काभ्रेपलाञ्चोकको ऐतिहासिकताको आलोकमा गोकुलको नीति र नियति !

काभ्रेपलाञ्चोकको ऐतिहासिकताको आलोकमा गोकुलको नीति र नियति !


■ श्रीकृष्ण धिमाल

सनातन धर्म र संस्कृतिमा मानव जीवनको मुख्य उद्देश्य नै इश्वर दर्शन हो, मुक्ति हो, जीव सेवा र मानव सेवाबाट इश्वरको दर्शन प्राप्त हुन्छ भन्ने प्रमाण रामकृष्ण परमहंसले सिद्ध गरे भने उनका चेला स्वामी विवेकान्नदले उनको मार्ग पछ्याउँदै सबैै धर्म सत्य हो, सनातन वैदिक धर्म उत्कृष्ट हो भन्दै संसारभर प्रचार गरे । हिमाली राष्ट्र नेपालमा आज पनि डाँडा–डाँडामा पुर्खाले स्थापना गरेका मन्दिर गुम्बा दर्शन गर्न जाने र ‘हे भगवान् मलाइ मुक्ति दिनुहोस्, ईश्वर सेवा अर्थात् जीव सेवामा मन लागोस्’ भनेर प्रार्थना गर्ने पूर्वीय परम्परा जीवित छ । त्यसको ‘हिमाली राज्यको पहाडी प्रमाण’ पलाञ्चोक भगवतिको मुर्ति र लिच्छवीकालीन शिलापत्र हो !

काभ्रेपलाञ्चोकमा भेटिएका प्राचीन ऐतिहासिक सम्पदाहरू र यसनिम्ति भए–गरिएका प्रयत्नको सन्दर्भमा शिलाक्षरमै अङ्कित हुनुपर्ने नाम बन्न पुगेको छ– गोकुलप्रसाद बास्कोटा । तर, षड्यन्त्रको राजनीतिले यतिबेला उनै बास्कोटालाई पीडित र प्रताडित तुल्याउने असीम प्रयत्न भएको देखिन्छ । त्यसो त राजनीतिका दाउपेच राजा, रैती सत्ययुग र मानव सभ्यता शुरु भएदेखि नै भएको भरत नाट्यशास्त्र, रामायण तथा महाभारतकालमा पनि भएको प्रष्टै छ ।

काभ्रेपलान्चोकको एउटा साधारण ब्राह्मण परिवारमा जन्मिएका र कम्युनिस्ट राजनीतिमा सक्रिय रहँदै आएका गोकुल बास्कोटा काभ्रेपलान्चोकबाट भारी बहुमतसहित चुनाव जिती मन्त्री हुँदै नेपाल सरकारको प्रवक्ता भएर दुई वटा मन्त्रालयसमेत सम्हाल्ने स्थानमा पुगे । उनको बोल्ने शैली यति विवादित बन्यो वा बनाइयो कि उनको विरुद्धमा ठूलै शक्तिकेन्द्र लागेर षड्यन्त्रपूर्वक शासन सत्ताबाट बाहिरिने अवस्थाको सिर्जना गरियो । इतिहास जीवित थियो काभ्रेपलान्चोकको, गोकुलप्रसाद बास्कोटाले रसियन क्रान्ति, फ्रान्स, जर्मन, चिनियाँ क्रान्ति पढे तर आफ्नै गाउँघरको इतिहास पढेनन् वा उनलाई पढाइएन वा उनले पढ्न चाहेनन् । उनको घर भएकै स्थानमा ६ सय ५ वर्षअगाडि नेपाल देशको राजधानी स्थापित थियो । चीनका राजा ताहिमिङ्गले उनका घरछेउ पलाञ्चोक शहरमा दरबार भएका नेपालका राजालाई पत्र लेख्ने गर्थे, त्यसको प्रमाण नेपालको परराष्ट मन्त्रालयमा सुरक्षित छ । उत्तरको चीन र दक्षिणको मगध, बंगालसँगको व्यापार गोकुल बास्कोटाको घरछेउबाटै हुन्थ्यो । बास्कोटा नेपालको शासनक्षेत्रको यति निकट पुगे कि पृथ्वीनारायण शाहले मनपराएका बिराज बस्नेतलाइ काजी सुम्पिने इच्छा शक्तिसमेत दबाएर लोकले मधुर वाणीका चलाख कालु पाण्डेलाई मन पराएकाले जिम्मेवारी दिन बाध्य भएका थिए !

