ज्वलनशील पदार्थ बोकेको ट्यांकर त्रिशूलीमा खसेर आगलागी

ज्वलनशील पदार्थ बोकेको ट्यांकर त्रिशूलीमा खसेर आगलागी


विकास रौनियार, धादिङ

पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योगनजिकको मोडबाट ज्वलनशील पदार्थ बोक्ने ट्यांकर त्रिशूलीमा खसेको छ ।

पेट्रोल बोकेर अमलेखगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्यांकर खसेपछि तेल भर्ने भागमा आगलागीसमेत भएको छ ।

आज (४ असोज) बिहान ३ बजेतिर ट्यांकर नदीमा खसेको अनुमान गरिएको छ ।

पानीमा माथिल्लो भाग मात्रै देखिएको उक्त ट्यांकरमा आगलागी भएकोले उद्धारमा समेत कठिनाइ भएको गजुरीस्थित जिल्ला ट्राफ़िक प्रहरी कार्यालयका गजुरीका प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले बताए ।

उक्त ट्यांकरमा चालकसहित कति जना व्यक्ति सवार थिए भन्ने शुरुमा नखुले पनि ट्याङ्कर चालक सुदीप बोहोरा र सहचालक सुरक्षित रहेका जानकारी मिलेको छ ।

उनीहरु आजै बिहान प्रहरीको सम्पर्कमा आएका छन् । ट्याङ्करको स्टेयरिङ भाँचिएर नियन्त्रण गर्न नसक्दा पल्टिएको चालक बोहोराले प्रहरीसमक्ष बताएका छन् ।