भाषिक र न्यायिक धरातलको कलंक

भाषिक र न्यायिक धरातलको कलंक


■ रामेश्वर राउत ‘मातृदास’

एकदिनको, एकक्षणको र केही मन्छेको प्रयासबाट भाषा बन्दैन । लिपिको त कल्पनै नगरौँ । आज हामीहरूले बोल्दै आइरहेको र प्रयोग भैरहेको अक्षर (वर्ण) हरू र यी वर्णहरूलाई अवलम्बन गर्ने देवनागरी लिपि बन्नका लागि, हजारौँ वर्षको अभिछिन्न तपस्या, शोध, साधना, प्रयोग र परीक्षणबाट मात्र सम्भव भएको हो ।

हाम्रा ती महान् अठासी हजार ऋषि–ऋषिका (आदि वैज्ञानिक)हरूको त्याग, तपस्स्या, साधना, समर्पण र शोध एवं असंख्य कवि, लेखक, साहित्यकारहरूले आफ्नो अमूल्य जीवन भाषाको सेवा, साधना, सम्मान र संरक्षणका लागि समर्पण गर्नुभएको छ । ती महामनाहरूको अथक साधना, समर्पण र त्यागको परिणाम नै आज हामीहरूले यो वाणी अर्थात् भाषा पाएका छौँ ।

भूगोल शरीर र भाषा देशको प्राण हो । भाषा राष्ट्र र समाजको पहिचान हो । भाषा घात त देशको प्राण हरण गर्ने जघन्य र अक्षम्य अपराध नै हो । सार्वभौमसत्ता सम्पन्न राष्ट्र र जनताको अस्तित्व र महत्व भाषासँग घनिष्ठ रूपमा जोडिएको हुन्छ । भाषामा देश र जनताको अगम्य र अदम्य शक्ति र सामथ्र्य रहेको हुन्छ । भाषा देशको ताकत र जनताको शान, सौभाग्य, गर्व र गौरव हो । भाषाले हरेक नागरिकको अन्तर–अभ्यन्तरमा स्वाभिमान र स्वाधीनताको असीम शक्ति र सामथ्र्य निरन्तर जगाइरहेको र जोगाइरहेको हुन्छ । पैसाले भाषामा भएको वर्ण (अक्षर) र यी अक्षरहरूलाई अवलम्बन गर्ने लिपिलाई खरीद गर्न सकिँदैन ।

कसैले चाहँदैमा लिपि र अक्षर बनाउन सक्दैन । जापानको खाञ्जी भाषाको लिपि र अक्षर (वर्ण)हरू चाइनिज भाषाले दिएको छ । अंग्रेजी भाषाको अक्षर (वर्ण)हरू र लिपि रोमन भाषाको हो । आफ्नो भाषालाई बचाउने सवालमा इजरायलीहरू अत्यन्त सजग र सहासी देखिएका छन् । घोरघमासन वर्षौंदेखिको युद्धको मैदानबाट समेत उनीहरूले आफ्नो हेब्रु भाषालाई जोगाएर संसारभरि जगाइराखेका छन् । आफ्ना भाषाको सेवा, सम्मान र संरक्षणका लागि इजरायलीहरूको भूमिका उदाहरणीय छ ।

पशुबाट मानिस बनाउने मूल माध्यम हो भाषा । हाम्रो आफ्नै मूल र कुल भाषा भएकै कारणले गर्दा हामी नेपालीहरू यो सृष्टिको शिरका गौरवशाली नागरिक हुने सौभाग्य पाएका हौँ ।

