१३ कार्तिक २०७७, बिहीबार

मिडियाको दुःख !

  प्रकाशित मिति
१ आश्विन २०७७, बिहीबार ०४:५१


■ दीपेन्द्र पाण्डे

भनिन्छ, त्रेता युगको अमूल्य सम्पत्ति रामायणले आम मानिसलाई जीवनमा के गर्ने भन्ने सिकाउँछ । द्वापर युगको भीषण युद्ध र अनुभवले खारिएको महाभारतले के नगर्ने भन्ने सिकाउँछ । विडम्बना ! कलियुगको रामायण र महाभारत ‘मिडिया’ के गर्ने, के नगर्ने भन्ने सिक्दासिक्दै आत्महत्या गर्ने अवस्थामा पुगेको छ ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या पचास लाख नाघेको र चीनसँग सीमानामा तनाव बढ्दै जाँदा मिडियाले गम्भीर विषयलाई पन्छाएर सुशान्तको मृत्युपछाडि कुद्ने ‘गोदी मिडिया’लाई ब्यङ्ग्य गर्दै स्वतन्त्र मिडियाको निधन भएको ‘समवेदना’ प्रकाशित गऱ्यो ।

सन् १९७५ को जुन २८ मा लोकतन्त्रको निधन भएको भन्दै विज्ञापन छापिएपश्चात् भारतीय मिडियाको पछिल्लो स्थितिबाट विचलित हुँदै कार्तिक सहनी नामको ट्विटर प्रयोगकर्ताले पत्रकारिताको लागि लेख्ने निर्णय गरे । गत सेप्टेम्बर ८ तारिखमा वर्गीकृत विज्ञापनअन्तर्गत छापिएको उक्त शोक सन्देशमा साङ्केतिक रूपमा ‘स्वतन्त्रताकी छोरी एवम् सत्यको पत्नी मिडियाको निधन भएकोमा परिवार तथा मित्रको तर्फबाट समवेदना प्रकट’ गरिएको छ ।

पछिल्लो समय भारतीय मिडिया जाँचको घेरामा परेका छन् । धेरै टिभी च्यानलहरूले सनसनीखेज र निष्पक्ष कभरेजको लागि बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युमा अलमलिएका छन् । भारतीय मिडियाहरू रिया चक्रवर्तीलाई लगातार निशाना बनाउने र अप्रमाणित जानकारी प्रशारित गर्दै कोरोना भाइरस, जिडिपी, अर्थव्यवस्था र भारत–चीनबीचको वास्तविक मुद्दाहरूलाई बेवास्ता गर्नमा तल्लीन छन् । सत्यबाट सर्वसाधारणलाई गुमराह गर्दै व्यापक आलोचना र आरोपमा जनतालाई जबर्जस्ती अल्झाउन भरमग्दुर कोसिस गर्दै छन् । जनताको ध्यान सरकारको असफलतातर्फ आकर्षित गर्दै सत्तालाई जनताको पक्षमा काम गर्न मजबुर बनाउनुको सट्टा आफ्नै चीरहरण गर्न मिडिया मरिहत्ते गर्दै छन् । आफ्नो औचित्य समाप्त गर्दै सत्ताको सेवामा तल्लीन मिडियाको पछिल्लो दलाली देख्नासाथ विश्वलाई भारततर्फ ध्यान दिने अवस्थामा पुऱ्याएको भन्दै प्रधानमन्त्री मोदीले मिडियालाई धन्यवादसमेत दिएका छन् ।

आदीवासी, जनजाति, दलित, ब्राह्मण जस्ता शब्दमा समाजलाई जबर्जस्ती बाँड्ने, जाति र वर्गभित्र फाटो ल्याउने खेलमा मिडिया गम्भीर ढङ्गले प्रयोग हुँदैछ । समाजलाई रणनीतिक ढङ्गले विभाजित गर्दै रोपिएका विषबृक्षमा फूल फुल्न थालिसकेको छ । परिस्थिति यसरी बिगारिँदै छ कि समुदायमा अधिकभन्दा अधिक मानिसबीच घृणा फैलाउन मिडियाको चरम दुरुपयोग गरिँदै छ ।