त्यसैगरी हालका प्रधानमन्त्री केपी शर्मा ओलीले गोकुलप्रसाद बास्कोटालाई आफूपछाडिको महत्वपूर्ण जिम्मेवारी दिन खोजे पनि लोकमतकै कारण वा बास्कोटाविरुद्धको षड्यन्त्रकै कारण नसकेको प्रष्ट हुन्छ । केही महिनाअगाडि धुलिखेल नगरको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले ‘सबै मन्त्री एकातिर गोकुल बास्कोटा एकातिर हुँदा पनि तुलो बास्कोटातिरै गह्रौँ हुन्छ’ भनेको तात्पर्य प्रधानमन्त्री र बास्कोटाको सम्बन्ध पृथ्वीनारायण शाह र बिराज बस्नेत जति नै प्रगाढ छ र थियो भन्ने हो । सञ्चारमन्त्रालय सम्हल्नेवित्तिकै क्लिन फिड नीति, विज्ञापन बोर्ड गठन, फोर–जी सेवा विस्तार, अश्लील साइड बन्द, सबै विद्यालयमा आधुनिक कम्प्युटर ल्याब, विद्यालयमा इन्टरनेट, काम नगर्ने कम्पनीका लाइसेन्स खारेजी, सिजी र हेलो नेपालविरुद्धको ‘बास्कोटा एक्सन’ले राज्यसत्ता कब्जा गरेर बसेका माफिया तिल्मिलाउनु अस्वाभाविक कुरा थिएन ।

वर्षेनी अर्बौं रुपैयाँ लाइसेन्स, पासपोर्ट छाप्न विदेश पठाउने हामी नेपाली, नेपाल देशमै करिब १९ अर्बमा भित्रिन लागेको त्यसमा पनि अझ काभ्रेपलान्चोक जिल्लामा प्रेस सेक्युरेटी निर्माण गर्न लागेका गोकुलप्रसाद बास्कोटाविरुद्ध एक्कासी खनिनुको कारण थियो– उनी मन्त्री हुने बित्तिकै उनले नेपाल टेलिभिजनमा दिएको पहिलो अन्तर्वार्ताको तोडमरोड, दोस्रो– मिडियामा आएको उनको प्रस्तुति, तेस्रो– पत्रकारलाई न्युनतम तलब–भत्ताको व्यवस्था गरेबापतको मिडिया हाउसको उपहार भनौँ वा सजाय, चौथो– प्रेस सेक्युरिटी खरिदमा कमिसन खोज्दै हिँडेका कमिसनखोरहरू र सिजी–बास्कोटा मिडिया वार नै बास्कोटा प्रकरणका मुख्य आधार थिए । बास्कोटाले आफूमाथि लागेको आरोप पुष्टि गर्न सञ्चारमाध्यममार्फत चुनौती दिएका छन्, आरोप पुष्टि भए जेल जाने छु भनेका छन्, न्याय माग्दै अदालत पनि गएका छन्, अख्तियारले छानविन गरिरहेको प्रसङ्ग केही हप्ताअगाडि प्रकरणका मूख्य योजनाकार विजय मिश्रलाई अख्तियारले ७ दिन भित्र हाजिर हुन आदेश जारी पनि गरिसकेको छ ।

यी सबै यथार्थको जगमा उभिएर भन्नुपर्दा निर्दोष भएर पनि दोषी तुल्याइएका गोकुल बास्कोटाले अदालत र अख्तियारबाट न्याय पाउनेमा विश्वस्त हुन सकिन्छ । र, निर्दोष भएपछि बास्कोटाले तत्काल गर्नुपर्ने मूल कार्यहरू के हुन् भनी यहाँ सुझाउनु सान्दर्भिक देखिन्छ ।

