नग्नता !

नग्नता !


■ यश घिमिरे

‘नग्नता भन्ने कुरा हेर्नेको आँखामा भरपर्छ ।’ प्लेनको सिटमा सँगै परेको एउटा अरबीले मिनिस्कर्ट लगाएकी परिचारिकातिर एक नजर फ्याँक्दै भन्यो– ‘मलाई मिनिस्कर्ट लगाउनेहरुले भन्दा बुर्का लगाउनेहरुले आकर्षित गर्छन्, किनकि कपडाभित्रको नग्नतालाई मैले कल्पनामा आफ्नो रुप दिन पाउँछु । पहिल्यै आँखाले सर्वाङ्ग देखिसकेको कायामा त्यो आकर्षण रहन्न ।’

यात्रामै चिनजान गरिएको महमुद अब्बासले कतारदेखि फ्र्यान्कफर्टको जहाज यात्रामा गफगाफमा साथ दिँदै थियो । फरर अमेरिकी लवजमा अङ्रेजी बोल्ने उ जस्तो अरबीलाई जीवनमा निकै कम मात्र देखेको छु । स्ट्रीम गरेर छोटो दाह्री राखेको अधबैंसे अब्बासको बोलीको जादु चलेर होला नजिकैको एउटा युरोपियन पासपोर्टधारी गोरा पनि हाम्रो वार्तालाप चाख मानेर सुन्न थाल्यो ।

‘तिमीले कोही सर्वाङ्ग नाङ्गो स्त्री–पुरुष देखेको होला नि होइन ?’ मतिर चम्किलो आँखा बिछ्याउदै भन्यो– ‘महसुस गरेका छौ ? यसरी नाङ्गो भएर हिँड्दै गरेको स्त्री/पुरुष कति कुरुप देखिन्छन्, अप्रिय लाग्छन् ! मलाई लाग्छ यदि स्त्रीहरु नाङ्गै हिँड्थे भने बलात्कार भन्ने चिज लोग्नेमान्छेको दिमागमै हुन्थेन होला । पशुले कपडा लगाउँदैन त्यही भएर बलात्कार गर्दैन । यौनको चेत, समागमको भोक, शत्रु–मित्र छुट्याउने शक्ति र भोकप्यासको ज्ञान हरेक जनावरमा हुन्छ । यौनभोक त सायद तिनमा पनि मानवजाति सरह हुन्छ, तर किन पशुले बलात्कार गर्दैन त ? किनकि उनिहरुले कपडा लगाउँदैनन् । जसरी बन्द गरेको मुठ्ठीभित्र के होला भन्ने कौतुहलता हुन्छ, त्यसैगरी कपडाले ढाकिएको शरीरमा पनि यही कुरा हुन्छ । लोग्नेमान्छे सधैं अरुको कपडा च्यात्न/खोल्न उद्यत हुन्छ । प्रकृतिले नै भाले जातिलाई अलिक बढी उदण्ड बनायो । बनाउनुको पनि कारण छ । वंशवृद्धि पुरुषकै सक्रियताले हुन्छ । पोथीजातिहरु मट्टीतेलले भिजेको दाउरा जस्ता हुन्, बाहिरबाट हेर्दा चिसो भिजेको, कहिल्यै नसल्केलान् जस्ता, तर वास्तबमा उनीहरु त्यस्ता हुन्नन् जस्तो देखिन्छन् । सानो आगोको झिल्कोको संसर्गमा जब आँउछन् ह्वात्त आगो टिप्छन् । भगवान्, अल्लाह वा प्रकृति जे भने पनि उनैले लोग्नेमान्छेलाई सलाइको काँटी दिएर पठाए । सृष्टिको निरन्तरताको लागि भालेजाति कृयात्मक बन्नुपरेको हो ।’

‘यो त ठिक छ तर बालिकाहरुमाथि बलात्कार किन हुन्छ त उसो भए ? सधै नाङ्गै देखिरहेका हुन्छौँ ।’ – मैले थोरै क्षोभमिश्रीत स्वरमा प्रश्न सोधेँ ।

