चितवनमा कोभिड सङ्क्रमित एक युवाको मृत्यु

चितवनमा कोभिड सङ्क्रमित एक युवाको मृत्यु


चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ ।

तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको सो अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन गत भदौ २९ गते अस्पताल भर्ना भएका उनमा भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो भने उपचारका क्रममा राति उनको मृत्यु भएको बताइएको छ ।

उता डडेल्धुरा जिल्लामा पनि एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

बताइएअनुसार केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्‍याइएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।

ज्ञातव्य छ, डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो नै पहिलो मृत्यु घटना हो ।

बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रस्वासको गति बन्द भइसकेको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले जानकारी दिएका राससले जनाएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १६ पुगेको छ ।