पहिरो खसेर पाल्पामा तीन घर पुरिए, ६ जना बेपत्ता

पहिरो खसेर पाल्पामा तीन घर पुरिए, ६ जना बेपत्ता


अविरल वर्षापछि पहिरो खस्दा पाल्पाको रम्भा गाउँपालिकास्थित फोक्सिङकोटमा तीन वटा घर पुरिएका छन् । बिहीबार (८ असोज) बिहान रम्भास्थित बेलौजामा खसेको पहिरोमा परेर पाँच जना र फोक्सिङ्कोटकै सुरुमडाँडामा खसेको पहिरोमा परेर थप एक महिला गरी ६ जना बेपत्ता भएका बताइएको छ ।

बताइएअनुसार बेलौजा स्वास्थ्यचौकीनजिकै माथिबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । स्थानीय हुमबहादुर र मनबहादुर गाहाको घर पुरिए पनि मनबहादुर गाहाको परिवारका तीन जना भागेर ज्यान जोगाउन सफल भएका छन् भने हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।

यस्तै, फोक्सिङ्कोटकै सुरुमडाँडामा खसेको पहिरोमा एक गर्भवती महिला बेपत्ता भएकी छन् ।् पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको बताइएको छ ।

यसैगरी, गएराति खसेको पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको पनि मृत्यु भएको छ । तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिएका छन् ।