अमेरिकामा ४८ घण्टाभित्र बन्द हुँदैछ चिनियाँ एप टिकटक र वीच्याट

अमेरिकामा ४८ घण्टाभित्र बन्द हुँदैछ चिनियाँ एप टिकटक र वीच्याट


अमेरिकामा टिकटक र वीच्याटमाथि अबको ४८ घण्टाभित्र रोक लगाइँदै छ।

अमेरिकी बाणिज्य मन्त्रालयले आगामी ४८ घण्टाभित्र उल्लिखित दुवै एप युएस एप स्टोरबाट हटाइने र कुनै पनि अमेरिकी नागरिकले त्यसलाई डाउनलोड गर्न नसक्ने बताएको छ ।

यदि राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ एपमाथिको प्रतिबन्ध लगाइने समय–सीमाको अन्तिम क्षणमा कुनै सम्झौताको लागि तयार भए भने मात्र टिकटक र वीच्याटमाथिको यो प्रतिबन्ध हट्न सक्ने बताइएको छ ।

बीबीसीले उल्लेख गरेअनुसार ट्रम्प प्रशासनको भनाई छ कि टिकटक र वीच्याटजस्ता चिनियाँ एप अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि खतरा बन्न सक्छ, किनकि ती कम्पनीहरूले ती एपको प्रयोगकर्ता अमेरिकी नागरिकको व्यक्तिगत जानकारी चीनलाई उपलब्ध गराइदिन सक्छन् ।

तर, चीन तथा चिनियाँ कम्पनीहरूले भने उक्त अमेरिकी आरोपको खण्डन गर्दै आएका छन् ।

ज्ञातव्य छ, च्याटिङ, भिडियो सेयरिङ र मोबाइल पेमेन्ट जस्ता काममा प्रयोग हुने बहुउपयोगी एप वीच्याट अमेरिकामा आइतबार (२० सेप्टेम्बर)देखि आधिकारिक रूपले बन्द गरिँदै छ ।

यस्तै, सर्ट भिडियो प्लेटफर्म टिकटकको प्रयोग अमेरिकीहरूले आगामी १२ नोभेम्बरसम्म गर्न सक्नेछन् । १२ नोभेम्बरदेखि टिकटकमा पनि पूरै प्रतिबन्ध लगाइने घोषणा अमेरिकी सरकारले गरेको छ ।