मानव समाजको जग पुनः बसाउने आशा

मानव समाजको जग पुनः बसाउने आशा


■ देवप्रकाश त्रिपाठी

त्यो ठाउँ अभ्यस्त र निराकारको निम्ति असाध्यै प्रिय भइसकेको थियो । कुनै पारखी चित्रकारले सिर्जना गरेको चित्रझैँ लाग्ने प्राकृतिक संयोजन रहेको त्यही स्थानलाई आफूहरूको स्थायी बसोवासको थलो बनाउने निधो उनीहरूले गरे । उनीहरू पहिलेको घरतिर नफर्कने भए । अनि केही दिनमा नै बन्यो त्यहाँ एक ‘सुन्दर’ वासस्थान ।

केही समयअघिसम्म खाने र सुत्ने मुख्य काम गर्दै आएका अभ्यस्त र निराकारका लागि अब मुख्य काम त्यस स्थानमा राति चलफिर गर्ने जीवलाई दिउँसो खोजी गर्नु हुन थाल्यो । झाडी, गुफा र खोल्साखोल्सीहरूमा निगरानी राख्नु उनीहरूको दैनिकी बन्यो ।

एक दिन बिहान, नित्य कर्म सकेर केही सागपात खाइसकेपछि घरबाहिर आँगनको डिलमा उभिएर उनीहरू प्रकृतिको कलापूर्ण संयोजनको दृश्यानन्द लिँदै थिए । एउटा रूखको छेल पारेर कुनै जीवले आफूहरूलाई नियाल्दै गरेको उनीहरूले देखे । गाईभन्दा सानो र बाख्राभन्दा ठूलो देखिने त्यसका कान माथितिर फर्किएका थिए । सिङ थिएन, खैरो रङ्गको त्यो जीव हरिण पनि थिएन । प्रलयपूर्व कहिल्यै नदेखिएको त्यस प्राणीबारे अभ्यस्त जानकार हुने कुरै थिएन, निराकारले पनि त्यसको परिचय पाउन सकिनन् । दुवैजना त्यो जीव भएतिर बढे ।

निर्दोष मानिसहरू उज्यालोमा डराउँदैनन्, दोषीहरूका निम्ति अँध्यारो प्रिय हुन्छ । त्यही प्राणी रातमा देखापर्दा उनीहरू बडो होसियारीसाथ आत्मरक्षाका निम्ति सचेत हुँदै त्यसको पहिचान पाउने आशामा बसेका थिए । तर, अहिले उज्यालोमा दुई पक्षको अवस्था ठिक विपरीत भएको छ, अपरिचित प्राणी बडो होसियारीसाथ बसिरहेको छ, उनीहरूचाहिँ आ..आ.. भन्दै अगाडि बढ्दैछन् । त्यस प्राणीको करिव पन्ध्र मिटरको दूरीमा पुग्दा त्यो तर्सियो, बुर्कुसी मार्दै विपरीत दिशातर्फ दौडियो र क्षणभरमा अलप भयो ।

त्यो जीव जे भए पनि हिंस्रक होइन र आफूहरूको ज्यानमाथि त्यसबाट कुनै प्रकारको खतरा नपुग्ने निष्कर्ष निराकारले निकालिन् ।

‘यो जे भए पनि खराब जीव होइन अभ्यस्त’, निराकारले भनिन् ।

‘कसरी ? के आधारमा त्यस्तो किटान गर्न सक्नुहुन्छ ?’– अभ्यस्तले बढी जानकारी पाउने आशा राख्दै जिज्ञासा प्रकट गयो ।

निराकारले भनिन्– ‘प्रलय हुनुअघि पनि अनेक प्रकारका जीवजन्तु यस धर्तीमा थिए । म धेरै प्रकारका जीवजन्तु र पक्षीहरूका बारेमा जानकार छु । हिंस्रक प्राणीहरूसँग सिङ, दाह्रा या मजबुत नङ्ग्रा केही न केही हुनैपर्छ । सिङ जनावरको आत्मरक्षाका लागि बनेको हुन्छ भने दाह्रा र नङ्ग्रा भएका प्राणीचाहिँ कुनै न कुनै रूपमा अर्काको ज्यान लिने प्रकारका हुन्छन् ।’

‘मानिससँग दाहा, नङ्ग्रा र सिङ केही पनि छैन, यसलाई के भन्ने ?’

‘हो बाबु, मान्छेको सिङ, दाह्रा र नङ्ग्रा बाहिर देखिँदैन, तर भित्रपट्टि योभन्न्दा बढी केही हुन्छ मान्छेसँग । दाह्रा, नङ्ग्रा र सिङ भएकाभन्दा कैयन् गुणा बढी हिंस्रक हुन सक्छन् मानिस । पहिले पृथ्वीमा मानिसहरूले आफ्ना सुरक्षाका निम्ति कैयन् कुराहरूको ‘इन्तिजाम’ गरेका हुन्थे, धरै ठूला रकम आफ्नो सुरक्षाका लागि भनी छुट्याउँथे । मानिसलाई सबैभन्दा ठूलो डर मानिसबाट नै थियो । मानिसबाट जोगिन जति मानिसले अरू कुनै पनि कुरामा खर्च गर्दैनथे ।

‘किन त्यस्तो हुन्थ्यो आमा ?’

