कोरोना संक्रमणबाट जिल्ला प्रशासन कार्यालयका कर्मचारीको मृत्यु

कोरोना संक्रमणबाट जिल्ला प्रशासन कार्यालयका कर्मचारीको मृत्यु


एच.एस सिंह, राजविराज

कोरोना संक्रमणबाट बिहिबार (८ असोज) बिहान सप्तरीमा एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी ५५ वर्षीय सत्यनारायण यादवको कोरोनाका कारण मृत्यु भएको हो ।

गत भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । आइसोलेसनमा बसेकै बेला बिहीबार बिहान ५ बजेतिर यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सुचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

मृतक यादव लामो समयदेखि प्रमुख जिल्ला अधिकारीको निवासमा भान्सेको समेत काम गर्दै आएका थिए । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

यस्तै कोरोना संक्रमण भई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहाको गोलबजार नगरपालिका १ निवासी ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

मस्तिष्कघातका साथै टाउको दुख्ने जस्ता समस्या देखिएपछि उनलाई विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । तर त्यहाँ कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियोे । त्यहाँ उपचारकै क्रममा मृत्यु भएको गोलबजार नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सरोज कर्णले जानकारी दिए ।

यो सँगै कोरोना संक्रमणबाट सिरहामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।