भारतले निर्यात रोक्दा व्यापारीले तेब्बर बढाए प्याजको मूल्य

भारतले निर्यात रोक्दा व्यापारीले तेब्बर बढाए प्याजको मूल्य


आरपी उपाध्याय, नवलपरासी

सीमापारि भारतबाट निर्यात रोकिएपछि ब्यापारीले प्याजको मूल्य तेब्बरसम्म बढाएका छन् । परासी र आसपासका बजारहरुमा प्याजको मुल्य प्रतिकेजी एक सय ३० रुपैयाँसम्म बिक्री भइरहेको छ । ब्यापारीहरुले गरेको कार्टेलिङ र कालोबजारीका कारण प्याजको मुल्य आकासिएको उपभोक्त्ता हित संरक्षण मञ्चका नवलपरासी जिल्ला सचिव मोहन पौडेलले जानकारी दिए ।

यता बजारमा एक्कासी प्याजको मुल्यबृद्धि भएको उपभोक्ताबाट गुनासो आएपछि पश्चिम नवलपरासीमा प्याजको गोदाममा अनुगमन गरिएको छ । जिल्ला बजार अनुगमन समितिले परासी बजारमा रहेको प्याजको गोदाममा अनुगमन गरेको हो ।

समितिले चार वटा प्याजका गोदाममा अनुगमन गरेको थियो भने पिकअप गाडीमा समेत अनुगमन गरेको जिल्ला बजार अनुगमन समितिका बजार निरीक्षक अधिकृत एव सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले दर्ता नगरेका गोदामले मुल्यसूची र साईनबोर्ड नै नराखी प्याज बिक्रीवितरण गरिरहेको पाइएको जानकारी दिए ।

अनुगमन गरिएका गोदाममध्ये तीन वटामा तौल गर्ने काँटाको नवीकरण र दर्ता नगरेको पाइएको थियो । त्यस्ता गोदामका व्यापारीहरुलाई २० हजारदेखि ६० हजारसम्म जरिवाना लगाइएको बजार निरीक्षक माझीले बताए ।

उनले भने– ‘४० रुपैयाँ प्रतिकेजीमा किनेर ९० रुपैयाँदेखि एक सय ३० रुपैयाँसम्ममा बिक्री गर्दै आएको जानकारी दिए । ती व्यापारीलाई ६० हजार जरिवाना लागाइएको हो ।’

ती पाँचवटै गोदाम व्यापारीहरुलाई सात दिनभित्र जरिवाना बुझाउन आउन निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालय परासीका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले जानकारी दिए ।

बजार अनुगमनमा रामग्राम नगरपालिकाका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधि रहेका थिए ।