९ कार्तिक २०७७, आईतवार

त्यो एक मिलीसेकेण्ड, जसले सन्तोषीलाई स्वर्णपरी बनायो

  प्रकाशित मिति
८ आश्विन २०७७, बिहीबार ०७:४५


■ श्रीविक्रम भण्डारी

सानैदेखि उनको रुचि लेखपढमा थियो । हरदम उनी पढाइलाई पहिलो प्राथमिकतामै राख्छिन् । सफल जीवनको सुत्रधार नै पढाइ एवम् स्कुले क्रियाकलाप हो भन्ने उनको बुझाइ भएकोले होला, स्कुलमा आयोजना हुने अतिरिक्त क्रियाकलाप उनको व्यक्तित्व विकासका लागि प्रेरणाका स्रोत थिए । हाजिरी जवाफ, वादविवाद, वक्तब्यकला, निबन्ध र कविता उनको पहिलो रोजाइमा पर्थे । जसमा प्रतिस्पर्धा गर्न पाउँदा उनी आफूलाई गौरवको अनुभूति गर्थिन् । हारजित आफ्नो ठाउँमा थियो, तर ती प्रतियोगितामा सहभागिता जनाउँदा प्राप्त हुने आनन्द उनको लागि औधी प्यारो थियो । त्यसैले उनी यसैमा रमाउन चाहन्थिन् । तर भावीको लेखोट अर्कै थियो, पढाइसँगै खेलकुद पनि उनको जीवनको अभिन्न पाटो बन्न पुग्यो । साँचो अर्थमा भन्नुपर्दा उनलाई खेलकुद खासै रुचिकर लाग्दैनथ्यो र पनि रोजाइमा नपरेको खेलकुद नै अहिले उनको सफल जीवनको महत्वपूर्ण पाटो बनेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उनको चिनारी बनाउन यसैले सेतुको कार्य गरेको छ । यसरी अनायासमै खेलकुदमा होमिएकी र सफलताको झण्डा गाड्न सफल भएकी उनी हुन्– एथलेटिक्सकी चर्चित खेलाडी सन्तोषी श्रेष्ठ ।

कुरा ०६२ सालको हो, त्यतिबेला उनी डल्लुस्थित गीतामाता माध्यामिक विद्यालयमा कक्षा ६ मा पढ्थिन् । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत दौड पनि समावेस गरिएको थियो । साथीहरूको लहलहैमा सन्तोषीले पनि १५ सय मिटर दौडमा भाग लिइन् । १५ सय मिटर दौडमा कति दौडनु पर्छ उनलाई कुनै जानकारी थिएन । उनी त केवल विद्यालयले आयोजना गरेको क्रियाकलापमा किन भाग नलिने भनेर मात्र दौडमा सहभागी भएकी थिइन् । भाग्यको खेल, सन्तोषी उक्त प्रतियोगिता प्रथम भइन् । आफूले रुचाएका क्रियाकलापहरूमा दोश्रो र तेस्रो हुने सन्तोषी नरुचाएको खेलकुदमा प्रथम हुँदा आश्चर्यचकित बनिन् । त्यसपछि उनको खुशीको सीमा रहेन, कतिखेर ज्वालामुखी गाउँपालिका सुनखानी धादिङमा बस्ने बाबाआमालाई यो खुशीको खबर सुनाउँ भन्ने छटपटी भयो । यो सफलता नै सन्तोषीको लागि खेलकुदमा लाग्ने प्रेरणाको स्रोत बन्यो । त्यसपछि उनले पढाइसँगै खेलकुदलाई पनि आत्मसात गरिन् ।

कक्षा ७ मा पढ्दा सन्तोषीले पहिलो पटक उपत्यकाव्यापी अन्तरस्कुल प्रतियोगितामा सहभागिता जनाउने अवसर पाइन् । रेडक्रसले आयोजना गरेको उक्त प्रतियोगितामा उनले पाँच किमीमा दौडेकी थिइन् । थुप्रै विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा पाँचौँ स्थान प्राप्त गर्दा गुरुहरू निकै खुशी भएपछि उनको हौसला बढेको थियो । त्यसपछि स्कुलमा प्रथम हुने सन्तोषीले स्कुलबाहिर पनि पदक जित्न थालिन् । समयसँगै उनीभित्र खेलकुदप्रतिको आकर्षक बढ्दै गयो । राम्रोसँग प्रशिक्षण गऱ्यो भने पहिलो स्थान हासिल गर्ने उनमा विश्वास पलायो । त्यसपछि ‘त आँट म पुऱ्याउँछु’ भन्ने उक्तिलाई आत्मसात गर्दै त्यसलाई सार्थक तुल्याउनेतर्फ लागिन् सन्तोषी । जुन अहिले उनको खेलकुद जीवनलाई हराभरा तुल्याउन अहम् कडी बनेको छ ।

