महामारीको मारबाट जोगाउन भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने

महामारीको मारबाट जोगाउन भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने


कोरोना भाइरसबाट प्रभावित माल्दिभ्सको अर्थतन्त्रलाई प्रोत्साहन गर्न भारतले २५ करोड अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ ।

हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात माल्दिभ्समा कोरोना महामारीका कारण विदेशी पर्यटकहरूको आवागमन पूर्णतया बन्द भएपछि त्यहाँको अर्थतन्त्रमा आएको सङ्कटबाट छिमेकी मुलुकलाई उकास्न भारत सरकारले उक्त सहयोगको घोषणा गरेको बताइएको छ ।

माल्दिभ्समा जुलाईको मध्यदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गरिए पनि विदेशी पर्यटकहरूको ठूलो सङ्ख्या त्यहाँ फर्कन सकेका छैनन् ।

माल्दिभ्सस्थित भारतीय उच्च आयोगले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ‘कठिन आर्थिक अवस्थालाई पार गर्न आर्थिक सहयोग’ को अनुरोध गरेपछि यो ऋण सहयोग उपलब्ध गराइएको बताइएको छ ।

“माल्दिभ्स आफ्नै प्राथमिकता अनुरूप घरेलु आर्थिक स्थिति सुधार गर्न यो रकम प्रयोग गर्न स्वतन्त्र रहनेछ,” भारतीय उच्च आयोगले आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

स्टेट बैंक अफ इण्डिया (एसबीआई)मा माल्दिभ्स सरकारले जारी गरेको ट्रेजरी बन्डको बिक्रीले उक्त रकम जम्मा गरिनेछ जसको चुक्ता गर्न १० वर्षको अवधि दिइने छ ।

एक हजार १९२ टापुहरूकोे मुलुकमा पूर्व–पश्चिममार्गमा पुल तथा कजवे (पानीमाथि निर्माण गरिने सडक) निर्माण गर्न अगस्टमा नयाँ दिल्लीले ४० करोड डलरको सहयोग गरेको थियो ।

पूर्वराष्ट्रपति अब्दुल्ला यामीनको शासनकालमा मालदिभ्सले बेइजिङबाट महत्वपूर्ण पूर्वाधार निर्माणका लागि सन् २०१८ मा एक अर्ब ४० करोड ऋण लिएको सोलीह नेतृत्वकोे सरकारले बताएको छ ।

भारतको परराष्ट्र मन्त्रालयका अनुसार सोलीह सत्तामा आएपछि भएको सम्झौताअनुसार मालदिभ्सलाई दुई अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग दिल्लीले दिनेछ ।

कोरोना भाइरस सङ्क्रमणको महामारीसँग जुझ्नका लागि माल्दिभ्समा अहिले पनि रातको समयमा कर्फ्यू रहेको छ । मालदिभ्समा अहिलेसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नौ हजार ६०० रहेको छ भने ३३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

एसियाली विकास बैंकले गत वर्ष ५.९ प्रतिशतको आर्थिक वृद्धि रहेको माल्दिभ्सको अर्थतन्त्र यो वर्ष २०.५ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको एएफपील जनाएको छ ।