पछिल्लो कालखण्डमा पुँजीवाद, साम्राज्यवाद, आतङ्कवाद, साम्यवाद, शान्ति, स्थिरता, समृद्धि जस्ता शब्दहरूको भयङ्कर दुरुपयोग गर्ने पात्रहरू खोज्दा अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री मोदीसँगै नेपालका प्रधानमन्त्री ओलीसमेत भेटिन्छन् । वैश्य युगको मिडियालाई थाहा छ– समस्याको समाधान बातचितबाट हुँदो हो त महाभारत युद्ध नै हुने थिएन । साथै युद्ध नै सबै समस्याको एक मात्र विकल्प हुँदो हो त बातचित र शान्तिवार्ता नै हुने थिएनन् । महाभारत युद्धमा दुवै पक्ष बर्बाद भए । पाण्डवहरू जितेर सबै हारे, तर महाभारत युद्धले दुनियाँलाई गीता ज्ञान र केही सबक जरुर सिकायो, तथापि ज्ञानको लाभ दुनियाँले उठाएको आजसम्म देख्न पाइएन ।

सर्वसाधारण मानिसमा ठूलो भ्रम छ कि मिडिया र राजनीतिको सर्वोच्च स्थान ओगटेका मानिसहरू एकदमै समझदार छन्, ज्ञानी छन् वा विज्ञ छन् । तर, यी तमाम धारणाको स्वतन्त्र पुष्टि भएको पाइँदैन । वैश्य युगमा मिडिया र राजनीति बजार वा उद्योगमा परिणत भइसकेको छ । मूलधारका मिडिया व्यक्तिलाई पखाल्न वा चम्काउन हात धोएर लागेको घटना सर्वसाधारणको जानकारीमा आइसकेका छन् । पर्दाले मिडियालाई बेपर्दा गरेको देख्दा मिडियाबाट सत्य बसाइँ सरेको वा मिडियाले आत्महत्या गरिसकेको शङ्का हुन थालेको छ ।

विश्व इतिहास पढ्दा बुझ्न सकिन्छ– मूर्ख या बुद्धिहीन मानिसले मुलुकलाई जति नोक्सानी पुऱ्याउन सक्छ त्यसको हजारौँ गुना नोक्सानी बुद्धिमान, समझदार र आफूलाई इमानदार मान्ने मानिसले पुऱ्याइरहेका हुन्छन् । भोक, अन्याय, अत्याचारबाट तड्पिरहेका वा मरिरहेका मानिसको अगाडि तपाईंका तर्क भुत्ते सावित हुन्छन् । मुलुकका ठुला मिडिया हाउस र मिडियाकर्मीहरू फगत मोटो रकमको पछि लाग्दा देश अकल्पनीय द्वन्द्वमा फस्ने खतरा चुलिन्छ ।

प्रेस स्वतन्त्रता लोकतन्त्रमा अनिवार्य तत्व हो । स्वतन्त्रताको सीमा रहित प्रयोगले उच्छृङ्खलता जन्माउने खतरा हमेसा रहन्छ । वर्तमान समाजमा मिडिया पैसाको पछाडि कुदेको छ । अधिक लोभको कारण समाजलाई गुमराह गर्दै छ । सकारात्मक समाचार गायव पारिएका छन् । अपराधको मार्केटिङ गरिँदैछ ।

व्यापक सम्भावना बोकेको मुलुकमा सोसल मिडिया, इन्टरनेट, टेलिभिजन, छापा पत्रिका अनजानमै द्वन्द्व जन्माउने कारण बन्दैछन् । नयाँ नेपाल र समृद्ध देश बनाउने नाममा मुलुक विभाजित गरिएको छ । केवल चुलो बाल्नकै निम्ति मिडियाकर्मीले गर्ने अनुपयुक्त जातिवाद, क्षेत्रवाद, भाषावाद, जेण्डरवादका सवालहरूले मुलुकमा कसरी आगो बाल्न सक्छन् भन्ने अनदेखा गरिएको छ । आदीवासी, जनजाति, दलित, ब्राह्मण जस्ता शब्दमा समाजलाई जबर्जस्ती बाँड्ने, जाति र वर्गभित्र फाटो ल्याउने खेलमा मिडिया गम्भीर ढङ्गले प्रयोग हुँदैछ । समाजलाई रणनीतिक ढङ्गले विभाजित गर्दै रोपिएका विषबृक्षमा फूल फुल्न थालिसकेको छ ।
परिस्थिति यसरी बिगारिँदै छ कि समुदायमा अधिकभन्दा अधिक मानिसबीच घृणा फैलाउन मिडियाको चरम दुरुपयोग गरिँदै छ ।

