काङ्ग्रेस नेताद्वारा हिन्दूराष्ट्रको माग

काङ्ग्रेस नेताद्वारा हिन्दूराष्ट्रको माग


नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, तरुण विभागका प्रमुख एवम् पूर्वमन्त्री शङ्कर भण्डारीले संविधान संशोधन गरी नेपाललाई हिन्दूराष्ट्र बनाउन माग गर्नुभएको छ । संविधान जारी भएको छैठौँ वर्ष प्रवेशको अवसरमा भण्डारीले जारी गर्नुभएको वक्तव्यमा नेपाल परापुर्वकालदेखि हिन्दू राष्ट्रको रूपमा रहँदै आएको र यहाँका बहुसङ्ख्यक जनता सनातन हिन्दू धर्मप्रति आस्थावान रहँदै आएका उल्लेख गर्दै नेपालको मौलिक परम्परालाई भत्कन दिन नहुने र हिन्दू राष्ट्र नै कायम हुनुपर्ने आफ्नो अडान तथा माग रहेको स्पष्ट पारिएको छ ।

नेता भण्डारीको वक्तव्यको पूर्ण विवरण यहाँ प्रस्तुत गरिएको छ– ‘आज जनताबाट गठित संविधानसभाबाट नेपालको संविधान जारी भएको पाँच वर्ष बितेको छ । नेपाली काङ्ग्रेसले राणाशासनको अन्त्यसँगै परिकल्पना गरेको संविधानसभाबाट संविधान लेख्ने परिकल्पनाले २०७२ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा नै पूर्णता प्राप्त ग¥यो । जनताका प्रतिनिधिबाट संविधान लेख्नुको उद्देश्य मुलुकलाई एकताको सुत्रमा बाँध्नु, देशको मौलिकताको संरक्षण एवम् सम्वर्धन गर्दै समृद्धि हासिल गर्नु र अन्तर्राष्ट्रिय प्रतिष्ठा वृद्धि गर्नु हो ।’

‘पहिलो संविधानसभाको निर्वाचन २०६४ ले आफ्नो कार्यभार पूरा गर्न सकेन र, २०७० मा सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसको नेतृत्वमा गठित सरकार संविधान जारी गर्न सफल भयो । जनताको दशकौँदेखिको आफ्ना प्रतिनिधिबाट आफू अधिकारसम्पन्न हुने गरी संविधान जारी गर्ने सपना त साकार भयो तर जनअपेक्षा अनुसारको संविधान भने जारी हुन सकेन ।’

‘२०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा म प्रत्यक्ष निर्वाचित भएर संविधान लेखन कार्यमा सक्रिय रहेको थिएँ । संविधान निर्माणको क्रममा सबै शक्तिको चित्त बुझाउने नाममा कतिपय अव्यवहारिक व्यवस्थाहरू समावेश हुने अवस्था रह्यो त्यसमा मैले निरन्तर फरक धारणा राख्दै आएको थिएँ । त्यसमा सबैभन्दा पेचिलो विषय हिन्दूराष्ट्र कि धर्मनिरपेक्षता भन्ने थियो । नेपाल परापूर्वकालदेखि हिन्दूराष्ट्रको रुपमा रहँदै आएको र यहाँका बहुसङ्ख्यक जनता सनातन हिन्दू धर्मप्रति आस्थावान रहँदै आएका छन् । अन्य अल्पसंख्यामा रहेका धर्म–सम्प्रदायले पनि निर्वाध रूपमा आफ्ना धार्मिक, साँस्कृतिक तथा परम्परागत क्रियाकलापहरू गर्दै नेपाल धार्मिक सहिष्णुता र एकताकोअनुपम उदाहरणको रुपमा विश्वमा स्थापित गराएका थिए । यस्तो अवस्थामा नेपालको मौलिक परम्परालाई भत्कन दिनु हुँदैन र हिन्दूराष्ट्र नै कायम हुनुपर्छ भन्ने मेरो निरन्तर अडान रहँदै आएको हो ।’

