दुर्लभ सुन गोहोरोसहित दुई जना पक्राउ

दुर्लभ सुन गोहोरोसहित दुई जना पक्राउ


महानगरीय प्रहरी वृत्त बौद्ध (काठमाडौं)ले दुर्लभ वन्यजन्तु सुन गोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मुलपानीमा चकलेटको बट्टाभित्र लुकाई राखेको वन्यजन्तुसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउपर्नेमा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा ६ घर भई मुलपानी बस्ने वर्ष २१ का विशाल तामाङ र सोही ठाउँका १९ वर्षीय सुवास तामाङ रहेको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायव उपरिक्षक नविन कार्कीले जानकारी दिएका छन् । पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि मंगलबार (६ असोज) जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ ।

प्रहरीले बरामद गरेको डेढ इन्च लामो ज्यूँदो उक्त सुन गोहोरो वनले संरक्षित तथा दुर्लभ वन्यजन्तु भित्र पर्ने बताएको छ । वन कार्यालयले थप अनुसन्धान पश्चात कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

उता रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको जानकारी दिएको हो ।

लागुऔषध अफिम ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी निरीक्षक शङ्कर खड्का नेतृत्वको टोलीले लागुऔषधसहित ती महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा थवाङ गाउँपालिका­२ ठूलो गाउँ बस्ने वर्ष ३६ की बिनज्योति रोका र ४५ वर्षीया मुली झाँक्री रहेको प्रहरीले जनाएको छ ।

बिनज्योतीले बोकी ल्याएको झोलाभित्र प्लास्टिकको पोकाभित्र बाँधेको अवस्थामा चार किलो ९३५ ग्राम अफिमसहित एक थान तराजु, विभिन्न दरका भारतीय सिक्का र पाँच ग्रामको फलामको ढक फेला परेको थियो भने मुलीले बोकेको झोलाबाट चार किलो ८८५ ग्राम अफिम फेला परेको प्रनि खड्काले जानकारी दिएका छन् ।