आधुनिक युगमा देशको उन्नति र प्रगतिको निम्ति मिडियाको ठूलो योगदान छ । मिडियाले समाजको निर्माण र पुनर्निर्माण गर्न सक्ने तागत राख्छ । देशभक्ति, एकता र उत्साह जगाउन मिडियाको अहम् भूमिका हुन सक्छ । यतिबेला हाम्रा मिडियाहरू बरालिएका छन् । मुलुकमा अनेकखाले विभेद छन्, अवसरहरूको कमी छ । राष्ट्रिय पुँजीको असमान वितरण छ । मुलुकको आम्दानीको तुलनामा खर्च बढी गर्ने व्यवस्था जबर्जस्ती लादिएको छ । जनप्रतिनिधिहरू जनताको शासक बनेका छन् । मुलुकको प्रगतिमा सबैभन्दा ठूलो अवरोधक राजनीति बनेको छ । भ्रष्टाचार संस्थागत गरिएको छ । कर्मचारी प्रशासन, राजनीतिक संस्थाहरू, आशाको किरणहरू निकम्मा बनाइएका छन् । अर्थव्यवस्था धराशायी बन्दै छ । गरिबी, मुद्रास्फिति, बेरोजगारी भयावह बन्दैछ ।

सिंहदरबार बालुवाटार बसाइँ सरेको छ । कोरोना आतङ्कबाट मानिस मर्माहत छन् । धर्म र कर्म अराजनीतिको शिकार भएको छ । यी र यस्ता तमाम विषयहरू जनतालाई सुसूचित गर्ने कामबाट मिडिया विमुख हुँदैछ । मिडिया स्वतन्त्रता या प्रेस स्वतन्त्रता लोकतन्त्रमा अनिवार्य तत्व हो । स्वतन्त्रताको सीमा रहित प्रयोगले उच्छृङ्खलता जन्माउने खतरा हमेसा रहन्छ । वर्तमान समाजमा मिडिया पैसाको पछाडि कुदेको छ । अधिक लोभको कारण समाजलाई गुमराह गर्दै छ । सकारात्मक समाचार गायव पारिएका छन् । अपराधको मार्केटिङ गरिँदैछ । हत्या, हिंसा, चोरी, डकैती, बलात्कार जस्ता विषयले कलिला मस्तिष्कमा विष घोलिँदै छ ।

सत्य पस्कनुपर्ने मिडियालाई समेत बदनाम बनाउन सफल सत्ता–राजनीतिले गरेको फोहोर मिडियाले सफा गर्दागर्दै आफै फोहोर हुने अवस्थामा पुगेको छ । सिद्धान्त, विचार, विधि र परम्परालाई समेत लज्जित बनाउँदै मिलान गरिएको ओली–प्रचण्ड राजनीतिले मिडियालाई गम्भीर मोडमा ल्याइपुऱ्याएको छ ।

सामान्यतया सत्ता मिडियामैत्री भएको पाइँदैन, तर वैश्ययुगमा मिडिया सत्ताको दलाली गर्न राजी भएको घटना उजागर हुँदै आएका छन् । पुँजीवादको चरम विकाससँगै मिडिया र सत्ताको अघोषित नाता मजबुत बन्दै छ । पुँजीवादी राजनीतिमा मिडियाको सहयोगमा सत्तासीन हुने र सत्ता प्राप्तिसँगै मिडियालाई दुश्मन देख्ने राजनीति विचित्रसँग मौलाएको छ । ‘हामी अमेरिका बनाउँछौँ, पर्खाल लगाउँछौँ’ भन्दै चम्किएको ट्रम्प–राजनीति दैनिक तीनवटा झुट बोल्नमा बितेको अमेरिकी मिडियाको दाबी छ । अच्छे दिन आएगा, हरेक भारतीयको खातामा १५ लाख रुपैयाँ पुऱ्याउने मोदी–झुठ होस् कि सुखी नेपाली समृद्ध नेपाल, जताततै रेल, मेट्रोरेल, मोनोरेल, पानीजहाज, फलामखानी, पेट्रोल खानी, स्मार्ट सिटी, कोही भोकै नपर्ने, कोही भोकले नमर्ने, वृद्धलाई हात–हातमा मासिक पाँच हजार, सुशासन, भ्रष्टाचारीको मुखै नहेर्ने ओली–झुटले मिडियाको दुःख झनै बढाएको छ ।