समय बित्दै गयो, लामो दूरीका दौडप्रति सन्तोषी आकर्षित हुँदै गइन् । त्यतिबेला उनी ठूलो फड्को मार्ने तयारीमा थिइन् । ‘अजिङ्गरको आहारा दैवले पुऱ्याउँछ’ भनेझैँ उनको भेट लक्ष्मण मल्लसँग भयो । मल्ल सोही विद्यालयका सिनियर विद्यार्थी थिए । मल्लले एथलेटिक्सको बारेमा थुप्रै कुरा बताएपछि सन्तोषीको आत्मविश्वास बढ्यो । त्यसपछि उनी उपत्यकामा हुने प्रायजसो दौड प्रतियोगिता सहभागिता हुँदै पदक जित्दै गइन्, कहिल्यै पदकविहीन हुनु परेन । विनाप्रशिक्षण उत्कृष्ट प्रदर्शन गर्दा उनमा निकै आत्मविश्वास पलायो । घरको कामकाज र पढाईका कारण प्रशिक्षण गर्नबाट वन्चित सन्तोषीले त्यसपछि समय मिलाएर प्रशिक्षणमा होमिने निर्णय गरिन् । उनको यो निर्णयमा उनका दाइ केदार श्रेष्ठले पूर्ण रूपमा समर्थन गरे । बहिनीलाई प्रशिक्षणको लागि समयको व्यवस्था मिलाउँदै विशेष सहयोग गरे । दाइको यही गुनलाग्दो सहयोगका कारण सन्तोषी केदारलाई आफ्नो पहिलो गुरु मान्छिन् ।

सन्तोषी कक्षा ९ मा पढ्दा पहिलोपटक साथी लक्ष्मण मल्लका साथ दशरथ रङ्गशाला पुगेकी थिइन् । रङ्गशालाभित्र उनले जुन दृष्य देखिन् त्यो उनको मानसपटलमा कैद भयो । मनमा अनेक प्रश्नहरू उठ्न थाले, उत्सुकता जाहेर आयो । मैले कहिलेदेखि यसरी प्रशिक्षण गर्न पाउने होला, यसरी प्रशिक्षण गर्न पाए अझ राम्रो गर्थें हुँला भन्ने कुतूहल उत्पन्न भयो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ त्यसपछि उनले साथी मल्ललाई आफ्नो चाहनाको बारेमा जानकारी गराइन् । मल्लले उनलाई प्रशिक्षणको व्यवस्था मिलाए, त्यसपछि दुवै जना सँगसँगै प्रशिक्षण गर्न थाले ।

सडकबाट रङ्गशाला पुगे पनि सन्तोषीले खेलकुदलाई पूर्ण रूपमा आत्मसात गरेकी थिइनन् । उनी त्यतिबेला पनि दोधारकै मनस्थितिमा थिइन् । त्यसैबेला उनी पहिलो राष्ट्रपति रनिङ शिल्डमा भाग लिन पुगिन् । १५ सय र ५ हजारमा प्रतिस्पर्धा गरेकी सन्तोषीले उक्त प्रतिस्पर्धामा क्रमशः दोश्रो र तेस्रो स्थान हासिल गरिन् । त्यस्तै एडिडासले आयोजना गरेको १० किमी दौडमा तेस्रो भइन् । त्यसपछि नेपाल एथलेटिक्स सङ्घले आयोजना गरेको राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा सहभागी हुने मौका पाइन् । पहिलोपटक सङ्घले आयोजना गरेको प्रतियोगितामा उनले १० हजार मिटरमा दौडेकी थिइन् । पहिलो सहभागिता सन्तोषीका लागि आफैमा निकै चुनौतीपूर्ण थियो, यसर्थमा कि उनी दिग्गज राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्दै थिइन् । तर भाग्यले साथ दियो उनी तेस्रो भइन् र प्रशिक्षक रघु वन्तको नजरमा पर्न सफल भइन् । त्यसपछि प्रशिक्षक वन्तले उनलाई राष्ट्रिय खेलाडीको रूपमा औपचारिक रूपमा प्रशिक्षण गराए । त्यसपछि सन्तोषीको लागि दशरथ रङ्गशालाको ढोका पूर्ण रूपमा खुला भएको थियो । समयको अभावले दैनिक रूपमा रङ्गशाला आएर प्रशिक्षण गर्न नपाए पनि साताको एक–दुई पटक उनी रङ्गशालामा प्रशिक्षण गर्थिन्, अन्य बेला आफूखुशी ।