‘यसका अनेक कारण थिए छोरा । मानिसको सबैभन्दा न्यूनतम इच्छा बाँच्नु हो, तर मान्छेलाई बाँचेर मात्र पुग्दैन, समाजमा सानमानका साथ बाँच्नु उसको इच्छा हुन थाल्छ । बाँच्नका लागि खानुपर्छ तर खान पाउन थालेपछि अरू सबैले खाएको भन्दा राम्रो खाने इच्छा हुन्छ । लाज ढाक्न लगाउनुपर्छ, तर लाज ढाकिएपछिको पहिरन अरू सबैको भन्दा पृथक खोज्न थाल्छ मान्छे । अनि मान्छेहरूमाथि हैकम जमाउने इच्छा पनि मानिसमा हुन्छ, आफ्नो इच्छा पूर्ति गर्दा अर्काको इच्छा र आत्मसम्मानमा कतिसम्म चोट पुग्न सक्छ भन्ने हेक्का प्रायः मानिसहरू राख्दैनन् । यसले गर्दा हरेक मानिस हरेकका प्रति शङ्का र अविश्वासका साथ हेर्न विवश हुन्थे त्यसबेला । यही शङ्का र अविश्वास नै आत्मरक्षाको खोजीको कारण बन्थ्यो । सुरक्षित रहने प्रतिस्पर्धामा मानिसहरूको ठूलो लगानी हुन्थ्यो ।

‘त्यसोभए आपसमा समझदारी र विश्वास बढाए भइहाल्थ्यो नि’, निराकारलाई रोक्दै अभ्यस्तले भन्यो ।

‘होइन छोरा, विश्वास र समझदारी त्यति सजिलो कुरा होइन । यतिबला यो धर्तीमा हामी दुई मानिस मात्र छौँ, हामीबीचमै पनि शङ्का र अविश्वासको स्थिति पूरै मेटिएको छैन भन्न सकिन्छ ।

अर्बौं मानिसका बीच विश्वास र समझदारी बन्ने अपेक्षा त एउटा आकाशे कल्पना मात्र हो नि ।’

अभ्यस्त गम्भीर भयो । आमाको आँखामा आँखा सोझ्याउँदै उसले प्रश्न राख्यो, ‘हामीबीच शङ्का र अविश्वास किन छ आमा ? के तपाईं मप्रति विश्वस्त हुनुहुन्न ?’

‘तिमीप्रति विश्वस्त हुनु मेरो बाध्यता हो, तिमीलाई विश्वास गर्नुको विकल्प मसँग छैन, त्यसैले तिमीलाई विश्वास गरिरहेकी छु ।’

‘मबाट भय कुन कुरामा छ आमा तपाईंलाई ?’

‘यसको जवाफ तिमी आफैभित्र खोज अभ्यस्त ।’

‘मलाई धेरै ननिचोर्नुहोस् आमा । मलाई पूरै विश्वास गर्दा हुन्छ । मेरो कारणले तपाईंमाथि कुनै पीडा हुने छैन ।’

‘सृष्टिको निरन्तरता म चाहन्छु नि, खोज्दै छु म सृष्टिको निरन्तरताको बाटो ।’

‘खोज्नुहोस्, तर तपाईंको इच्छा कसरी पूरा हुन सक्ला ?’

‘म आमा हुँ । ममा सिर्जना गर्ने शक्ति छ, धैर्य गर्ने सामर्थ्य छ र आफ्नो सन्तानको सुखको निम्ति आफूलाई मेट्न सक्ने दृढ विश्वास पनि छ ।

‘तर, आमा तपाईंले कम्तीमा अब मेरो खुसीका लागि भनेर बेग्लै कुनै चिन्ता लिइरहनुपर्दैन र मेरा लागि तपाईंले कहिल्यै मेटिनुपर्ने पनि छैन ।

‘तिम्रो यो दृढता कायम राख, निराकारले कुरा टुङ्ग्याइन् । उज्यालोले ठाउँ छोड्दै गयो । निराकार र अभ्यस्त खानेकुराको बन्दोबस्त गर्नतिर लागे । अँध्यारोले साम्राज्य फैलाउनुअघि उनीहरूले खाना खाएर आ–आफ्ना ओछ्यानतिर लागे । तर, दुवैको दिमागमा दिउँसो भेटिएको जनावारबारेको जिज्ञासा थियो । अभ्यस्त आफ्नो अन्तरमनको इच्छा जागृत गर्दै थियो । उसले सोच्यो त्यो जनावर सृष्टिको निरन्तरताका निम्ति कहाँनेर सहयोगी बन्न सक्ला ?

निराकार पनि ठीक यही विषयमा सोचमग्न थिइन् । उनी चाहन्थिन् दिउँसो भेटिएको जनावर स्त्रीलिङ्गी होस्, ता कि उसैको सहयोगमा मानव समाजको जग बसाउन सकियोस् ।’

यस्तै कुराहरू सोच्दासोच्दै उनीहरू निद्रामा समेटिए । भोलिपल्ट उठ्दा सूर्यले आफ्नो प्रभाव जमाइसकेको थियो । (क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–
थप जीवको अस्तित्व रहेको खुलासा !