चितवनमा कोभिड-१९ सङ्क्रमित दुईको मृत्यु

चितवनमा कोभिड-१९ सङ्क्रमित दुईको मृत्यु


चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कलेजले बताएअनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् ।

कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए । बताइएअनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज (४ असोज) मृत्यु भएको हो ।

यस्तै, सोही कलेजमा उपचारका क्रममा चितवनका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष रहेका छन् । निर्देशक लम्सालका अनुसार गत भदौ २६ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको असोज ३ गते कोरोना पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आजै मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा हालसम्म १४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ, जसमध्ये १८ जना चितवनका हुन् ।