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सन्तोषीको अनुभवको पाटो मात्रै बन्यो । ५ हजार, १० हजार र १५ हजारमा प्रतिस्पर्धा गरेकी उनी तीनै विधामा पदकविहीन भइन् । स्वर्ण नभए पनि रजत र काँश्य पदक जित्ने उद्देश्यका साथ प्रतिस्पर्धामा होमिए पनि उनको सपनामा तुषारापात भयो । आफ्नो प्रदर्शनपछि थोरै मात्र निराश सन्तोषीको यो पराजय ठूलो पाठ बन्यो । छैठौँ राष्ट्रियमा पदक जित्ने तयारीमा जुटिन्, छनोट पनि भइन् । तर दुर्भाग्य, प्रतियोगिता र परीक्षा एकै साथ परेकोले दुईमध्ये एकलाई चुन्नुपर्ने अवस्थाको श्रृजना भएपछि उनले परिक्षा नै रोजिन् । उनी त्यतिबेला १२ कक्षामा अध्ययनरत थिइन् । सातौँ सकिए लगत्तै इटहरीमा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आयोजना भएको थियो । उनले यो प्रतियोगिताको ५ हजार र १० मिटरमा प्रतिस्पर्धा गरिन् । १० हजार मिटरमा दौड्ने क्रममा पेटमा समस्या आएपछि उनले ५ हजारलाई मध्यनजर गर्दै खेल त्यागिन् । परिणामतः पाँच हजारमा दोश्रो हुँदै रजत पदक जितिन् । सातौँ राष्ट्रिय खेलेका खेलाडीलाई पराजित गरेर पदक जित्दा क्षण उनको लागि ‘वसन्त बहार’ जस्तै बन्यो । साँच्चै सन्तोषी ज्यादै खुशी थिइन्, उनको टाइमिङमा पनि निकै सुधार भएको थियो । त्यसपछि उनले थुप्रै रोडरेसमा स्वर्ण, रजत र काँश्य जितिन् । यो उनको खेल जीवनको ट्रनिङ प्वाइन्ट नै बन्यो ।

राष्ट्रिय प्रतियोगितामा पहिलोपटक पदक जितेपछि निकै उत्साहित सन्तोषी आठौँ राष्ट्रियको प्रतीक्षामा थिइन् । जिल्ला र क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रियमा छनोट भएकी उनी आठौंमा चमत्कारपूर्ण प्रदर्शन धुनमा थिइन् । नेपालगञ्जमा आयोजना भएको आठौँ राष्ट्रिय सन्तोषीको लागि गर कि मरको अवस्थामा थियो । पदक जित्न नसके खेलजीवन नै धरापमा पर्न सक्थ्यो । यस्तो अवस्थामा ‘जिरे खुर्सानी’ जस्तै असरदार बन्नुको अर्को विकल्प थिएन । यस्तो चुनौतीपूर्ण समयमा सन्तोषी एथलेटिक्सका तीन इभेन्ट १५ सय, ५ हजार र १० हजार मिटरको प्रतिस्पर्धामा उत्रिइन् । भाग्यले साथ दियो भने डोकोमा दुध अड्छ भनेझैँ आठौँ राष्ट्रिय सन्तोषीका लागि भाग्योदय बन्यो । उनले ५ हजारमा स्वर्ण, १५ सयमा रजत र १० हजारमा काश्य जितिन् । तीनै इभेन्टमा पदक जितेपछि उनको खुशीको सीमा थिएन । तर १० हजार मिटरमा केही समयको अन्तरले काश्य पदकमा सीमित हुँदा अहिलेसम्म उनको मन कुँडिएको छ । सन्तोषी भन्छिन्– ‘ज्यादै नरमाइलो लाग्यो । आफूले स्वर्ण पदक जित्ने लक्ष्य बनाएको इभेन्टमा काश्य पदक जित्दा ।’