जन्मथलो हुनाले काभ्रेपलान्चोकका सम्पदा र संस्कृतिको रक्षाको जिम्मा गोकुलप्रसाद बास्कोटाको काँधमा छ । काभ्रेपलान्चोकमा केही हप्ताअगाडि भेटिएको नेपालकै सबैभन्दा प्राचीन किराँतकालीन मुर्ति, लिच्छविकालको शाक्त धर्मको महत्वपूर्ण पलाञ्चोक भगवतिको शिलालेख र भगवतिको मन्दिर अनि गुठी, पलाञ्चोक नारायण स्थान, श्रीरामपाटीको दरबार, रानिपोखरी, अनैकोटमा भेटिएको देवीको मुर्ति, अनैकोट ग्याङगढी संरक्षण, सुलिकोट, भमरकोट, पलाञ्चोककोट थप उत्खनन्, भमरकोटमा जन्मिएका भनिएका राष्ट्रिय विभूति बलभद्र कुँवरबारे थप अध्ययन, नेपालका प्रथम कवि, जो धैउपुर हालको मण्डन नयाँगाउँमा जन्मिएका वसन्त शर्मा उपाध्याय पौड्यालबारे थप अध्ययन, पूर्व–मध्यकालमा नेपालको राजधानी पलाञ्चोक शहर हालको पाँचखाल नगरपालिका बनाउने शक्तिसिहं राम, मदनसिंह राम, जयसिंह राम वर्दन जसले काभ्रेपलान्चोकको बनेपा, पनौती, धुलिखेल नाला निर्माण गरे, वि.सं. १४०६ मा रोहिंग्या मुसलमानको आक्रमणमा ध्वस्त पारिएका लुटिएका मठमन्दिर मुख्यतः पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, काठमण्डप, चाँगुनारायण पुनःनिर्माण गरेका पलाञ्चोकका राजा वर्दनहरूले हो त्यसको प्रमाण काठमाडौं इटुङ्गबाहालको शिलालेख हो, जसलाई चीनका राजा ताहिमिङले पत्रसमेत लेखेर काभ्रेपलान्चोक जिल्लाको गरिमा उँचो बनाए, नेपाल–चीन सम्बन्धको पहिलो लिखित दस्तावेज बनेको चीनका राजाको पत्रमा समेत पलाञ्चोक शहरको वर्णन गरिएको छ ।

भारतको बैशालीमा, मगधका अजात शत्रुले आक्रमण गरेपछि, बैशालीको राजसिंहासनमा बसेका लिच्छवीहरू भागेर कोशीनदीको तिरैतिर, बागमती नदीको तिरैतिर, हात्ती–घोडासहित बच्चा–केटाकेटी स्त्री, सम्पत्ति लिएर पहाड काभ्रेपलान्चोक चढेको र पलाञ्चोक शहर, खोपासी, काशीखण्ड, भक्तपुरमा बसोबास गरेको यथार्थ हामीसँग जीवित छ । भारतको लिच्छवीकालको प्रमाणसमेत चाँगुनारायण शिलालेख हो भने लिच्छवीकालीन अर्को शिलालेख जो शाक्तधर्मको सबैभन्दा प्राचीन शिलालेख पलाञ्चोक भगवतिको विजय स्वामिनीको मानदेवकालीन शिलापत्र हो । भारतको लिच्छविकालीन इतिहासको आरम्भको वाक्य नै चाँगुनारायणपछि पलाञ्चोक शहरबाट हुन्छ, कारण हो– मुसलमान आक्रमणबाट लिच्छविकालीन सम्पदा मासिनु, नष्ट हुनु र शाक्त धर्म जहाँ देवी पुज्ने नेपाली मूलका बंगाली, गढवाली, आसामीहरूको सम्पति मानिएको संसारकै सबैभन्दा प्राचीन शिलापत्र र प्रमाण हो । त्यो पनि गोकुल बास्कोटाकै क्षेत्रमा छ ।

नेपाल एकीकरणको समयमा पलाञ्चोक र भमरकोटले वीर–वीराङ्गनाहरूको प्रमाण दिएको यथार्थ र नेपाल–चीन र भारतको सम्बन्धमा पलाञ्चोकका तत्कालीन राजाहरूले खेलेको भूमिका तथा विदेशी राजाहरूले पलाञ्चोक शहरमा राजधानी बनाएका नेपालका राजालाई लेखेको पत्र तीन देशको इतिहासमा समेत स्वर्ण अक्षरले लेखिएको छ । काभ्रेपलान्चोकको नमोबुद्व, महाभारत क्षेत्र, रोशी, तीनधारे त्रिशक्ति झर्ना, बनेपा, पनौती, नाला, दोलालघाट, तिमालबेसी अनि देउपुर ब्रमायणी क्षेत्रका पाटी, मन्दिर, ढुङ्गेधारा, गुम्बा पुनःनिर्माण र सरक्षण गोकुलप्रसाद बास्कोटाका पहिलो प्राथमिकता भएको बुझिएको छ । उनले सांसद हुनुअगाडि नै काभ्रेपलान्चोक भगवति, ब्रमायणी, पनौती, बनेपा नालामा भएका सम्पदा पुनःनिर्माणमा गरेको दौडधुपले प्रष्ट हुन्छ कि उनी काभ्रे जिल्लावासीका लागि चीर कालसम्म सम्झनामा रहने पात्र भएर छोड्ने छन् ।