‘राष्ट्रगुरू योगी नरहरिनाथले ‘भाषा सुधारे सकल सुधार, भाषा बिगारे सकल बिगार’ भन्नुभएको छ । राष्ट्र र आम जनताको सर्वनाश भाषा भाँगभैलोबाट आरम्भ हुन्छ । यो सृष्टिमा भएका सम्पूर्ण तत्व भाषासँग जोडिएका हुन्छन् । भनौँ त यो सृष्टिमा (क) तन्त्र (ख) मन्त्र र (ग) यन्त्र यिनै तीन शक्तिको संयोजनबाट संसारमा रहेका सम्पूर्ण पदार्थहरू निरन्तर प्रयोग र परिचालित भैराखेका छन् । यी सम्पूर्ण तत्वहरूलाई मुखर गर्ने प्रमुख माध्यम भनेकै भाषा हो । भाषा नभए भगवान समेत मुखरर प्रकाशित हुन सक्दैनन् । यो जीवन्त वास्तविकताबाट भाषाको महत्व र महानता दिनको घामझैं छर्लङ्ग हुन्छ ।

यो सृष्टिका हामी सर्वसौभाग्यवान सभ्यतामा हुर्केका मानव समाजका सदस्य हौँ । देवनागरी लिपि र यसलाई अवलम्बन गरेका वर्णहरू यो सृष्टिमा भएका भाषा र लिपिहरूमध्येकै देवनागरी लिपि र वर्णाक्षरहरू नै सर्वाधिक पूर्ण र प्रमाणिक भएको तथ्य वैज्ञानिक अनुसन्धानबाट पुष्टि र प्रमाणित भैसकेको छ । आज आएका आधुनिक प्रविधिहरूमा देवनागरी लिपिमा आधारित भएका वर्णाक्षरहरू प्रयोग गर्नका लागि वैज्ञानिकहरूले सुझाइसकेका छन् । यसको यथार्थ कारण, अन्य भाषामा भएका लिपि र वर्णाक्षरहरूले वैज्ञानिक अनुसन्धान र आविष्कारबाट प्राप्त परिणामलाई प्रसारण गर्दा एक स्थानबाट अर्को स्थानमा पुग्दा बेग्लै सम्प्रेषण भएको वैज्ञानिक अनुसन्धानको निचोड छ । हामीहरूलाई यो गर्व र गौरवशाली सौभाग्य प्रदान गर्नुहुने हाम्रा सम्पूर्ण ती महामना ऋषिमुनि, ऋषिकाहरू, परमपुज्य पाणिनी, भाषा साहित्यकै सेवा, सम्मान र संरक्षणका लागि आफ्नो जीवन समर्पण गर्नुहुने कवि, लेखक, साहित्यकारहरू सधैं बन्धनीय हुनुहुन्छ । भाषाले दासबाट मालिक (स्वामी) र पराधीनबाट स्वतन्त्र बनाउँछ । पशुबाट मानिस बनाउने मूल माध्यम हो भाषा । हाम्रो आफ्नै मूल र कुल भाषा भएकै कारणले गर्दा हामी नेपालीहरू यो सृष्टिको शिरका गौरवशाली नागरिक हुने सौभाग्य पाएका हौँ ।

‘वेदोखीलो धर्म मूलम्, बसुधैव कुटुम्बकम्’ अर्थात वेद नै धर्मको मूल हो र चराचर जगतमा भएका सम्पूर्ण प्राणीहरू हाम्रा भाइबन्धुहरू हुन् भन्ने महानताको सन्देश सम्प्रेषण गर्ने प्रथम भाषा हो देवनागरी लिपिमा आधारित ‘संस्कृत’ भाषा । देवनागरी लिपि र यसमा भएका वर्णाक्षरहरूको भव्यता, सभ्यता, शालिनता, महानता, व्यापकता र कालजयिताका सम्बन्धमा सर्वाङ्ग वर्णन गर्न शब्द र समय थकित हुन्छन् । हामीहरूलाई यो महिमामण्डित सौभाग्य प्रदान गर्नुहुने हाम्रा प्रातः स्मरणीय पूर्वजहरू सधैं पुजनीय र बन्दनीय हुनुहुन्छ ।

