विश्व हल्लाइरहेको कोरोना भाइरस चाइनिज ल्याबको उत्पादन होला र ?

विश्व हल्लाइरहेको कोरोना भाइरस चाइनिज ल्याबको उत्पादन होला र ?


Sagar Subedi, Vienna (Austria)

स्वास्थकर्मीको धर्म निर्वाहका बाबजुद पत्रकारितामा पनि रुचि राख्ने जानकारी पाएर पंक्तिकारको कर्मस्थलमा काम गर्ने केही डाक्टर, विशेषज्ञ डाक्टर तथा विश्वविधालयका प्राध्यापकहरुसँग भलाकुसारी भइरहन्छ । यसै वर्षका आरम्भदेखि जति भलाकुसारीहरु भए या भइरहेका छन्, ती सबै वर्तमान कोरोना महामारीकै विषयमा केन्द्रित हुने गर्दछन् । कोरोना भाइरससँग सम्बन्धित कुनै नौलो विषय पत्ता लाग्यो कि ? भन्ने जिज्ञासा सदैव राखिराख्ने भएको कारण त्यहाँ कार्यरत विज्ञ डाक्टरहरुले पनि मसँग ‘मेरो बुझाइ’ के छ भनी जान्ने चाहना राखेको पाउँछु ।

हाम्रा कुराकानीमा प्रायः गरिने गम्भीर विषय भनेका कतै चीनले विश्वलाई झुट बोलिरहेको त छैन भन्नेमा बढी केन्द्रित हुने गर्दछ । कसैका तर्क हुने गर्दछन्- ‘चीन कृतिम सूर्य बनाउने बाटोमा छ भने एक सानो भाइरस उत्पादन गर्न उसलाई के गाह्रो ?’ कथित तवरले विश्व स्वास्थ्य संगठनसँगको मिलेमतोमा ‘विश्व कोरोनासंग आतंकित बनेर कसरी बच्ने भनेर लागेको छ भने विश्वको करिव आधा जनसंख्या भएको चीन महामारीले थिलथिलो परेको बाँकी विश्वलाई सामान बेचेर पैसा आर्जन गरिरहेछ।’ ‘अब बाँकी विश्व क्रेता चीन बिक्रेता बन्ने देखिन्छ’ लगायतका विषयहरु !

के अब यही भाइरसको कारण विश्वका अधिक देश आर्थिक रुपमा टाट पल्टिएलान् त ?

म एक साधारण स्वास्थकर्मीसँग यस्तो गहन प्रश्नको जवाफ कहाँ हुनु ?! तर पनि यसखालका प्रश्नले मलाई सधैं झस्काइरहन्छ कि वर्तमान भाइरसलाई घातक नमानौँ भने प्रस्ट देखिएको छ कि निमोनियाबाट क्षति भएको फोक्सो तथा कोरोना संक्रमणका कारण क्षति भएको फोक्सोको अन्तर ! अर्कोतर्फ अनुत्तरित प्रश्न भनेको कुनै व्यक्तिमा संक्रमणचाहिँ हुने तर कुनै लक्षण नदेखिने र आफसेआफ निको हुने । हुन त कतिपय उल्लिखित जिज्ञासाका विषयमा हर व्यक्ति जानकार नभएका पनि हैनन्, त्यसतर्फ लेखोट लैजान चाहिनँ ।

त्यसमाथि अर्को प्रश्नको उत्तर भेट्न गाह्रो हुन्छ कि विश्वमा निमोनियाबाट मृत्यु हुने व्यक्तिको संख्या भन्दा कोभिड संक्रमणबाट मृत्यु हुने व्यक्ति कम रहेका विभिन्न आँकडाले देखाएका छन् । यस हिसाबले हेर्ने हो भने कोरोनाको सट्टा निमोनियालाई पाण्डामिक घोषणा गरे हुने, अर्को उदाहरण हेर्ने हो भने सरुवा रोग नभए पनि क्यान्सर संक्रमित विश्व जनसंख्या हेर्दा पनि सोही प्रश्न मस्तिस्कमा घुमी नै रहने भयो । यसर्थ, म हरदम दुविधामा रहन्छु।

यस्तै दुविधामा अल्झिँदै गर्दा सामाजिक संजालमा विभिन्न विज्ञ भनिने व्यक्तिहरुबाट आउने आउने अपुष्ट जानाकारी तथा मेरो आफ्नो भोगाई यस्तो रहयो भन्ने प्रस्टोक्तिहरु, ती अपुष्ट जानाकारीहरु यति छिटो भाइरल भैरहेका हुन्छन् कि बिजुलीको गति पनि त्यहाँ फिक्का नै हुने गर्दछ । अर्कोतर्फ बाध्यात्मक लकडाउनका कारण विश्वमा नागरिकहरु बेरोजगार बन्न विवश हुनु, आर्थिक रुपमा सवल राष्ट्रहरुले राज्यको ढुकुटी नागरिकको उपचारका नाममा खर्च गर्ने अवस्था आउनु, उद्योगहरु बन्द हुनु तथा विश्वपर्यटन बजार ठप्प बन्नुबाट अहिलेका आर्थिक रुपले सम्पन्न मुलुकका संरचनाहरु टुट्न सक्ने छन् । त्यस्तो दिनहरु आउनुभन्दा अगाडि नै समस्याबाट उम्कने उपाय खोजी गर्न सकेको खण्डमा समृद्धि हासिल गरिसकेका विश्वका अधिक मुलुकहरु आर्थिक पहिरोबाट बच्न सक्ने अनुमान गर्न सकिन्छ।

कोरोना चीनको ल्याबको उत्पादन कि वुहानको स्थानीय बजारमा जीवबाट मानिसमा सरेको भाइरस ?