प्रकृतिले नै भाले जातिलाई अलिक बढी उदण्ड बनायो । बनाउनुको पनि कारण छ । वंशवृद्धि पुरुषकै सक्रियताले हुन्छ । पोथीजातिहरू मट्टीतेलले भिजेको दाउरा जस्ता हुन्, बाहिरबाट हेर्दा चिसो/भिजेको, कहिल्यै नसल्केलान् जस्ता ! तर वास्तवमा उनीहरू त्यस्ता हुन्नन् जस्तो देखिन्छन् । सानो आगोको झिल्कोको संसर्गमा जब आँउछन् ह्वात्त आगो टिप्छन् ।

‘हो, बालिका बलात्कारचाहिँ विकृत मानसिकताको उपज हो, रोग हो त्यो । यसको अचुक उपाय भनेको मृत्युदण्ड नै हो । यस्ता रोगीहरुले यो धर्तीमा बाँच्नुपर्ने कुनै कारण छैन ।’

उसको यो जवाफ हाम्रो कुराकानीलाई चाख दिइरहेको गोरालाई मन परेन कि किन हो जवाफ फर्कायो– ‘लूक मिस्टर ! जसरी जन्मदिने अधिकार भगवानलाई छ, मृत्यु दिने अधिकार पनि उसैलाई हुन्छ । तिमी–हामी भगवान होइनौँ । अनि फेरि मृत्युदण्ड समस्याको समाधान पनि होइन । हुन्थ्यो भने तिमीहरुको देशमा कहिल्यै बलात्कार जस्तो अपराध हुन्थेन । सार्वजनिक रुपमा पासबिक तरिकाले ढुङ्गाले हानेर मार्ने, काट्ने काम गरिरहनु नै पर्थेन । रोग हो भने यसको औषधी हो समाजलाई थप संक्रमण नगरोस् भनेर जीवनभर जेलभित्र थुनेर राख्ने । अपराधीलाई आइसोलेट गर्ने ।’

परिचारिकासँग पोट्याटो जुसको गिलास हातमा लिएर केहीबेर उ मौन भयो अनि बिस्तारै बोल्यो– ‘दूध खाँदै गरेको बच्चीलाई बलात्कार गर्ने अधिकार पनि त भगवानले प्रत्यारोपण गरेर पठाएका हुँदैनन् नि होइन ? त्यति मात्र नभएर कुकृत्यपछि पाप लुकाउन घाँटी थिचेर मार्ने अधिकार, सामुहिक बलात्कार गर्ने अधिकार, आफ्नो निहित स्वार्थको लागि हत्या गर्ने जस्तो अधिकार पनि यो धर्तीमा कसैलाई प्रत्यायोजित छैन । जब कोही आफ्नो अधिकारको अनधिकृत प्रयोग गर्छ भने देशको कानुनले पनि मृत्युदण्ड दिने, सजाय दिने अधिकार राख्छ र हुनुपर्छ भन्छु ।’

जुसको चुस्की लिँदै उसले थप्यो– ‘रह्यो कुरो समाधान हुन्थ्यो भने मेरो देशमा यस्ता अपराध नै हुन्थेन भन्ने कुराको, म तिमीलाई प्रतिपश्न गर्छु– के तिम्रो देशमा चाहिँ जघन्य अपराध नै हुँदैन ? तिमीहरुले समाधन भेट्यौ त ? भेट्याभए जेल किन बनाइराखेको ? किन कैदीहरुले दिनानुदिन भरिइरहेको ? हेर साथी ! अपराधिक मानसिकताले कुनै भूगोल भन्दैन, कुनै देश भन्दैन, कुनै जात भन्दैन ।’

