१३ कार्तिक २०७७, बिहीबार

मान पदवी : सम्मानको अपमान

  प्रकाशित मिति
७ आश्विन २०७७, बुधबार ०१:०४


■ बबिता बस्नेत

अढाई दशकअघिको कुरा हो, तात्कालीन नारायणहिटी दरबारमा राजपरिवारले दिउँसोको खाना खाँदै गर्दा चरा प्रजातिको मासु बडामहारानी ऐश्वर्यलाई निकैै मिठो लागेछ । अति स्वादिलो भएपछि यो कसले बनाएको हो भन्नेबारे सोधी–खोजी गर्दा भान्से समूहका एक पुरुषले बनाएका रहेछन् । बडामहारानी ऐश्वर्यले उनलाई बोलाएर ‘ओहो.. तैँले आज गजबै खाना खुवाइस्’ भनी भान्सेको प्रशंसा गर्दै दरबारका एक कर्मचारीलाई ‘हुकुम’ भएछ– ‘यस पटकको एउटा गोरखा दक्षिण बाहु यसलाई दिनु ।’ स्वभाविक रूपले सो वर्षको एउटा गोरखा दक्षिण बाहु दरबारका ती भान्सेले प्राप्त गरे ।

विगतमा यस प्रकारका दक्षिण बाहु पाउनेको सङ्ख्या ठुलो थियो । पञ्चायतदेखि प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा दरबार रहेन, राजा रहेनन्, राष्ट्रिय पदकका नामहरूदेखि पदक कसलाई दिने भनी निर्णय गर्ने र दिने ब्यक्तिसमेत बदलिए, तर कसैलाई रिझाएर राष्ट्रिय सम्मान पाइने या दिइने परम्परा भने बदलिएन ।

विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि तक्मा पाउनेहरूको नामावली विवादरहित हुन सकेन । यसको अर्थ जतिले पदक पाए ती सबैले कसैलाई रिझाएरै पाए भन्ने होइन, कतिपय पाउनै पर्ने ब्यक्तिहरूले राष्ट्रिय सम्मान पाएका छन् । तर, पदक प्रदान गर्ने हाम्रो सिस्टम, विभिन्न क्षेत्रमा भएका कतिपय ब्यक्तिले प्राप्त गरेका पदक र तिनका योगदानलाई हेर्दा भन्नैपर्ने हुन्छ– राष्ट्रिय सम्मानको सम्मान राख्न हामीले सकिरहेका छैनौँ ।

सम्मान या पुरस्कार भन्ने कुरा मागेर, निवेदन हालेर या सिफारिसको आधारमा पाइने कुरा होइन । तर हामीकहाँ भने निर्णायक समितिमा बसेका मानिसले आफैंले आफैंलाई सम्मान या पुरस्कारका लागि सिफारिस गर्ने लज्जास्पद कार्यसमेत हुँदै आएको छ । यस प्रकारका अवार्ड, पुरस्कार या सम्मान प्राप्त गरेर बधाइ लिने र हाँसेरै हिँड्नेहरूलाई देखेर अप्ठ्यारो लाग्नेहरूको सङ्ख्या नभएको होइन तर ‘यो यस्तैहरूको संसार हो’ भन्दै तिनलाइ ल…बधाई छ है भन्दै हिँड्नेहरू धेरै छन् । संविधान दिवसको अवसरमा यसपटक तक्मा दिइएका नामहरू हेर्दा मान पदवी, ओहदा प्राप्त ब्यक्तिहरूकै लागि मात्रै हो कि जस्तो देखिन्छ ।

कुनै लाभको पद दिनु र राष्ट्रिय सम्मान फरक कुरा हो, तर यहाँ विभिन्न क्षेत्रका ब्यक्तित्वलाई दिइने राष्ट्रिय सम्मान राजनीतिक नियुक्ति जस्तो भएको छ । जसको सरकार छ उसैका मानिसले बढि पाउने । यस प्रकारको प्रचलन विश्वमा कहीँ पनि हुँदैन ।

खासमा पदमा रही सरकारको तलब भत्ता लिएर काम गर्नेहरूलाई भन्दा सरकरी तलब भत्ताविना पनि कुनै न कुनै रूपले देशलाई योगदान पुऱ्याउँदै आएका मानिसहरूलाई दिइनुपर्ने हो । लकडाउनका बेला खुल्लामञ्च र अन्य स्थानमा खाना खुवाउने मानिसहरू को थिए ? खोजी गरेर राष्ट्रले सम्मान गरेको भए अर्कै महत्व हुने थियो न कि आफ्नै कार्यकर्ता र सरकारी अधिकारीहरू । कुनै पद नपाइ या सरकारी गाडी नचढी आफ्नै बलबुतामा निःस्वार्थ सेवा गर्नेहरूको सङ्ख्या मुलुकमा ठुलो छ । कुनै लाभको पद दिनु र राष्ट्रिय सम्मान फरक कुरा हो, तर यहाँ विभिन्न क्षेत्रका ब्यक्तित्वलाई दिइने राष्ट्रिय सम्मान राजनीतिक नियुक्ति जस्तो भएको छ । जसको सरकार छ उसैका मानिसले बढि पाउने । यस प्रकारको प्रचलन विश्वमा कहीँ पनि हुँदैन ।

