आफ्नो शरीरमा ‘नोभिचोक’ प्रयोग भएको नाभाल्नीको दाबी

आफ्नो शरीरमा ‘नोभिचोक’ प्रयोग भएको नाभाल्नीको दाबी


रूसी विपक्षी नेता अलेक्सी नाभाल्नीले आफ्नो शरीरमा सोभियतकालीन समयमा प्रयोग भएको कडा खालको स्नायुविष ‘नोभिचोक’ प्रयोग भएको पश्चिमी प्रयोगशालाहरूले पुष्टि गरेको बताएका छन् ।

उनले शरीरमा ‘नोभिचोक’ स्नायु एजेंटको सङ्केत भेटिएको बताउँदै थप अनुसन्धानका लागि आफ्नो लुगा फिर्ता गर्न रूसी सरकारसँग माग गरेका हुन् ।

बर्लिनको एक अस्पतालमा उपचारपछि स्वास्थ्य लाभ गरिरहेका नाभाल्नी गत अगस्ट २० मा साइबेरियाबाट मस्कोको उडानमा रहेका समय बिरामी परेपछि उनी चढेकोे विमानलाई बीचैमा अवतरण गराई अस्पताल भर्ना गरिएको थियो । उनलाई उपचार गर्न जर्मनी लग्नुपहिले दुई दिन रूसको अस्पतालमा उपचार गरिएको थियो ।

“फ्रान्स र स्विडेनमा दुई स्वतन्त्र प्रयोगशालाहरू र बुन्डेश्वेहर विशेष प्रयोगशालाले मेरो शरीरमा नोभिचोकको उपस्थिति पुष्टि गरेका छन्,” जर्मन सेनाको प्रयोगशालालाई सङ्केत गर्दै कोमाबाट सामान्य अवस्थामा फर्केका रूसी विपक्षी नेता नाभाल्नीले पहिलो पटक सार्वजनिक गरेको सूचनामा बताएका छन् ।

रसियाले अझै अनुसन्धान नखोलेको बताउँदै रुसी सञ्चारमाध्यमहरूले प्रशारण गरेको समाचारहरूमा पश्चिमी खुफिया अधिकारीहरू वा नाभाल्नीको आफ्नै सहयोगीहरूले उक्त आक्रमण गरेको सुझाव दिएको समेत नाभाल्नीका समर्थकहरूले बताएका छन् ।

नाभाल्नी रूसी राष्ट्रपतिका कट्टर आलोचक मानिन्छन् ।

‘मैले अरू केही पनि आशा गरेको छैन,’ उनले लेखेका छन् । लुगामा महत्वपूर्ण प्रमाणहरू हुन सक्छन् भन्दै रूसी अधिकारीहरूले अनुसन्धानका लागि आफ्नो लुगा फिर्ता गर्न नाभाल्नीले माग गरेका छन् ।