काभ्रेपलान्चोकको धुलिखेलमा पछिल्लोपटक भेटिएको मुर्तिले त के सिद्ध गरि सक्यो भने नेपालको सबैभन्दा प्रामाणिक इतिहास नै काभ्रेपलान्चोक हो त्यसको प्रमाण किराँत देवीको मुर्ति हो जो नेपालको मात्र नभएर दक्षिण एशियाकै पुरानो मुर्तिमा सुचीकृत भएको छ ।

शक्ति र सत्ता पटक–पटक आउँदैन, कृति पनि व्यक्तिले पटक–पटक स्थापित गर्ने सक्दैनन् र मूल अवसर त एकपटक मात्र आउँछ भन्ने कुरा गोकुलप्रसाद बास्कोटाले बुझेका छन् । पछिल्लोपटक काभ्रेपलान्चोकको सम्पदामा हजारौँ कार्य गर्ने र तिनको पुनःनिर्माणको जिम्मेवारी उनकै काँधमा आएको छ । सम्पदा संस्कृतिको संरक्षणमा एउटा उच्च तहको नेताले पाइला अगाडि बढाउनु भनेको खुकुरीको धारमा पाइला चाल्नु हो । गोकुलप्रसाद बास्कोटा सम्पदा संरक्षणमा निकै अघि पुगिसकेको बुझ्न सकिन्छ ।

नेपालमा विधर्मीहरूसँग डटेर लड्दै सम्पदा र संस्कृतिको रक्षा गर्छु भन्दै गरेको देख्दा बास्कोटाको मुटु र छाती हेर्दा इतिहासतिरै फर्किन मन लाग्नु स्वभाविक हुन आउँछ । काभ्रेपलान्चोकमा भविष्यमा निर्माण हुन लागेको मदन भण्डारी विश्वविद्यालय, साँगामा निर्माण हुन लागेको विश्वविद्यालय र पनौतीमा निर्माण हुन लागेको प्राविधिक विश्वविद्यालयहरू नेपाली नमूनामा जस्तै कि तक्षशिला विश्वविद्यालय मोडलमा विकास गर्ने नेपाली साधन र श्रोतमा हो भने हजारौँ सालसम्म नबिग्रिई अस्तित्वमा रहने छन् । हुन त हामी सिमेन्टलाई विकासको पर्याय ठान्ने र देख्ने गर्छौं, तर यी ऐतिहासिक कृतिहरू जीवित रहनका लागि पारम्परिक विधि नै अपरिहार्य छ ।

हाम्रो अस्तित्वभन्दा अगाडि पनि मानव सभ्यता र विकास थियो । आज हजारौँ साल पछाडि पनि हामीले उत्खनन् गर्दा भेट्टाएका यी पछाडि पनि रहिरहने छन्, तर त्यसका लागि पञ्चतत्वअनुकुल कार्य गर्नु आवश्यक छ । नेपाली प्रविधिमा सिमेन्टभन्दा पनि बलिया र हजारौँ साल टिक्ने बज्र बनाउने विद्या जीवित हुँदाहुँदै हामी कङ्क्रिटे विकासको दास बन्नु विडम्बना मात्र हो । तसर्थ, बास्कोटाले अल्प अवधिमै गरेका र अब गर्न सक्ने प्रचुर सम्भावनाका आधारमा यहाँनेर यसो भन्दै बिट मारौँ– अघि बढ बास्कोटा युग तिम्रै हो !

(प्रस्तुत लेखोटमा अभिव्यक्त धारणा पङ्क्तिकारका निजी हुन् । –सं.)