सत्य पस्कनुपर्ने मिडियालाई समेत बदनाम बनाउन सफल सत्ता–राजनीतिले गरेको फोहोर मिडियाले सफा गर्दागर्दै आफै फोहोर हुने अवस्थामा पुगेको छ । सिद्धान्त, विचार, विधि र परम्परालाई समेत लज्जित बनाउँदै मिलान गरिएको ओली–प्रचण्ड राजनीतिले मिडियालाई गम्भीर मोडमा ल्याइपुऱ्याएको छ । नितान्त दुई अध्यक्षको दीर्घकालीन कुर्सी व्यवस्थापनको निम्ति करिव ८० दिनसम्म नाङ्गिएको राजनीति छोप्ने तागत नेपाली मिडियासँग छँदै छैन । भारतीय एजेण्ट, हुल्लडबाज, एमसीसीविरोधि, एकताविरोधि, विकास, शान्ति र स्थिरताविरोधि स्थायी समिति र त्यस निकायसँग लगाव र झुकाव राख्ने सम्बन्धित सम्पुर्ण पार्टी कमिटी र कमरेडहरूलाई सडकबाटै दलाल भन्ने तागतका धनी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई समर्थन गर्दा मिडिया लोकप्रिय हुने कुरै रहेन ।

व्यवस्थामा कमजोरी यति धेरै छन् कि जसलाई मिडियाले लगातार प्रहार गरिरहेको छ । मिडिया जनताको आवाज मुखरित गर्ने शक्तिशाली माध्यम भएको कारण पत्रकारिता व्यवसाय मात्र हैन । परस्पर प्रेम, जानकारी र सिधा हस्तक्षेपको साधन पनि हो । भारतीय नेता डाक्टर अम्बेडकरले भारतीय पत्रकारितालाई ‘व्यवसाय’ बताएका थिए । उनले भनेका थिए– ‘मिडियाको कुनै नैतिक काम छैन । यसले सिर्फ कहानी बनाउँछ । यसले आफैलाई जनताको जिम्मेवार सल्लाहकार मान्दैन । यस्तो लाग्दै छ कि मिडियाको नैतिकतामा कुनै बदलाव आएको छैन । सङ्कट अधिक विकराल बन्दै छ । किनकि स्वतन्त्रतापछि यसको विस्तार व्यापक बन्दैछ ।’ वैश्ययुगको कारण मिडियाको दुःख भारत–नेपालमा समान छन् । आफ्नै चिन्तामा डुबेको सत्ताको पैरवी गरौँ, अम्बेडकरको आरोप सही साबित हुनेछ, नगरौँ कोरोना–युद्धपछिको आर्थिक मारमा आत्महत्या गर्नुको विकल्प देखिएन !

यो पनि हेर्नहोस्-
आतङ्कको व्यापार, ईश्वर मात्र ढुक्क !
सत्ता-राजनीतिको मित्र ‘कोरोना’ !
बोल्सेभिक-मेन्सेभिक क्रान्तिको चक्करमा मुलुक कम्युनिस्टमुक्त बन्ने सम्भावना



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरकारद्वारा पुनः पूर्ण रूपले लकडाउन गर्न सक्ने सम्भावना सनत आचार्य, बेल्जियम पछिल्लो दुई सातायता बेल्जियममा कोरोना संक्रमण दर ह्वात्तै बढेको

प्रतीक्षा सुवेदी (खड्गी), अष्ट्रिया कोरोना संक्रमणको दोश्रो लहरले युरोपलाई थिल्थिलो पारिरहेको अवस्थामा केही युरोपियन मुलुकले लकडाउन सुरु गरेसँगै अष्ट्रियाले पनि

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले देशमा फेरि लकडाउनको घोषणा गरेका छन् । टेलिभिजनबाट सम्बोधन गर्दै उनले कोरोना भाइरसको महामारी बढ्दै गएकाले

देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा आज (१३ कात्तिक) २,३६४ जना सङ्क्रमित थपिँदा