भारतसँगको सीमा नाका खोल्न जसपाको माग

भारतसँगको सीमा नाका खोल्न जसपाको माग


जनता समाजवादी पार्टी (जसपा) बाँकेले लगभग ६ महिनादेखि बन्द रहेको नेपाल–भारत सीमानाका खोल्न सरकारसँग माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै जसपा, बाँकेले लकडाउन र सीमानाका बन्द गर्दासमेत कोरोनाको संक्रमण रोक्न नसकिएको भन्दै तत्काल नेपाल–भारत सीमा नाका खोल्न माग गरेको हो ।

नेपाली नागरिकलाई सुरक्षित राख्ने उद्देश्यले गत ०७६ चैत ११ देखि लकडाउनका साथै नेपाल भारत अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि कोरोनाको संक्रमण समुदाय स्तरसम्म पुगिसकेकोले सीमानाका बन्द गर्नुको औचित्य सकिएको जिकिर जसपाले गरेको छ ।

कोरोना हाम्रो जीवनको अभिन्न अंग बनिसकेको तर्क गर्दै जसपाले कोरोना भाइरसबाट सुरक्षा सतर्कताबाहेक बच्ने अर्को विकल्प नभएको सो पार्टीका बाँके अध्यक्ष गिरिजाप्रसाद पाठकले हस्ताक्षर गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उक्त ज्ञापनपत्रमा भनिएको छ– ‘लकडाउन अन्त्य भई बजार, होटल, सार्वजनिक यातायातसमेत सुरक्षा सतर्कता अपनाएर सञ्चालनमा आइसकेको अवस्थामा नेपाल–भारत सीमानाका खुला नहुनु दुर्भाग्य मान्नुपर्दछ ।’

सीमा नाका बन्द भएपछि नेपाल–भारतबीच रहेको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध धरापमा परेको जिकिर जसपाले गरेको छ । नेपाली जनताको जीवन रक्षाका लागि समेत नेपाल–भारत सीमानाका सुचारु गर्न आवश्यक भएको धारणा जसपाले अघि सारेको छ ।