नियुक्ति !

नियुक्ति !


■ सुन्दर शर्मा

म र उ सानैदेखि निकै मिल्ने साथी । बाल्यकालमा पनि उसको र मेरो मन व्यबहार र कर्म एकसमान हुन्थ्यो । उसलाई मनपर्ने कपडा मलाई पनि मनपर्ने । उसलाई मनपर्ने कलर मलाई पनि मनपर्ने । उसलाई मनपर्ने खानेकुरा, मनपर्ने खेल, ठाउँ, मनपर्ने मानिस छिमेकी आदि जम्मै मलाई पनि मनपर्ने । उ र म जुरेली चरीझैँ रुखका हाँगा समाउँदै, लुकुच्याइ खेल्दै हुर्कियौँ । वन पाखा सुसेल्दै, गाउँघर चहार्दै हुर्केका । उसलाई ज्वरो आउँदा म रुन्थे भने मलाई पेट दुख्दा उ रुन्थी । म र उसले लाउने जामाको फुलबुट्टा पनि उस्तै हुन्थ्यो भने कपाल बाट्ने रिबनको कलर पनि उस्तै ! आमाहरू भन्नुहुन्थ्यो– यी दुई जनाको जन्मदा सालनाल पनि एउटै थियो क्या हो ! बचपनमा हाम्रा दिनहरू यसरी बितेका थिए ।

दिनहरू बित्दै गए । समयको चक्रसँगै हामीहरू पनि हुर्कंदै÷बढ्दै गयौँ । स्कुल शिक्षा एकसाथ उत्तीर्ण गऱ्यौँ । कलेज भर्ना भएपछि चाहिँ उ अर्थात मेरी साथी र मेरो विचार अलिक भिन्न हुन थाल्यो । विचार भिन्न भएपछि व्यबहार पनि भिन्न हुनु स्वाभाविकै हो । हामी दुईका दृष्टिकोण फरक, अनुभूति फरक र चाहानाहरू पनि फरक हुँदै गए । उसको र मेरो उद्देश्य बदलियो, सोचाइ बदलियो । साथै हाम्रा आवश्यकता पनि बदलिए ।

मेरी साथीले विद्यार्थी राजनीतिमा आफूलाई अग्रसर बनाउन थाली । तर उ जुन पार्टीको बाहुल्यता बढि देख्यो उतै ढल्किन्थी । उ कहिले राप्रपाको विद्यार्थी नेता बन्थी त कहिले काङ्ग्रेस र कम्युनिस्टको । उसको कन्भिन्स गर्ने क्षमता पनि बडो गजबको थियो । उ जहिले पनि केटाको ग्रुपमा भेटिन्थी । उ आफूलाई विद्यार्थी भन्दा पनि नेताको रूपमा चिनाउन खोज्थी ।

म बिचरी खुरुखुरु पढ्नमै ब्यस्त भएँ । युनियनको चुनावको समयमा सबैले आ–आफ्नो प्यानललाई भोट माग्थे । म सबैलाई ‘हुन्छ’ भनिदिन्थेँ ।

उच्च तहको अध्ययनपश्चात् हामी दुईको सम्पर्क पनि टुट्यो । किनकि हाम्रो कर्मथलो भिन्न भयो । विवाहपश्चात् म एउटा विदेशी कम्पनीको ब्यवस्थापकको रूपमा प्राइभेट नोकरी गर्न थालेँ । दिन, महिना र वर्षहरू त्यहि नोकरीमा नै ब्यस्त भएर बित्न थाले । तलब सुविधा आकर्षक भएर के गर्नु, साथीभाइ इष्टमित्र कसैसँग पनि भेटघाटको समय मिलाउन नसकिने !

