीहरूलाई बारम्बार मास्क लगाउन प्रयत्न गरेको देखिन्छ ।

विमान स्थलभित्र रहेका पसलहरूमा सामान किन्दा मानिसहरू लाइनमा बसेर सामान किन्दछन् । त्यहाँ पनि सामाजिक दूरी कायम गर्नका लागि सङ्केतहरू राखिएको छ । उक्त सङ्केतअनुसार मानिसहरू उभिने र पालो कुरेर सामान किन्ने गरेका देखिन्छन् ।

विमानका सहयोगी सबैले आफू कोरोना सङ्क्रमणबाट जोगिन पिपिई, पञ्जा, चश्मा र फेस सिल्डको प्रयोग गरेका हुन्छन् । उनीहरूको शरीरका सम्पूर्ण अङ्ग ढाकिएका हुन्छन् । विमानका सम्पूर्ण उडान–कर्मचारी पूर्ण रूपले सुरक्षित रहने प्रयास गरिहरेका देखिन्छन् ।

बेला–बेलामा ट्वाइलेट निसङ्क्रमित (डिसइन्फेक्सन) तुल्यान्छ । ह्यान्डिललगायतका समात्ने स्थानमा नियमित सफाई गरिएको देखिन्छ । विमानभित्र सिटअघिल्तिर रहेको स्क्रिनमा कोभिडको संक्रमणबाट कसरी बच्ने भन्ने सम्बन्धमा नियमित रूपले सन्देशमूलक जानकारी प्रशारण गरिरहेको हुन्छ । ओर्लंदा पनि विमानचालक दलले सामाजिक दूरी कायम गर्न बारम्बार आग्रह गरिरहेका हुन्छन् ।

प्रत्येक उडानमा कोभिड परीक्षणलाई अनिवार्य गरिएको छ । विमानस्थलमै कोभिड र स्वास्थ परीक्षणका लागि चिकित्सकहरूको व्यवस्था गरिएको छ । लामो दूरीको अन्र्तराष्ट्रिय उडानहरूमा ७२ घण्टाभित्रको पिसिआर परीक्षण नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको छ । त्यस्तै केही देशहरूले यात्रुको सार्वजनिक स्वास्थ्य र बसाईको विस्तृतिकरण गरी फाराम तैयार गरेका छन् । यो फाराम यात्रा गर्नुपूर्व अनलाइनबाट बुझाइन्छ ।

त्यस्तै, हवाइजहाजमा पनि एउटा फाराम भर्न अनिवार्य गरिएको छ जसमा सिट नम्बर, आफू बस्ने घरको विस्तृत ठेगाना लगायतका सुचनाहरू मागिएको हुन्छ । यसरी सरकारलाई सूचना दिएपछि उक्त व्यक्तिको बारेमा प्रहरीलगायतले निगरानी गर्ने गरिन्छ ।

विदेशबाट आउने यात्रुहरूका लागि १४ दिन क्वारेन्टाइन अनिवार्य गरिएको छ ।

नेपालमा पनि आन्तरिक उडानमा कतिपय माथि उल्लेखित स्वास्थ्यसम्बन्धी नियमहरू निर्माण गरी यसको पालना गर्न आवश्यक देखिन्छ भने तर्जुमा गरिएका नीति–नियमहरूलाई कडाईका साथ पालना गर्न लगाए कोभिड सङ्क्रमणबाट बच्न र बचाउन सकिनेमा निकै हदसम्म विश्वस्त हुन सकिन्छ ।