कोभिड-१९ बाट नेपालमा हालसम्म ४ सय ११ जनाको मृत्यु

कोभिड-१९ बाट नेपालमा हालसम्म ४ सय ११ जनाको मृत्यु


नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा (४ असोज आइतबार) थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष तथा ६ महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौंका ८२ वर्षीय पुरुष तथा ४० वर्षीया, ६० वर्षीया र ६३ वर्षीया तीन महिला, ललितपुरकी ७५ वर्षीया महिला, भक्तपुरकी ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रुपन्देहीका ६७ वर्षीय पुरुष र पाल्पाकी ४० वर्षीया महिला रहेका छन् ।

मनलयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ ।

तेह्र दिनअघि कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । आइतबार थपिएका सङ्क्रमितमा पुरुष ८५६ तथा महिला ४६९ रहेका छन् ।

हालसम्म ४६ हजार २३३ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा ९६६ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ९ लाख १४ हजार २९० जनाको पीसीआर गरिएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, चितवन र रुपन्देही रहेका छन् । यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, म्याग्दी, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् ।

हाल देशभर १७ हजार ४७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा तथा ८ हजार ४०७ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । संस्थागत आइसोलेसनमा प्रदेश नं १ मा ३०३, प्रदेश नं २ मा ८७३, बाग्मती प्रदेशमा ५ हजार ३३९, गण्डकी प्रदेशमा ६८९, प्रदेश नं ५ मा एक हजार २७७, कर्णाली प्रदेशमा २५५ तथा सुदूरपश्चिम प्रदेशमा ३३५ सङ्क्रमित रहेका छन् ।

यसैगरी होम आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा एक हजार २८९, प्रदेश नं २ मा ९९८, बाग्मती प्रदेशमा ४ हजार ६०१, गण्डकी प्रदेशमा ३१६, प्रदेश नं ५ मा ७५६, कर्णाली प्रदेशमा २०४ तथा सुदूरपश्चिम प्रदेशमा २४३ रहेको छ । हाल ७ हजार ४५१ जना सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।

हालसम्म प्रदेश नं १ मा ४ हजार १०९, प्रदेश नं २ मा १२ हजार २३३, बाग्मती प्रदेशमा १० हजार ९४१, गण्डकी प्रदेशमा २ हजार ७०९, प्रदेश नं ५ मा ७ हजार २९५, कर्णाली प्रदेशमा २ हजार ७०४ तथा सुदूरपश्चिम प्रदेशमा ६ हजार २४२ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

कहाँ कति भेटिए सङ्क्रमित ?

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७८, प्रदेश नं २ मा ७६, बाग्मती प्रदेशमा ८३८, गण्डकी प्रदेशमा ५३, प्रदेश नं ५ मा २०९, कर्णाली प्रदेशमा ३० तथा सुदूरपश्चिम प्रदेशमा ४१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नं १ को उदयपुरमा १, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, झापामा ३, मोरङमा ६३ तथा सुनसरीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० तथा सिरहामा १८ जनामा कोरोना देखिएको छ ।

यसैगरी बाग्मती प्रदेशको काठमाडौंमा ६०२, काभ्रेपलाञ्चोकमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १०१, मकवानपुरमा २४, सुन्धुलीमा १, ललितपुरमा ६४ तथा सिन्धुपाल्चोकमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा २, तनहुँमा १, बागलुङ १, स्याङ्जामा १ तथा लमजुङमा १८ जना कोरोना सङ्क्रमितको भेटिएका छन् ।

यसैगरी प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, दाङमा ३, नवलपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा ११३ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । कर्णाली प्रदेशको सुर्खेतमा २९ तथा कालिकोटमा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा १२, अछाममा १० तथा बझाङमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा ७६७ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा ७६७ कोरोना सङ्क्रमितको थपिएको प्रवक्ता गौतमले जानकारी दिए । थपिएका सङ्क्रमितमध्ये काठमाडौंका २३० महिला र ३७२ पुरुषसहित ६०२, ललितपुरका ३४ महिला र ३० पुरुषसहित ६४ तथा भक्तपुरका ४१ महिला र ६० पुरुषसहित १०१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ पुगेको छ । काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा एक हजार ५४८ तथा भक्तपुरमा एक हजार ४५२ जना कोरोना भइरसबाट सङ्क्रमितको भएका छन् ।