दुनियाँमा सम्मान, अवार्ड या पुरस्कारका प्रकार अनेक छन् । विभिन्न अकारप्रकारका सम्मानहरू विभिन्न मुलुकमा ठूलो सङ्ख्यामा वितरण भइरहेका हुन्छन् । हाम्रै मुलुकमा पनि प्रत्येक दिनजसो अखबारका पानामा कुनै न कुनै सम्मान कसै न कसैले प्राप्त गरेका समाचार र फोटाहरू प्रकाशित भइरहेको हामीले देखेकै हो । अहिले कोरोनाले ल्याएको विषम परिस्थितिका कारण सम्मानहरू पनि स्थगित भएका छन् । बेला–बेलामा गरिने सम्मान या अवार्डले मानिसलाई थप राम्रो काम गर्न उत्साह प्रदान गर्छ, थप उत्तरदायी पनि बनाउँछ । त्यसैले सोर्सफोर्स नलगाइकन र आफूले आफैलाई सिफारिस नगरिकन प्राप्त हुने सम्मान या अवार्ड आफैंमा राम्रो कुरा हो । तर त्यसरी विभिन्न सङ्घ–संस्था, कुल, गुठी, प्रतिष्ठानलगायतले दिने सम्मान, अवार्ड र राष्ट्रले गर्ने सम्मानबीचको अन्तर ठूलो छ । राष्ट्रले नै कसैलाई सम्मान या पुरस्कृत गर्ने भनेको सानो कुरा होइन, त्यसैले पुरस्कार या सम्मान पाउने ब्यक्तिको योगदान पनि ठूलै हुनुपर्छ ।

विभिन्न सङ्घ–संस्था, कुल, गुठी, प्रतिष्ठानलगायतले दिने सम्मान, अवार्ड र राष्ट्रले गर्ने सम्मानबीचको अन्तर ठूलो छ । राष्ट्रले नै कसैलाई सम्मान या पुरस्कृत गर्ने भनेको सानो कुरा होइन, त्यसैले पुरस्कार या सम्मान पाउने ब्यक्तिको योगदान पनि ठूलै हुनुपर्छ ।

छिमेकी मुलुक भारतमा पद्मश्री या अन्य राष्ट्रिय अवार्ड कसैलाई प्रदान गर्नुपूर्व सम्बन्धित क्षेत्रका मानिसहरूबीच छलफल र बहस गरी राष्ट्रिय सम्मान प्राप्त गर्नुपर्ने आधारहरू खोजिन्छन् । राष्ट्रिय सम्मानलाई सकेसम्म विवादरहित बनाउने कोशिस प्रायः सबै मुलुकमा गरिन्छ । तर हामीकहाँ भने राष्ट्रिय सम्मानका लागि कुनै निश्चित मापदण्डसमेत बनाएको पाइँदैन । पुरस्कारका लागि कमिटी बनाएर सो कमिटीले मापदण्ड बनाइहाले पनि त्यसमा बाँधिएर निर्णय गरेको देखिँदैन ।

प्रायः राजनीतिक भागबण्डा, निकटवर्तीहरूको सोर्सफोर्स लगायतबाट प्राप्त हुने भएका कारण हाम्रो मुलुकमा तक्माको महत्व घट्दै गएको छ । मान पदवी पाएपछि सुरक्षा अधिकारी तथा कर्मचारीहरूको बढुवामा २ नं आउने भएकाले ती क्षेत्रमा पदकको चार्म फरक छ । तक्मालाई लिएर सुरक्षा क्षेत्रमा खासै विवाद नभए पनि कर्मचारीहरूमा भने गृहमन्त्रालयको सम्बन्धित शाखामा आफ्नो मान्छे हुनेहरूले प्रायः तक्मा प्राप्त गर्ने गरेका छन् । कतिपयले निष्पक्ष रूपमै पनि पाएका छन् तर त्यस्तो सङ्ख्या सानो छ ।

अन्य मुलुकमा राष्ट्रिय सम्मान तथा पुरस्कारहरू खासै विवादमा आएको सुनिँदैन । तर हामीकहाँ भने राष्ट्रिय सम्मानहरू गौरवभन्दा बढि विवादका विषय बन्ने गरेका छन् । केही वर्षअघि एक सरकारी कर्मचारीले यस पङ्क्तिकारसँग भनेका थिए– ‘भ्रष्ट्राचारमा चुर्लुम्म डुबेर कार्वाहीबाट छलिँदै आएका एक कर्मचारी मित्रले राष्ट्रिय सम्मान पाएपछि हामीजस्ता मान्छेलाई एउटै शाखामा बस्नै अप्ठ्यारो भएको छ ।’ मित्रले सम्मान पाएपछि उनले आफूलाई अपमानित भएको महशुस गरेका रहेछन् । त्यतिबेला उनले आफू सम्मानित नभएका कारण अपमानित भएको महशुस गरेका थिए तर यही अवस्था रहेमा भोलि राष्ट्रिय तक्मा तथा पुरस्कारको भाउ घट्दै गएर पुरस्कार प्राप्त गर्नेले नै आफ्नो अवमूल्यन भएको महशुस गर्ने दिन नआउला भन्न सकिन्न ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरकारद्वारा पुनः पूर्ण रूपले लकडाउन गर्न सक्ने सम्भावना सनत आचार्य, बेल्जियम पछिल्लो दुई सातायता बेल्जियममा कोरोना संक्रमण दर ह्वात्तै बढेको

प्रतीक्षा सुवेदी (खड्गी), अष्ट्रिया कोरोना संक्रमणको दोश्रो लहरले युरोपलाई थिल्थिलो पारिरहेको अवस्थामा केही युरोपियन मुलुकले लकडाउन सुरु गरेसँगै अष्ट्रियाले पनि

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरि लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्बोधन गर्दै उनले कोरोना भाइरसको महामारी बढ्दै गएकाले

देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा आज (१३ कात्तिक) २,३६४ जना सङ्क्रमित थपिँदा