‘अन्तरिम संविधानको व्यवस्था अनुसार जनताको सुझाव संकलन गर्ने क्रममा पनि अत्याधिक बहुमतको धारणा हिन्दूराष्ट्र हुनुपर्छ भन्ने नै थियो । त्यस्तो अवस्थामा या त जनताको अभिमतलाई स्वीकार गरौँ या त अन्तरिम संविधानको धारा १५७ बमोजिम जनतम संग्रहमा गएर मात्र धर्मजस्तो संवेदनशिल विषयको निचोडमा पुग्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा रहेको थियो । संविधान निर्माणको क्रममा प्रस्तुत कैयन दस्तावेजहरूबाट मेरा यी धारणा, प्रयत्न र अडान प्रष्ट हुन्छन् । नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउने हो भने त्यो राष्ट्र, राष्ट्रियता र जनताको भावनामा गम्भीर खेलबाड हुन्छ त्यसैले मैले आफ्नो धारणा राखी संविधानसभाबाट राजिनामा दिएर जनताको बिचमा जानुपर्छ भन्नेसम्मको तयारी गरेको ब्यहोरा पनि यहाँ स्मरण गराउनु उचित होला ।’

‘तर, उक्त समयमा आदरणीय नेताहरूबाट संविधान परिवर्तनशील हुन्छ, अहिले दोश्रो संविधानसभाबाट पनि संविधान जारी नभए मुलुक दुर्घटनामा जान्छ, सबैको धारणा समेट्नुपर्ने हुँदा यो एकप्रकारको सहमतिको दस्ताबेज हो । त्यसैले समय सन्दर्भ परिस्थिति र अनुकुलताअनुसार जनभावना मुखरित हुने गरी यो संविधान संशोधन गरौँला, अहिले यसैलाई मानेर जाऔँ भन्ने प्रस्ताव आएपछि मात्र मैले हिन्दूराष्ट्र कायम गर्नुपर्ने अडानलाई तत्कालको आवश्यकताको आधारमा मुलुकलाई सम्भावित दुर्घटनाबाट बचाउने दायित्व बोध गरी स्थगन गरेको ब्यहोरा पनि स्मरण गराउन चाहन्छु ।’

नेपालमा करिव ८५ प्रतिशत हिन्दू रहेका छन् उनीहरूको मात्र होइन यहाँका प्रायः सबै धर्म सम्प्रदायका मानिसहरू नेपाल हिन्दूराष्ट्र नै कायम हुनुपर्छ भन्नेमा एकमत छन् । संविधान निर्माणको क्रममा पनि जनताबाट त्यो मत अभिव्यक्त भएकै हो । २०६२÷०६३ को आन्दोलनमा पनि धर्मनिरपेक्षताको विषय कहीँ कतै उठेकै थिएन । तर, कहाँबाट कुन स्वार्थले वा कसको अभीष्ट पूरा गर्न धर्मनिरपेक्षता राखियो त्यो समयक्रममा खुल्दै आएको छ । संविधानमा धर्मनिरपेक्षताको व्यवस्था भएपछि हिन्दू सनातन धर्ममाथिको अतिक्रमण बढ्दो छ । धर्म परिवर्तन तीव्र बनाउन विभिन्न गिरोह सक्रिय छन् । मठ, मन्दिर, परम्परा र पवित्र धार्मिकस्थलमा विभिन्न नाममा अतिक्रमण सुरु भएको छ । सन्त, महन्तहरू असुरक्षित र अपमानित हुने क्रम बढ्दो छ । धार्मिक बेमेल बढ्दै गएको छ । नेपालको राष्ट्रियता सनातन धर्म र परम्परासँग जोडिएकोले राष्ट्रियता कमजोर बनाउने विभिन्न उदण्डात्मक गतिविधि बढ्दै गएका छन् ।’

‘नेपालको मौलिकता जोगाउन, राष्ट्र एवं राष्ट्रियतालाई मजबुत बनाउन र देशमा शान्ति तथा स्थिरता कायम गर्न संविधान संसोधन गरी नेपाललाई हिन्दू राष्ट्र बनाउन अब विलम्ब गर्नु हुँदैन । जनताको भावना बमोजिमको संविधान मात्र दीगो हुन सक्छ । तत्काल विशेष परिस्थितिबाट मुलुकलाई बाहिर निकाल्न गरिएको त्यो अल्पकालिन व्यवस्था थियो र, त्यसै बमोजिम म जस्ता बहुसंख्यक नेपाली जनताले उक्त संविधानको व्यवस्था स्वीकार गरेको विषय सबैलाई स्मरण गराउँदै नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने गरी संविधान संसोधन गर्न जोडदार माग गर्दछु । यसले मात्र नेपालको हितलाई चीरकालसम्म सुनिश्चित गर्ने तथ्य पनि म यहाँहरू समक्ष राख्न चाहन्छु । नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने गरी शीघ्र संविधान संसोधन गर्ने कार्यमा जनस्तरबाट दबाब बढाउदै लैजान पनि सम्पूर्ण राष्ट्रप्रेमी दिदिबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु ।’