जासुसीको आरोपमा चिनियाँ महिलाका साथ नेपाली युवा र भारतका एक पत्रकार पक्राउ

जासुसीको आरोपमा चिनियाँ महिलाका साथ नेपाली युवा र भारतका एक पत्रकार पक्राउ


‘भारतको जासुसी गरेको’ र संवेदनशील सूचना ‘चिनियाँ गुप्तचर’लाई उपलब्ध गराएको आशङ्कामा एक चिनिया महिलाका साथ एक जना नेपाली नागरिक भारतको नयाँदिल्लीमा पक्राउ परेका छन् ।

चिनियाँ महिला र उनका सहयोगी भनिएका नेपाली युवकका साथ भारतका एकजना स्वतन्त्र पत्रकार राजीव शर्मा पनि पक्राउ परेका छन् ।

शनिबार दुईजना पक्राउ परेको जानकारी दिँदै इन्डियन एक्सप्रेसले चिनियाँ र नेपाली नागरिकले स्वतन्त्र पत्रकार राजीव शर्मालाई संवेदनशील सूचना दिएवापत् ठूलो रकम तिरेको खबर आफ्नो अनलाइन संस्करणमा प्रकाशित गरेको छ । राजीवलाई एक साताअघि (१४ सेप्टेम्बर) नै पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

भारतीय सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएअनुसार पत्रकार शर्माले एउटा सूचना उपलब्ध गराएवापत हजार अमेरिकी डलर प्राप्त गर्ने गरेका र विगत डेड वर्ष अविधिमा उनले चिनियाँ पक्षबाट करिव चालिस लाख भारु हासिल गरेका छन् ।

भारतीय पत्रकार शर्मालाई चिनियाँ गुप्तचरका लागि सूचना संकलन गर्न प्रयोग गरिएको आरोप लगाइएको छ । इन्डियन एक्सप्रेसले दिल्ली प्रहरीको भनाई उद्धृत गर्दै ठूलो परिमाणमा मोबाइल फोन, ल्यापटप र अन्य संवेदनशील सामाग्री बरामद भएको जनाएको छ ।