प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता हल्लनचोकबाट पक्राउ

प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता हल्लनचोकबाट पक्राउ


जबर्जस्ती चन्दा असुल गरेको अभियोगमा कास्की प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उदयपुरको त्रियुगा घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेवी घर भई काठमाडौं गोंगबु बस्दै आएका २२ वर्षीय रामकुमार डाँगीलाई सप्रमाण पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी डिएस्पी सुवास हमालले दिएको जानकारीअनुसार रविन केसी नामबाट समेत चिनिने रावत प्रतिबन्धित नेकपासम्बद्ध अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला कमिटी सदस्य हुन् भने डाँगी पनि अखिल क्रान्तिकारीमा आवद्ध कार्यकर्ता हुन् ।

गत मंगलबार (३१ भदौ) पोखरा महानगरपालिका–६ हल्लनचोकमा जबर्जस्ती चन्दा असुली गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

पक्राउ पर्दा उनीहरू चन्दा संकलन गरीरहेको अवस्थामा फेला परेका थिए भने उनीहरूको साथबाट चन्दाबापत लिएको नगद एक लाख रुपैयाँ, चार थान मोवाइल सेट, मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको ने.क.पा. केन्द्रिय समितिको नगदी रसिदसमेत बरामद गरिएको प्रहीले जानकारी दिएको छ ।

उनीहरूविरुद्धचन्दा ऐनसम्बन्धीको कसुरअन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।