एक दिन थापाथलीको ट्राफिक जाममा हामी दुईको अनायास भेट भयो । त्यहाँबाट हामी नजिकै पर्ने आँगन स्विटतिर लाग्यौँ । खाजा खाँदै हामी गफिन थाल्यौँ । मैले आफ्नो बारेमा जानकारी गराएँ भने उसले पनि आफू राजनीतिक करियरको स्वाद लिन सफल भएको बताइ । मेरी साथी त उपल्लो तप्काको राजनीतिक खेलाडी भइसकेकी रहिछ । उ त विभिन्न आकर्षक नियुक्ति दिलाउने, ठेक्कापट्टा मिलाउने, मालवाला अड्डामा सरुवा–बढुवा गराउने जस्ता ठुल्ठुला काम गर्न खप्पिस भइसकिछ । विद्यार्थी राजनीतिको राम्रै ‘बोनस’ हात पारेको देखियो ।

गफैगफमा उसले ‘केही गर्नु पऱ्यो भने भन है म छु, तेरो लागि जस्तोसुकै काम पनि गर्न र गराउन सक्छु’ भन्दै मलाई उक्साइ । करिव तीन घन्टा साथ गफिएर हामी छुट्टियौँ ।

त्यो दिनदेखि मलाई एउटा अनौठो आशक्तिले पछ्याउँदै गयो । साथीले तेरा लागि जे पनि गर्न सक्छु भनेकी छ । यही मौकामा कुनै स्थानमा राजनीतिक नियुक्ति नै खानुपऱ्यो भन्ने मनमनै अठोट गरेँ मैले । यो नियुक्ति भन्ने पद र नियुक्ति खाने मानिस कस्ता हुँदारहेछन् भन्ने खुल्दुली मलाई पहिलेदेखि नै थियो । यो नियुक्तिले सामाजिक, आर्थिक, न्यायिक तथा पारिवारिक धरातललाई नै क्षणभरमै परिवर्तन गरिदिने । आफ्नो या बिरानो केही नभन्ने । आखिर यो नियुक्तिवाला पदमा केचाहिँ त्यस्तो अजीवको शक्ति हँुदोरहेछ भन्ने कुराहरू पहिलेदेखि नै मनमा उब्जिरहन्थ्यो । साथिको हात माथि परेको बेला एकपटक त जसरी पनि नियुक्ति खाइहेर्नु पऱ्यो भन्ने निचोडमा पुगेँ म ।

हुन त मलाई कुनै नियुक्ति खान आवश्यकता त थिएन, किनकि श्रीमान् कुनै अमुक संस्थाको हाकिम । रुपियाँ पैसा, मान सम्मान, गाडी घोडा, रवाफ आदिको कुनै कमी थिएन । समाजमा राम्रै मान प्रतिष्ठा थियो । उहाँ सरकारी ब्यवस्थापकीय काममा निकै दक्ष र योग्य सावित हुनुभा’को छ । उहाँलाई सरकारले प्रतिभाशाली र क्षमतावान ब्यक्तिको रुपमा लोकप्रिय बनाएको छ । पार्टीका उच्च नेतृत्वसँग पनि उहाँको राम्रै पहुँच छ । घरको बैठकभरी विभिन्न अनुकरणीय कार्य गरेवापत कलात्मक फ्रेममा सजिएका प्रशंसापत्रहरू । त्यस्तै कोठाभरी अनगिन्ती तक्मा र मानपदवीहरू ।

अहिलेसम्म मेरा श्रीमानको सुरासुन्दरी वा भोगविलासमा कुनै आशक्ति देखेकी छैन । म उहाँलाई एक सुयोग्य र उत्तम पुरुषको श्रेणीमा राख्छु । उहाँलाई सभ्य र आदर्श पतिको रुपमा सम्मान गर्छु । दिनभरी अफिसको कामले जमिन र आकाश जति चाहारे पनि साँझ पर्दा घरमा श्रीमानको साथलाई थकाइ मार्ने चौतारी र बिसाउने गुँड मान्दै आएकी छु ।

मेरा श्रीमान् नारी मुक्ति र विकासको नाममा ठुलो–ठुलो कार्यक्रम आयोजना गरिरहनुहुन्छ । कुनै पनि किसिमको महिला हिंसा र शोषण उहाँलाई मन पर्दैन । पुरुषले महिलालाई आफ्नो निर्णय गर्ने अधिकारमा अंकुश लाउनुहुँदैन, स्वतन्त्र छोडनुपर्छ भन्ने कुरामा उहाँ खरो उत्रनुहुन्छ । महिलाको शारीरिक शोषण एक जघन्य अपराध ठान्नुहुन्छ । विवाहित पुरुषले आफ्नी श्रीमती भन्दा अरुलाई आँखा लगाउँछ भने उसको पतन एकदिन अवश्य हुन्छ भन्ने मान्यता राख्नुहुन्छ उहाँ । जीवनमा सबैभन्दा बढी माया लाग्ने ब्यक्ति भनेको आफ्नी पत्नी हुन् र उनैसँग रमाउँदा घरपरिवार स्वर्ग बन्छ भन्ने मान्यता छ उहाँको । यस्तो आदर्श पति हुनुहुन्छ मेरो ।

मलाई यति धेरै माया गर्ने पति हुँदाहुँदै पनि मलाई नियुक्ति खाने एकोहोरो चाहनाले हुटहुटी नै बनायो । पतिसँग नसोधी नियुक्ति खाने अठोट गरेँ मैले । दुई हप्तापछि साथिलाई फोन गरेर आफ्नो चाहना ब्यक्त गरेँ । जसरी भए पनि कुनै नियुक्ति दिलाइदिन अनुरोध गरेँ । उसले पनि सजिलैसँग एक महिनाभित्रमा तेरो काम हुन्छ भन्दै आश्वासन दिई । साथीको नियुक्ति दिलाइदिने आश्वासनमा तातो हावा मिसिएर आएको थियो क्यारे ! त्यो आश्वासनको राप र तापले मलाई झन आकर्षण गऱ्यो ।

एक महिनापछि साथीले भेट्न बोलाइ । म हतारिँदै उसलाई भेट्न पुगे । उसले ‘मन्त्रीसँग कुरा भैसक्यो, मन्त्रीज्यु पोजिटिभ हुनुहुन्छ, एक जना विशिष्ट सर हुनुहुन्छ, उहाँले नै अन्तिम निर्णय गर्ने हो । पुरुष भए त २–४ करोड नलिइ नियुक्ति हुँदैहुँदैन, तर महिलाको मामिलामा सर अलि नरम हुनुहुन्छ । त्यसैले तँसँग उहाँले आफै भेटेर कुरा गर्ने बताउनुभा’को छ ।’ यति भन्दै साथीले उक्त ‘वरिष्ठ’ सरलाई भेट्ने स्थान र समय टिपाई । मैले सोधेँ– फोनबाट कुरा गर्दा हुँदैन र ? प्रत्यक्ष भेटेर मैले के कुरा गर्नु ? सबै तैँले नै प्रष्टसँग कुरा गरेकी छँदैछस् नि, हैन र ? जवाफमा उसले भनी– सरको काम गर्ने तरिका अलिक भिन्न छ क्या, तँ बुझ्दिनस् । उहाँ सरले महिला र पुरुषको लागि भिन्दाभिन्दै मापदण्ड बनाउनुभा’को छ । उहाँले जहिले पनि पुरुषभन्दा महिलालाई बढि प्राथमिकता दिनुहुन्छ । त्यसैले उहाँले राखेको प्रस्ताव स्विकार्दै अगाडि बढ्दा तँलाइ फाइदैफाइदा हुन्छ । म तेरो बाल्यकालदेखिको साथी, तेरो अहित हुने कुरा गर्छु होला त ?

कुरा त ठिकै हो ! यति मिल्ने साथीले पक्कै पनि मेरो भलो चिताएरै त जोडबल गरेकी होली भन्ने सोचेर सरलाई भेट्ने कुरामा सहमति जनाएँ ।

भोलिपल्ट साथीले टिपाएको स्थान र समयमा नियुक्ति दिलाउने वरिष्ठ सरलाइ भेट्न पुगेँ । त्यो स्थान अफिस नभई कुनै अपार्टमेन्ट स्टाइलको अवैध भेटघाट स्थल थियो । कोठामा पस्ने बित्तिकै एक युवतीले एकछिन बस्दै गर्नुस् भन्दै भित्र क्याबिनमा छिरिन् । सायद म आएको जानकारी गराउनलाई होला । केहीबेरमै मलाई भित्र जान इशारा गरिन् । म क्याबिनमा छिर्दा वरिष्ठ ब्यक्ति घुम्ने कुर्सीमा विपरीत दिशातर्फ फर्केर ल्यापटप चलाउँदै थिए । ‘सर’ भन्दै मधुर स्वरमा आफ्नो उपस्थितिको जानकारी गराएँ । बिहान अफिस जाँदा आफ्नो पतिले लाएको सर्टझैँ उसले लाएको सर्ट थियो । पछाडिबाट पनि स्पष्ट देखिन्थ्यो । म झुक्किँदै आफ्नै पतिको सर्ट भन्ठान्छु । जिउडाल सबै आफ्नै पतिको जस्तो लाग्छ । मनमा यिनै कुरा खेलाउँदै थिएँ ।

