वर्षाले रौतहटका किसानहरू हर्षित !

वर्षाले रौतहटका किसानहरू हर्षित !


आरके श्रीवास्तव, रौतहट

गए रातिदेखी भइरहेको वर्षाले रौतहटेली किसानहरु निकै खुसी भएका छन् । मंगलबार रातिदेखी रौतहटसहितका जिल्लामा वर्षा भइरहेको छ । यसअघि वर्षा नहुँदा चिन्तित बनेका किसानहरु अहिलेको वर्षाले हर्षित भएका हुन् ।

अहिलेको वर्षाले खास गरी धान, उखु लगाएतका बालीनालीलाई धेरै फाइदा हुने भएको छ । धानबाली र उखु हुर्कने समयमा वर्षा भएपछि अब धान र उखुको उत्पादन बढ्ने भन्दै किसानहरु हर्षित भएका हुन् ।

अहिलेको वर्षाले केही किसानलाई खुसी बनाए पनि केहीलाई भने पीडित बनाएको छ । अहिलेको वर्षाले भदैया धान लगाएका किसानहरु चाहिँ पीडित भएका छन् । भदैया धान खेतमै काटेर सुक्नलाई छोडेकोमा अहिले वर्षाले धानलाई भिजाइदिएको र खेतमा समेत पानी लगाईदिएकोले समस्या भएको किसानहरु बताउँछन् ।

त्यस्तै, भदैयाबाहेकको धानबालीको विकास हुने मुख्य सिजनमै वर्षा हुँदा धानबालीको राम्रो विकास हुने, हुर्किने र दाना पनि राम्रै लाग्ने भन्दै किसानहरु खुसी व्यक्त गरेका छन् । यसअघि अहिले पानीको नितान्त आवश्यकता भएको बेला पानी नपरेपछि धानको उत्पादनमा कमी आउने भन्दै किसानहरु चिन्तित बनेका थिए ।

असोज महिनाको पहिलोसाता बित्न लाग्दा पनि पानी नपरेको कारण धानबालीमा नकारात्मक असर पर्ने भन्दै किसानहरु निराश हुँदै गएका थिए ।

गत वर्ष धान फल्ने यो मुख्य सिजनमा वर्षा नहुँदा सिचाइँको सुविधा नभएको सदरमुकाम गौरलगायत राजदेवी, ईशनाथ, बौधिमाई, दुर्गा भगवती, यमुनामाई गाउँपालिका क्षेत्रमा धानको उत्पादनमा कमी आएको थियो तर धान फल्ने अहिले मुख्य सिजन भएको बेला भइरहेको वर्षाले यसवर्ष धान उत्पादनमा वृद्धि हुने किसानहरुको विश्वास रहेको छ । चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, गढीमाई नगरपालिका, माधवनरायण नगरपालिका क्षेत्रमा नहरको सुविधा भएको र समयमा वर्षा पनि भएकोले यसवर्ष धान बाली केही बढी हुने अवस्था रहेको बुझिएको छ ।