महामारी नियन्त्रण गर्न नाष्टले यन्त्र मानव प्रयोगमा ल्याउने

महामारी नियन्त्रण गर्न नाष्टले यन्त्र मानव प्रयोगमा ल्याउने


नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न आफ्नो कार्यालयमा यन्त्र मानव (रोबोट) प्रयोगमा ल्याउने भएको छ ।

कार्यालयमा आगन्तुक पस्दा र निस्कँदा यन्त्र मानवले मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका प्रविधि सङ्काय साना जलविद्युत आयोजनाका प्रमुख रोशन पाण्डेले जानकारी दिए ।

बताइएअनुसार महिलाको स्वरुपमा निर्माण भइरहेको उक्त रोबोटलाई कार्यालयको ढोकामा राखिन्छ, यसले अभिवादन गर्ने, मास्क लगाएको वा नलगाएको छुट्टाउने, लगाए धन्यवाद व्यक्त गर्ने र नलगाए स्यानिटाइनर र मास्कसमेत आगन्तुकको हातमा थमाउने छ ।

कार्यालयमा छिर्ने व्यक्तिले कार्यालयबारे जानकारी लिनुपरेमा कृत्रिम इन्टेलिजेन्समार्फत बोलेर श्रव्यदृश्यका साथ दोहोरो संवाद समेत गराउने पाण्डेले जानकारी दिए । नाष्टले ‘स्वास्थ्य र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने यस वर्षको विज्ञान दिवसको नारालाई आत्मसाथ गर्दै विज्ञान, प्रविधि र नवप्रवर्तनलाई विकास गरेको पनि बताए ।

यन्त्र मानवले मानिसको तापक्रम जाँच्ने जानकारी दिँदै उनले थपे– ‘यसको उचाई पाँच फिट तीन इन्च र तौल ५५ किलोको हुनेछ ।’

ज्ञातव्य छ, नाष्टले कोभिड–१९ महामारीको सङ्क्रमणबाट बिरामी व्यक्ति र चिकित्सकलाई सजिलै जोगाउन ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’, ‘मोबाइल स्वाब कलेक्सन भ्यान,’ हात धुने र हात धुँदा अरुलाई सङ्क्रमण नफैलियोस् भनेर दुई वटा ‘हयान्ड वास स्टेसन’, खुट्टाले थिचि हात धुन मिल्ने ‘फुट अपरेटेड स्यानिटाइजर डिस्पेन्सर’, अस्पतालमा स्वाब सङ्कलन गर्न प्रयोग हुने ‘स्वाब कलेक्सन बुथ’, अस्पतालमा बिरामी हेर्न जाँदा अपनाउनुपर्ने सावधानीका लागि ‘आइसोलेसन वार्ड’, सङ्क्रमण हटाउन ‘डिस इन्फेक्सन रोबट’, सङ्क्रमित व्यक्तिले खोक्दा र हाछयुँ गर्दा नाक र मुखबाट निस्किएका छिटाबाट सङ्क्रमण नफैलियोस् भनी ‘नेगेटिभ प्रेसर स्ट्रक्चर हुड’ निर्माण गरिसकेको छ ।

नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा. शङ्कर ढकालका अनुसार कोरोनाका कारण शहरका घरमा खुम्चीएर रहेका हरेक उमेरका मानिसलाई व्यस्त बनाउन ‘कौशी करेसाबारी’ परियोजनाअन्तर्गत ‘हाइड्रोपोनिक सिस्टम’ अर्थात् माटोविना कौसीमा पानी, केमिकल र सफा ग्राभेलको प्रयोगमा तरकारी खेती गर्ने प्रविधिको पनि नाष्टका वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् ।

यसैगरी २०७६ वैशाख ४ गते नेपाली वैज्ञानिकले जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा पहिलो पटक ‘नेपाली स्याट–१’ नामक नानो स्याटेलाइट (भूउपग्रह) प्रक्षेपण गरिसकेको छ ।