सर्वोच्च अदालतलाई अचानो बनाएर मिति २०७६ साल मंसिर २७ गते भएको असंवैधानिक ‘इम्बोष्ड नम्बर प्लेट’ सम्बन्धी फैसलाले सम्मानित सर्वोच्च अदालत, संविधान, सार्वभौमसत्ता सम्पन्न नेपाल र आम नेपालीहरूको नैसर्गिक संवैधानिक भाषिक अधिकारलाई समाप्त बनाएको छ । अदातलको न्यायिक मर्यादा र सम्मानलाई धूलीमैदान बनाएको छ ।

भाषाको महाता र महत्वलाई नबुझेका र बुझी–बुझी बुझ पचाएर अर्काको रिसवतमा लोभिएर खाने मुख र भर्ने भँुडी मात्र बोकेका केही मलका मूलाहरूले देवनागरी लिपि र वर्णाक्षरहरूलाई नै क्रमशः समाप्त बनाउने मूर्खतापूर्ण अत्याचार गर्दै आइराखेका छन् । यो बेइमानी तिनीहरूले आफ्ना ती महान् विगत भैसक्नु भएका आफ्ना पूर्वजहरूको यशकीर्ति समाप्त पार्ने, वर्तमानमा जीवित रहेका सार्वभौमसत्ता सम्पन्न सम्पूर्ण जिम्दा नागरीकहरूको जिब्रो थुत्ने र जम्न बाँकी भावी भविष्यका सन्ततीहरूको भाषिक अधिकारलाई समेत समाप्त पार्ने अक्षम्य अपराध गरेका हुन् । यो आत्मघाती अत्याचारबाट ती बुर्थुङ्गाहरूले आफ्नै भाषिक अधिकारलाई समेत समाप्त बनाएका छन् । यी आततायी, अत्याचारी, भाषाघातीहरूको अत्याचारलाई समाज र समयले कहिल्यै पनि क्षमा छुट नदिने निश्चित छ ।

यो पृथ्वीतलमा भाषाघात भन्दा ठूलो महापाप अर्को कुनै छैन । भाषा नए भगवानसमेत मुखर हुन नसक्ने यो महानतम् प्राप्तिलाई मेटाउने दुष्टहरू आकारमा मान्छे देखिए पनि सारमा ती आततायी, अत्याचारीलाई पृथ्वीका अन्य कुनै पनि किटाणुहरूसँग समेत तुलनीय छैनन् र हुँदैनन् । किनकि, ती कुनै प्राणीहरूले आफ्नो भाषालाई आफैले मास्ने र मार्ने कुकर्म गरेका हुँदैनन् र गर्दैनन् ।

पछिल्लो समयमा सर्वोच्च अदालतलाई अचानो बनाएर मिति २०७६ साल मंसिर २७ गते भएको असंवैधानिक ‘इम्बोष्ड नम्बर प्लेट’ सम्बन्धी फैसलाले सम्मानित सर्वोच्च अदालत, संविधान, सार्वभौमसत्ता सम्पन्न नेपाल र आम नेपालीहरूको नैसर्गिक संवैधानिक भाषिक अधिकारलाई समाप्त बनाएको छ । अदातलको न्यायिक मर्यादा र सम्मानलाई धूलीमैदान बनाएको छ । मौजुदा नेपालको संविधान २०७२ को धारा ७(१), धारा २८, धारा ३२(३) धारा १३३ (३), धारा २७४(१) देखि (१०) एवं धारा १(१) समेतको विपरित भएकाले यो फैसला सोह्रैआना असंवैधानिक नै हो । हामी सार्वभौम नेपालीहरूका लागि यो असंवैधानिक नै हो । हामी सार्वभौम, नेपालीहरूका लागि यो असंवैधानिक ‘इम्बोष्ड नम्बर प्लेट’ कुनै पनि हालतमा मान्य र स्वीकार्य छैन ।

मानव समाज रहेसम्म यो असंवैधानिक भाषिक अत्याचारको विरोध र विरूद्धमा जिम्दा नेपालीहरूले आफ्नो नैसर्गिक भाषिक अधिकारका विषयमा आवाज उठाइरहने छन् । यो असंवैधानिक भाषिक बेइमानी प्रतिसम्हरण अनिवार्य छ । जय भाषा !! जय देश !!

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती