परम्परागत खाद्य पुनःस्थापन र ऋषि-खेतीमा नफर्की सुख्खै छैन !

परम्परागत खाद्य पुनःस्थापन र ऋषि-खेतीमा नफर्की सुख्खै छैन !



■ विश्व सिग्देल

हिमाली र उच्च पहाडी क्षेत्रका परम्परागत अन्न सागपात फलफूलहरू भाग्यमानीहरूका थालमा मात्र जुर्छन् । हिजो हनुमान ढोका, नारायणहिटी, सिंहदरबारमा जुम्लाको चामल मात्र पाक्थ्यो । अहिलेका ‘नव राजा’हरू पनि जुम्लाकै भातमा रमाएको सामाजिक सञ्जालमा भेटिन्छन् ।

हिमाल र उच्च पहाडका गेडागुडी, फापर, गहुँ, उवा, मासु, दुधजन्य पदार्थ, सागपात, फलफूलहरूको गुणबत्ता अतुलनीय छन्, यी पूर्ण आहार हुन् भन्छन् पोषणविद्हरू । हामीले जहाजमा मधेसको उसिना चामलका बोरा पठाएर हाम्रै पिठ थप्थपायौँ । उनीहरूलाई परनिर्भर, अल्छी, मागेर खाने बनायौँ ।

हामी मध्यपहाडमा पनि हाम्रा परम्परागत पोषणयुक्त अन्नबालीहरू सागपातहरू मासुजन्य पसुपंक्षीहरू जिरा नुनबाहेक सम्पुर्ण खाद्य पदार्थ घरमै उत्पादन गर्ने, सरसापट विनिमय गर्ने, हिउँद बर्खा खान मिल्ने गरेर परम्परागत सीपबाट भण्डारण गर्ने गर्थ्यौँ, खुसी थियौँ, सुखी थियौँ, हृष्टपुष्ट थियौँ ।

एकचोटि पिँडालुको छाउरो माटोमा गाडीदिएपछि जन्मभर चाहिएको लियो, अलिकति जमिनमै छाडिदियो गरेर जुग–जुग त्यही उम्रिरहन्थ्यो । प्रकृति आफैले मल पानी स्याहार गर्थ्यो । गलमट, कर्कलो, गावा, पाते खस्यौरो, तान्द्रे कर्कलो वा चुल्ठे गरेर बाह्रै महिना भान्छाको शोभा हुन्थ्यो । पोषणको कुरै नगरौँ । फर्सीको मुन्टा, कैँडा हरियोमा र पाकेपछि पिँढीको बलोमा झुण्ड्याएर वा छानोको पेटीमा सजाएर राखिन्थ्यो । हिउँद–बर्खा चल्थ्यो । गाउँमा विवाह ब्रतबन्धको भतेरमा जोतेको गह्रामा बसेर कबेलीको तरकारी र एक तुर्को दुधभातमा मुछेर खाँदा मासु बिर्साउँथ्यो ।


(तरकारीको लागि फर्सी फोर्दा करेसामा फ्याँकिदिएको फर्सीको बिउबाट फलेको फर्सी । तस्बिर : लेखक)

हामीले प्याज लसुन खान थालेको सुनौली–पोखरा ट्रक चलेपछि हो । त्यसमा पनि हामी बाहुनले खाए जात जान्छ भन्थे । हुन पनि यो तामसी भोजन हो सात्विक होइन, यसैमा सबै मरिहत्ते गर्छ किन हो कुन्नि ..! आज करेसामा डोबेर छाडिएपछि ततेरी नसक्नु हुने प्याज पाइएन भनेर मानिस रोइ रहेछन् । यो सडकको बाटो राक्षस आएर हाम्रो खुसी लुटेर लग्यो, हाम्रो बैभव लुटेर लग्यो ।

हामीले हाम्रो सभ्यता संस्कृति र उन्नत जीवन पद्धतिलाई बसमा चडाएर पठाइदियौँ ।

कोरोना महामारीले आतङ्क मात्र मच्चाएको छैन, हामीलाई फेरि एकचोटि लुटिएको त्यो स्वर्णयुगलाई फर्केर हेर्ने अवसर पनि दिएको छ, सुधार्ने समय पनि दिएको छ । सारा संसार हाम्रै ऋषि–खेती पद्धतिमा फर्कंदै छ, Masanobu Fukuokan ले हाम्रै पद्धतिलाई पछ्याएर विश्वभर फैलाएका छन् । खनजोत स्याहार संभार खास गर्नु नपर्ने, प्रकृतिलाई छेडछाड नगरी, नजिस्क्याइ उसकै लयमा छाडिदिए मात्र पुग्ने यो पद्धति संसारभर डङ्का पिटिरहेछ, हामी बेखबर छौँ ।

निचोड के हो भने, ऋषि–खेती पद्धतिलाइ पुनर्जीवित गर्ने र हाम्रो पम्परागत खाद्यसंस्कृतिलाई पुनर्स्थापित गऱ्यौँ भने कहिले भारततिरबाट ट्रक आउला र खाउँला भनेर दक्षिणतिर हत्केलाको पाली गाँसेर हेर्नु पर्दैन ।