बामदेवले लिए राष्ट्रियसभा सदस्यको शपथ

बामदेवले लिए राष्ट्रियसभा सदस्यको शपथ


सत्तारुढ नेकपाका नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको शपथ ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख)बमोजिम नेपाल सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको थियो ।

राष्ट्रपतिबाट मनोनित भएपछि गौतमले बिहीबार (१ असोज) नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयतको शपथ लिएका छन् ।

कुल ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट सङ्घीय सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित तीन जनालाई मनोनयन गरिने प्रावधान छ । प्युठान, दाहाक्वारी १-का गौतमलाई राष्ट्रपतिले मनोनयन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्ति जारी गरेर बिहीबार नै जानकारी गराएका थिए ।

राष्ट्रियसभा सदस्यको शपथ ग्रहण गरेपछि नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रियसभाको गरिमा बढाउन आएको प्रतिक्रिया दिएका छन् । उनले आफू राष्ट्रियताको पक्षमा उभिने प्रण गर्दै संविधान र राष्ट्रियसभा नियमावलीअनुसार आफ्नो कर्तव्य पूरा गर्न आएको अभिव्यक्ति दिएका हुन् ।

गत २०७४ साल मंसिरमा भएको प्रतिनिनिधिसभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमले त्यसपछि राष्ट्रियसभा सदस्यमा मनोनित हुने चाहना र प्रयास पटक पटक गर्दै आएका थिए ।