सन्तुष्ट भएर हो या जवाफ नभएर हो, गोरा चुप बस्यो।

साँचो भन्नुपर्दा मसँग पनि विवाद गर्नलाई खासै उपयुक्त शब्दहरु थिएनन् । चुप लागेर अघिल्लो सिटको पिठ्युँमा घुसारिएको एउटा ‘फेसन म्यागेजिन’ निकालेर पल्टाउन थालेँ । उ भने मैले हेर्दै गरेको फोटोहरुमा आँखा गाडेर बस्यो । बलिष्ट पाखुरा र रौँ खुर्किएको चौडा छाती भएको कुनै एउटा पुरुष मोडेल कट्टु मात्र लगाएर ऱ्याम्पमा हिँड्दै गरेको फोटोमा आँखा पऱ्यो । मोरो अरबीलाई खुइल्याउँछु भन्ने लागेर प्रश्नको झटारो हानेँ– ‘यदि यही फोटोमा देखिएझैँ छाती खुल्ला राखेर यो प्लेनको एयरहोस्टेस तिम्रो सामु आउँथी भने के तिमी सहज बस्न सक्थ्यौ तिम्रो मनले तिम्रो आँखाले उभारहरु नाप्न तम्सिन्थेन होला ?’

पुरुषको नाङ्गो छाती देखेर कुनै स्त्रीलाई किन असहज लाग्दैन त ? किनकि उनीहरू युगौँदेखि नाङ्गो छाती देख्न अभ्यस्त भैसके । यदि नारीलाई पनि यो छुट दिइएको हुन्थ्यो भने पक्कै पुरुषलाई महिलाका नग्न छाती सामान्य लाग्थ्यो ।

‘छातीको उभार सानै भए पनि यो फोटोमा देखिएको मोडेलमा पनि छ । पुरुषको नाङ्गो छाती देखेर कुनै स्त्रीलाई किन असहज लाग्दैन त ? किनकि उनीहरु युगौँदेखि नाङ्गो छाती देख्न अभ्यस्त भैसके । यदि नारीलाई पनि यो छुट दिइएको हुन्थ्यो भने पक्कै तिमी–हामीलाई सामान्य लाग्थ्यो । कुनै आमाले बच्चालाई स्तनपान गराइरहेको देखेर तिम्रो आँखाहरु स्तनमा सोझिइन्छन र ? पक्कै सोझिँदैन होइन ! किन ? किनकि तिमीले बार–बार देख्दै आइरहेको हुँदा तिम्रो लागि त्यो दृश्य सामान्य भयो ।’

खाइसकेको जुसको गिलास गुड्दै आएको ट्रलीको ट्रेमा राख्दै आफ्नो भनाइलाई निरन्तरता दियो– ‘हेर साथी ! नाङ्गो हुनु नग्नता होइन । नग्नता भनेको विचार हो दृष्टिकोण हो । एउटा उदाहरण दिन्छु, तिम्रो घरमा मेवाको बोट छ होला होइन ? त्यस्मा झुण्डिएको दुई वटा मेवा देखेर तिमीलाई यौन प्यास जाग्छ ? पक्कै जाग्दैन । झुण्डिने प्रकृति, आकार र गोलाइको हिसाबले कुनै स्त्रीको स्तनभन्दा कम हुँदैन त ! त्यो हेरेर पुरुष किन उत्तेजित नभएको होला ? किनकि त्यसले ब्रा या चोली पहिरेको छैन । नाङ्गो छ । जब केही चिज सर्वाङ्ग नाङ्गो देखिन्छ न त्यहाँ नग्नता हुन्छ न आकर्षण न अपरिपक्व रुपमा यौनभोक जाग्छ । जब बेला–कुबेला यौनप्यास जाग्दैन भने त्यस्तो स्थितिमा बलात्कार भन्ने शब्द नै हुँदैन ।’

उटपट्याङ्गको तर्क लागेर केही नबोली बसेँ । फ्र्यान्क्फर्टको रनवेमा जहाज अवतरण भैसकेको थियो । समय मिलेमा फेरि भेट्ने बाचा गर्दै एकअर्काको जीमेल ठेगाना लिएर छुट्टियौँ ।

आज निकै समयपछि घरअगाडीको मेवाको बोटमा दुई ओटा मेवा तुन्द्रुङ्ग झुण्डिएको देखेर उही महमुद अब्बासलाई झलक्क सम्झिएँ । अनि एउटा पुरानो ब्रा खोजेर ल्याएर मेवाको ती दुई स्तनहरुलाई लगाइदिएँ र आफ्ना भावहरुलाई नाप्न कुर्चीमा बसी नियालेर हेरिरहेँ ।

हाल : भरतपुर–१२, चितवन