असारमा चाहिने रासायनिक मल मंसिरमा !

असारमा चाहिने रासायनिक मल मंसिरमा !


■ केशवप्रसाद भट्टराई

धेरै अगाडिको कुरा नगरौँ, अहिलेका युवा पुस्ताका गगन, विश्व प्रकाश, योगेश, घनश्यामहरू जान्ने–बुझ्ने भइसकेपछिकै कुरा गरौँ ।

१. मरिचमान सिंहलाई कसैले भ्रष्टाचारमा मुछिएको आरोप लगाउन सकेन न उनको शासन–क्षमतामै प्रश्न गऱ्यो !

२. २०६२–६३ पछिको सङ्क्रमणभन्दा धेरै जटिल र कठिन थियो ०४६ सालपछिको सङ्क्रमण तर कृष्णप्रसाद भट्टराईले त्यो सङ्क्र्रमणलाई बुद्धिमतापूर्वक व्यवस्थापन गर्दै ६ महिनामै सबैलाई समेट्ने, सबैले जितेको अनुभव गराउने संविधान पनि दिलाए र अर्को ६ महिनामा चुनाव गराए निर्वाचित सरकार मुलुकलाई दिए ।

३. मनमोहन अधिकारीले नौ महिना मात्रै सरकारको नेतृत्व गरेका हुन् तर त्यै नौ महिनामा साङ्केतिक रूपमा मात्रै किन नहोस् उनका अर्थमन्त्री भारत मोहन अधिकारीले वृद्ध भत्ताको व्यवस्था गरेर मुलुकमा यौटा नयाँ चेतनाको दियो बालेर गए ।

४. युवा पुस्ताका चर्चित रहरलाग्दा व्यक्ति गगन थापा स्वास्थ्यमन्त्री भए !

स्वास्थ्यमन्त्रीको रूपमा उनले मुलुकलाई सम्झनायोग्य के दिए ? मेरो अज्ञानता हो भने क्षमा दिनुहोला तर इमान्दारीपूर्वक भन्दा मलाई थाहा छैन ।

५. योगेश भट्टराई मन्त्री भएको पनि नेपालको परिवेशमा छोटो समय हैन र हामीले सरसर्ती हेर्दा उनको कार्यक्षेत्रमा पर्ने मूल दायित्व भनेको एउटा नेपाल वायु सेवा निगम र विमानस्थलहरूको व्यवस्थापन अर्को पर्यटनसम्बन्धी केही कार्य, तर योगेशजीले यो त गरेँ है भनेर भन्ने केही छ भने लौ न पढौँ !

६. घनश्याम भुसाल ? बाफ रे बाफ ! के कुरा गर्नु ?!
कुराले त आगो बाल्थे !
लेखाइको कुरै नगरौँ !
तर, अस्ती कतै सुन्दै थिएँ उनलाई ‘मङ्सिरमा त रासायनिक मल आउँछ’ भनेर धानमा मल हाल्न नपाएका किसानहरूलाई आश्वासन दिँदै थिए !

कोरोना, लकडाउन, निषेधाज्ञा आदिको कारण बजारमा अन्य कुनै कुराको अभाव रहेन, तर असारमा चाहिने रासायनिक मल मंसिरमा आउँछ रे !

७. मन्त्री भएर काम गर्न नसकिने रहेछ, प्रधानमन्त्री नै हुनपर्ने रहेछ भनेर भन्ने भए अर्कै कुरा !
अब प्रधानमन्त्री वा पार्टी सभापति नभई युवा पुस्ताका कसैले यो मुलुकमा काम गर्नै नसक्ने भए त यो अज्ञानीले के भन्न सक्दछ र ?