रमेश एम.के.को रेड वाइनमा पल र साम्राज्ञी

रमेश एम.के.को रेड वाइनमा पल र साम्राज्ञी


  • राजन घिमिरे

लामो समयदेखि सञ्चारक्षेत्रमा सक्रिय रमेश एमके पौडेल सञ्चारकर्मसँगै चलचित्र निर्माणमा पनि सक्रिय रहँदै आएका छन् । हाल बोधी एचडीटिभी नेपाल र अमेरिकामार्फत सञ्चारक्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यसअघि रूद्रप्रिया र रज्जा रानी चलचित्र निर्माण गरिसकेका छन् ।

हाल अमेरिकामा रहेका पौडेल अब अर्कों चलचित्रको निर्माणमा जुटेका छन् । अमेरिकामा नै सम्पूर्ण छायाङ्कन गरिने यो चलचित्रको नाम राखिएको छ रेड वाइन ।

विशुद्ध रूपमा प्रेम कथामाथि आधारित यो चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी आरएल शाहको जोडी बाँधिने भएको छ । यो चलचित्रमार्फत निर्माता रमेश एमके पौडेल निर्देशकको रूपमा आउने भएका छन् । चलचित्रमा कथा, गीत लेखन र निर्देशन पौडेलकै रहने छ ।

पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दैछिन् । इमिलीले अमेरिकामा बनिरहेका म्यूजिक भिडियोहरूमा काम गरिरहेकी छिन् । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित ब्यावसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहने छ । चलचित्रको सहनिर्मातामा निरू भण्डारी रहेकी छिन् ।

आर्यन फिल्मस् प्रोडक्शन प्रालि र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा र सम्वाद सबिर श्रेष्ठले तयार पारेका हुन् । यो चलचित्रको सम्पूर्ण छायांकन कोरोना महामारीको अवस्था हेरेर दशैँ र तिहारको बीचमा अमेरिकामा गरिने तयारी भैरहेको छ । चलचिमा ८८४८ मिडियाको पनि आवद्धता रहने छ ।

तस्बिर : विनोद पोखरेल