‘आठौँ राष्ट्रिय’मा गरेको उत्कृष्ट प्रदर्शनका बाबजुद सन्तोषी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा छनोट भइन् । पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता सागमा छनोट हुँदा उनी दङ्ग थिइन् । सोहीबमोजिम सागमा पदक जित्ने अर्जुन दृष्टि बनाइन् । जुन अङ्कुराएको बिज जस्तै उनको मनमा झाङ्गिदै गयो । उनी पदकको सपना बुन्न थालिन्, त्यसको प्रभाव प्रत्येक दिन उनीमा पर्दै गयो । बडो हिम्मतका साथ आँट साहसका साथ उनी अगाडि बढिन् । सागका दुई इभेन्ट ५ हजार र १० हजार मिटरमा प्रतिस्पर्धा गरेकी सन्तोषीका लागि यो इभेन्टमा स्वर्ण या अन्य पदक जित्नु आकाशको फलजस्तै थियो । अझ भारत र श्रीलंकाका खेलाडीलाई पराजित गर्नु ‘आइरन गेट’भन्दा कम थिएन । यस्तो अवस्थामा मुटुको ढुकढुकी बढ्नु स्वभाविकै थियो । तर आत्मविश्वासी सन्तोषीले १० हजार मिटरको दौडमा स्वर्णपदक जितेर इतिहास रचिन् । उनले भारतीय खेलाडीलाई एक मिलीसेकेन्डको अन्तरमा पछाडि छोड्दै स्वर्णपदकमाथि कब्जा जमाइन् । उनले १० हजार मिटरमा व्यक्तिगततर्फ स्वर्ण जित्दै यो इभेन्टमा नेपाललाई स्वर्णपदक दिलाउने महिला र पुरुषमा पहिलो खेलाडी बनिन् । यसभन्दाअघि यस्तो ‘चमत्कार’ कुनै पनि नेपाली खेलाडीले गर्न सकेका छैनन् । त्यस्तै एथलेटिक्समा महिलाहरूमा पहिलो स्वर्णपदक जित्ने खेलाडी समेत बनिन् सन्तोषी । उनी ५ हजार मिटरमा भने चौथो स्थानमा रहिन् ।

१३औँ सागमा ऐतिहासिक सफलता दिलाउन नेपाल एथलेटिक्स संघको भूमिका निकै सकारात्मक रहेको सन्तोषीले खुलासा गरेकी छिन् । उनले संघका अध्यक्ष राजीवविक्रम शाह, मुख्य प्रशिक्षक चन्द्र गुरुङ, सचिव आरके विष्ट, कार्यकारी अधिकृत विष्णु नेपाललगायत एथलेटिक्सको पूरै टिमको आफूलाई निकै सपोर्ट गरेको बताइन् । उहाँहरूकै सपोर्टका र शुभेच्छाका कारण आफूले यस्तो सुखद रिजेल्ट दिन सकेको सन्तोषीको कथन थियो । साथै यस्तो सकारात्मक सपोर्टको लागि सम्पूर्ण संघका पदाधिकारी र गुरुलाई विशेष धन्यवाद दिन चाहन्छु । मलाई विश्वास छ, भविष्यमा पनि मलाई यस्तै सपोर्ट मिल्नेछ ।

१३औँ सागपछि सन्तोषीले चारवटा रोडरेसमा सहभागिता जनाएकी थिइन् । जस्मा काठमाडौं र हेटौँडामा आयोजना भएको ५ हजार मिटरमा प्रथम भएकी थिइन् । त्यस्तै, काठमाडौं र धरानमा भएको १० हजार मिटरमा पनि उनले बाजी मारेकी थिइन् । सन्तोषीले अहिलेसम्म ५० भन्दा बढी रोडरेसमा सहभागिता जनाएको र सबैमा विभिन्नखाले पदक जितेकी छिन् । त्योबाहेक लिगलिग दौड र कान्तिपुर हाप म्याराथन चार–चार पटक च्याम्पियन बनेकी छिन् । त्यस्तै २१ किमी हाप म्याराथनमा दुई पटक दोश्रो र १० किमीमा एक पटक प्रथम र एक पटक द्वित्तिय भइसकेकी छिन् । योबाहेक उनले थुप्रै दौड प्रतियोगितामा पदक जितेकी छिन् ।

