भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारबाट नेपाललाई १ अर्ब ५४ करोडको चेक हस्तान्तरण

भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारबाट नेपाललाई १ अर्ब ५४ करोडको चेक हस्तान्तरण


भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत नेपालमा आवास तथा विद्यालय पुनर्निर्माणका लागि भारत सरकारले १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक प्रदान गरेको छ ।

भारत सरकारले गरेको प्रतिबद्धताअनुरुप उपलब्ध गराइएको सो रकम भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई हस्तान्तन्तरण गर्नुभएको छ ।

ज्ञातव्य छ, भारत सरकारले आवास परियोजनाअन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

गत मंगलबार हस्तान्तरण गरिएको यस चेकसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको बताइएको छ ।

भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै, भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायताअन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यसमध्ये भारतले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

भूकम्पपछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।