मे २० मा अमेरिकी समाचार संस्था सिएनएनले Huwan Lab is the center of US – China Blame Game शीर्षकमा अमेरिकी राष्ट्रपति ट्रम्प र स्टेट सेक्रेटरी Mike Pompeo को हवाला दिँदै एक लेख सार्वजनिक गर्‍यो जसमा राष्ट्रपति ट्रम्प तथा विदेशमन्त्री पोम्पेयोको जिकिर थियो कि कोरोना भाइरस चाइनिज ल्याबको उत्पादन हो ।

राष्ट्रपति ट्रम्प र विदेशमन्त्रीको अभिव्यक्तिमा चिनिया विदेश मन्त्रालयका प्रवक्ता Hua Chunying द्वारा तत्काल जवाफ फर्काइयो कि अमेरिकाले कुनै प्रस्ट प्रमाणबिना चीनबारे विश्वसमुदायलाई गलत सन्देश दिइरहेको छ, भाइरसजन्य विषय राजनीतिज्ञहरुले नभई वैज्ञानिकले प्रष्ट्याउने बिषय हो ।

उक्त विवादपछि विभिन्न देशका विभिन्न भाइरोलोजिस्टहरुका विविध कुरा विश्व मेडियामा आए । जति विषयहरु बाहिर आए र त्यहाँ पनि विवादकै सिलसिला जारी भए, यतिसम्म भनियो कि डब्लुएजओ आफैमा स्वतन्त्र संस्था बन्न सकिरहेको छैन, उसले चीनको निर्देशनअनुरुप काम गरिरहेको छ। पछि अमेरिकी राष्ट्रपतिले डब्लुएचओको सबैभन्दा ठुलो दातासमेत रहेको अमेरिकाबाट उसलाई अब उप्रान्त सहयोग नगर्ने भनेर घोषणा नै गरे।

जे जति बहस तथा अनुसन्धान भए पनि कोरोना भाइरस कहाँबाट मानव शरीरमा सर्‍यो भन्ने प्रश्न अझै अनुत्तरित नै छ।

विवादमा आएको वुहानको चाइनिज ल्याब के हो ?

सन् २००२ मा चीन सरकारले वुहानमा Severe Acute Respiratory Syndrom (SARS) सँग सम्बन्धित एपीडमी तथा पाण्डमिक ‘हुनसक्ने’ रोगहरुको अनुसन्धान गर्नका लागि बनाइएको सरकारी ल्याब हो, जो चीन आफैले स्वीकार गरिसकेको पनि छ।

पछिलो हप्ता Hongkong School of Public Health की अनुसन्धानकर्ता डा. ली मेण्ड यान ले आरोप लगाइन् कि वर्तमान पाण्डमिक बनाइएको कोरोना भाइरस चाइनिज ल्याबको उत्पादन हो । उनको जिकिर छ कि यो विषयलाइ उनले प्रमाणित नै गरिसकेकी छन् । अब उनले प्रमाणित गरेको विषयलाइ बाँकी विश्वले कसरी लिन्छ, साथै उनको अनुसन्धानको निचोडलाई उनले कसरी प्रस्तुत गर्छिन्, हेर्न बाँकी छ । भलै उनले यस विषयमा आवाज उठाउँदा चीनले उनको बोलीलाई दबाउन खोजेको कारण अहिले उनी अमेरिकामाछिन् । उनको अनुसन्धानको जिकिर छ कि ‘भाइरसको जेनेटिक रुप मानवसँग मिल्छ, त्यसैले यसको उत्पादन भएको हो’ ।

अब यहाँ प्रश्न उठ्छ, जब निमोनियाको औषधि विश्वबजारमा छ र पनि निमोनियाको कारण मृत्यु हुनेको संख्या कोरोनाभन्दा बढी छ भने विश्व स्वास्थ्य संगठनले कोरोनालाई पाण्डमिक घोषणा किन गर्‍यो ? कतै डा. लीले भनेजस्तै कोरोना नाम दिइएको भाइरस चीनको सरकारी ल्याबकै उत्त्पादन त होइन ? कि चीनले विश्वलाई आतंकित बनाइ आर्थिक रुपमा टाट पल्टाएर आफू मात्र विश्वशक्ति बन्ने षडयन्त्र गर्‍यो ?

जसले जे भने पनि पछिल्लो समयमा वैज्ञानिकले पुष्टि गरेको विषय भनेको कोरोना भाइरसको असर स्वाशप्रश्वास प्रणालीअन्तर्गतको घाँटी स्वासनली तथा फोक्सो मात्र नभएर यसको संक्रमण मस्तिस्क, मृगौला, मुटु तथा रक्तनलीमा पनि भएको पाइएको छ । तसर्थ कोरोनालाई ख्यालठट्टाका रुपमा नलिई सावधानीका उपायहरु अबलम्बन गरिरहने तथा मानसिक रुपमा दह्रो बनी आत्मविश्वासले भरिपूर्ण बन्ने नै हो ।

आशा गरौँ, कोरोना भाइरसको उत्पत्तिका साथै फैलावटका कारण वैज्ञानिकहरुले छिट्टै पत्ता लगाउने छन् । यसका लागि स्वतन्त्र अनुसन्धानकर्मीको समूह चीनमा गएर अध्ययन गर्न पाउनुपर्छ भने विश्व स्वास्थ संगठन पनि कसैको दबाब तथा लालचबिना काम गर्न सक्ने हुनुपर्छ।

(पेशाले नर्स सुबेदी अष्ट्रियाको जनरल अस्पतालमा कार्यरत छन् ।)