धादिङमा विद्यालय खुले, एक बेन्चमा दुई विद्यार्थी

धादिङमा विद्यालय खुले, एक बेन्चमा दुई विद्यार्थी


विकास रौनियार, धादिङ

धादिङका दुईवटा स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । धादिङको गजुरी र गल्छी गाउँपालिकाले विद्यार्थीहरूलाई पाठ्यक्रमअनुसारको कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

शिक्षा मन्त्रालयले निर्धारण गरेका मापदण्ड पालना गर्दै पठनपाठन सुरु गरेको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत बताउँछन् ।

‘गजुरी गाउाँपालिकामा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय असोज ५ गतेबाटै खुलेका छन्,’ गाउँपालिका प्रमुख बस्नेतले भने, ‘गाउँपालिका शिक्षा समितिको निर्देशनअनुसार विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिले निर्णय गरेर पठनपाठन सुरु गरिएको हो ।’

गाउँपालिकाले सबै विद्यालयका विद्यार्थी र सबै शिक्षकलाई पुग्‍ने गरी संख्या हेरेर माक्स उपलब्ध गराएको र विद्यालय प्रवेश गर्नुअघि ज्वरो नाप्‍न सबै विद्यालयलाई थर्मल गन पनि उपलब्ध गराएको उनले बताए ।

‘कक्षाकोठामा सकेसम्म एउटा बेन्चमा एकजना र अलि बढी विद्यार्थी भए दुईजनासम्म बस्‍ने गरी कक्षा सञ्चालन हुनेछ,’ उनले भने, ‘यदि कुनै कक्षामा बढी विद्यार्थी भए २/३ वटासम्म कोठामा कक्षा सञ्चालन गर्ने र विद्यार्थी तथा शिक्षकले अनिवार्य रुपमा माक्स लगानुपर्ने व्यवस्था गरिएको छ ।’