उनले मतर्फ नफर्की सोधे– कहिले मिलाउनुहुन्छ त एकदिनको समय ?
के भनेको हो सर मैले बुझिनँ नि भन्दै सानो स्वरमा बोलेँ ।
किन.. तपाईंको साथीले केही भनेन ?
म चुपचाप थिएँ ।

उनले फेरि थपे– तपाईंले पूरै एकदिनको समय ममा खर्चनु भयो भने तपाईंको काम यानी कि नियुक्ति पक्का । के छ विचार ?
अहिले त स्वर र कुरा गर्ने स्टाइल पनि मेरै पतिको जस्तो पो लाग्यो । मनमा अलि शंका उब्जियो । सबै कुरा मेरै पतिसँग मिल्ने आखिर यो ब्यक्ति को हो त ? फेरि एकदिनको समय उसलाई दिने भन्छ । ए बाबा यो के चक्कर हो ? म अन्योलमा परेँ । फर्केर मतर्फ मरिगए हेर्दैन । हैन को रहेछ त यो ब्यक्ति, चिन्नु त पऱ्यो । उसलाई जसरी पनि चिन्ने मनसायले उसको सर्तमा मन्जुरी जनाएँ मैले । अनि बल्ल उसले घुम्ने कुर्सी मतर्फ फर्कायो ।

‘ओहो !!! तिमी यहाँ कसरी ?’ उसले यति भनिसक्दा अनुहारको रङ्ग उडिसकेको थियो । भावसुन्य मुद्रामा उसले एकोहोरो पाराले मलाई हेरिराख्यो । उसको निधारमा खल्खली पसिना बग्न थाल्यो । म पनि उसलाई हेरेको हे ऱ्यै भएँ । मेरो खुट्टा लर्बराउन थाले, टाउको भारी भयो, रिङ्गटा लाग्न थाल्यो, किनकि त्यो वरिष्ठ ब्यक्ति मेरो आफ्नै ‘आदर्श पति’ थियो । म तुरुन्तै आफुलाइ सम्हाल्दै घर फर्कें ।

निःस्तब्ध रात, शून्य एक्लो कोठा अनि म नितान्त एक्ली महिला । निरन्तर आँखाबाट खसेका अश्रुधारा । पूर्णिमाको जूनको उज्यालो कोठाभरी छरपस्ट फैलिएको । टेलिभिजनमा अमेरिकामा उपराष्ट्रपति पदमा निर्वाचन लड्न लागिपरेकी कमला ह्यरिस हात र टाउकाको हाउभाउका साथ आक्रामक भाषण गरिरहेको देखिन्थ्यो । मेरो मनले मनलाई सोध्या– यी पनि त महिला हुन् नि होइन र ? उत्तर कतैबाट आएन ।

म आफू सत्यतामा निकै विश्वास गर्थें, तर आज मेरो विश्वासमा बज्रपात परेको आफ्नै आँखाले देख्नुपऱ्यो, ब्यहोर्नु पऱ्यो ।
म आफुलाई बलियो बनाउँदै जुरुक्क उठेँ, अनि आफ्नो नियुक्ति खाएरै छाड्ने एकोहोरो हठलाई मुरी मुरी धन्यवाद दिँदै लामो सुस्केराले सास फेरे । अनि ऊनीहरूलाई सम्झिएँ जो मेरा अत्यन्त आत्मीय र नजिकका थिए । यही नियुक्ति खाने एक किसिमको हुटहुटीको कारणले नै यी दुई पात्रको असलियत जान्ने मौका मिल्यो । एक मेरो प्यारो आदर्श पति र अर्को मेरो आत्मिय साथी !