आफ्नो खेल जीवनको अविष्मणीय क्षणहरू थुप्रै रहेको बताउने सन्तोषी कुनै एकलाई इङ्गित गर्न आनाकानी गर्छिन् । ‘म सानो–सानो खेलमा गरेको प्रदर्शनबाट खुशी छु, त्यसलाई कदापि बिर्सन सक्तिनँ । तर विशेष रूपमा भन्नुपर्दा आठौँ राष्ट्रिय र १३औँ सागमा जितेको स्वर्णपदकको क्षण मेरो लागि विशेष बनेका छन् । म त्यो क्षणलाई कदापि भुल्दिनँ, ती मेरो मानसपटलमा हार्डडिक्सझैँ बनेका छन् । जागिर छोडेर खेलकुदलाई आत्मसात गर्दा पाएको सफलता मेरो लागि ठूलो उपलब्धि बनेको छ । म धेरै खुशी छु । अहिले मभन्दा पनि मेरो आमाबाबा र सम्पूर्ण परिवार खुशी छ, म पनि खेलकुदमै रमाइरहेकी छु, योभन्दा खुशी अरु के हुन्छ होला र ?’– सन्तोषीले भनिन् ।

खेलकुदसँगै पढाईलाई पनि एक साथ सफलतापूर्वक अगाडि बढाइरहेकी सन्तोषीको खेल जीवनलाई कहिलेसम्म अगाडि बढाउने कुरामा कुनै प्लान छैन । उनले भनिन्– ‘जहिलेसम्म सक्छु, त्यतिबेलासम्म खेल्छु । मेरो लक्ष्य भनेको ओलम्पिकसम्म पुग्ने हो । त्योभन्दाअघि आफ्नो समयमा सुधार गर्दै एसियाली खेलकुदमा पदक जित्न चाहन्छु ।’ त्यस्तै पब्लिक हेल्थमा ग्य्राजुयट गरेकी र पब्लिक एडमिनिस्ट्रेसनमा मास्टर्समा अध्ययनरत सन्तोषीले आफूले आर्जन गरेको शिक्षालाई सम्बन्धित क्षेत्रमा योगदान पुऱ्याउने लक्ष्य राखेकी छिन् ।

प्रेम प्रस्ताव विवाहको बारेमा चर्चा गर्दा सन्तोषीले निकै खुलेर जवाफ दिइन् । उनले भनिन्– ‘मलाई अहिलेसम्म स्कुलदेखि कलेजसम्म कसैले प्रेम प्रस्ताव राखेको छैन । मन पराउने थुुप्रै होलान्, त्यसको बारेमा म यति मात्रै भन्न सक्छु, मलाई केही थाहा छैन । साँचो रूपमा भन्नुपर्दा सबै साइलेन्स छ । मलाई थाहा छ, कुन बेला कुन कुरालाई प्राथमिकतामा राख्नुपर्छ भन्ने । त्यसैले होला म यस्ता कुराबाट टाढा छु । साथै मेरो अहिले विवाह गर्ने कुनै योजना पनि छैन । सोचेको पनि छैन, सोच्ने बेलामा राम्रोसँग सोचेर गर्छु होला ।’

नेपाली खेलकुदलाई सुधारोन्मुख बताउने सन्तोषीले खेलकुदको समग्र विकासका लागि अझै थुप्रै कार्यहरू गर्न बाँकी रहेको चर्चा गरिन् । हो पहिलो भन्दा केही सुधार भएको छ तर पूर्ण सन्तुष्टि लिन सक्ने अवस्था छैन । त्यसको लागि नेपाल सरकार सम्बन्धित निकाय, खेलाडी र खेलसम्बद्ध व्यक्तिहरूको योगदानको उत्तिकै खाँचो छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज (९ कात्तिक) हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४० प्रमादी नामक सम्वत्सर शरद ऋतु वि.सं.२०७७

■ कोशिक नवराज अहिले चर्चामा रहेको शब्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले