भूकम्पपछिका पुनर्निर्माण प्रयासहरूबारेको ‘डेडिकेटेड वेबसाइट’ आरम्भ

भूकम्पपछिका पुनर्निर्माण प्रयासहरूबारेको ‘डेडिकेटेड वेबसाइट’ आरम्भ


नेपालको शिक्षा क्षेत्रमा भारत सरकारको सहयोगमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरूबारे तयार पारिएको एक डेडिकेटेड वेबसाइटको शुभारम्भ गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रूपमा भर्चुअल समारोहमार्फत वेबसाइट आरम्भ गरेका हुन् ।

भारत सरकारको सहायतामा भएका ‘भूकम्पपछिको पुनर्निर्माण प्रयासहरू’अन्तर्गत शिक्षा परियोजनाहरूसँग सम्बन्धित सबै जानकारीहरूका लागि उक्त वेबसाइट अंग्रेजी र नेपाली दुवै संस्करणमा उपलब्ध हुनुका साथै सो वेबसाइट प्रयोगकर्तामैत्री पनि रहेको र www.goicbrinepal.com मा गएर परियोजनासम्बन्धी जानकारी लिन सकिने बताइएको छ ।

बताइएअनुसार सो वेबसाइट केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीको अवधारणा र निर्माणमा तयार पारिएको हो । वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गत रहेको केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्की भारतकै एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै परियोजनाका लागि डिजाइन तथा व्यवस्थापन परामर्शदाता पनि हो । आवास योजना, निर्माण सामाग्री, संरचना, निर्माण तथा प्रकोप न्युनीकरण जस्ता क्षेत्रहरूमा अध्ययन अनुसन्धान गर्ने सीबीआरआई भारतकै एक प्रमुख संस्थान हो ।

शिक्षा क्षेत्रका परियोजनाहरूमा यी संस्थानहरूको भूमिकापश्चात केन्द्रिय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीलाई भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण प्रयासअन्तर्गत स्वास्थ्य क्षेत्र परियोजनाहरूका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा पनि नियुक्त गरिएको छ । स्वास्थ्य क्षेत्रमा देखाएको भूमिकाका लागि भारत सरकारको तर्फबाट भारतीय राजदूतावास र सीबीआरआई, रुड्कीको बीच हालै एउटा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

ज्ञातव्य छ, भारत सरकारको एक अर्ब अमेरिकी डलरको प्रतिबद्घताअनुरुप नेपालमा सञ्चालित भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरू निरन्तर अघि बढिरहेका छन् । विशेष गरी आवास क्षेत्रमा, गोरखा र नुवाकोट जिल्लामा पचास हजार घरहरूमध्ये ४६ हजार घर निर्माण भइसकेको छ । ७० वटा विद्यालय, एउटा पुस्तकालय, १४७ वटा स्वास्थ्य संरचनाहरू र २८ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरूसहित शिक्षा, स्वास्थ्य र सांस्कृतिक पुनस्र्थापना परियोजनाहरू पुनर्निर्माण/रेट्रोफिटिङका लागि कार्यान्वयनमा रहेका सम्बद्ध पक्षबाट जानकारी मिलेको छ ।