प्रधानमन्त्रीलाई गहिरो चोट !

प्रधानमन्त्रीलाई गहिरो चोट !


प्रधानमन्त्री केपी शर्मा ओलीलाई गहिरो चोट पुऱ्याउँदै नेकपाको ‘एकता प्रक्रिया’ अघि बढाइएको छ । आफ्नो पार्टी–भूमिका कमजोर पार्न खोजिएको र सरकारको काममा समेत पार्टी हस्तक्षेप बढाउने प्रयास भएकोले भन्दा पनि अर्थमन्त्रीमा युवराज खतिवडालाई निरन्तरता दिन नपाइएको कुराले प्रधानमन्त्रीलाई ज्यादा पीडा भएको बुझिएको छ ।

यसअघि गोकुल बास्कोटा मन्त्रिपरिषद्बाट हट्नुपर्ने परिस्थिति बन्दा पनि प्रधानमन्त्री ओलीलाई राम्रै झट्का लागेको बताइन्थ्यो । तर सम्पूर्ण सत्ता आफूमा निहित हुँदा पनि ओलीले बास्कोटामाथि लागेको आरोपबारे छानवीन गरी टुङ्ग्याउन पहल नलिएबाट बास्कोटाको बहिर्गमनले ओलीलाई खासै असर गरेको रहेनछ भन्ने देखाएको छ । प्रधानमन्त्रीले चाहेका भए गोकुल दोषी या निर्दोषी भएको तथ्य ६ महिनाअगाडि नै लागिसक्ने थियो भन्ने आम विश्वास छ । बास्कोटाको सवालमा जे भएपनि युवराज खतिवडालाई अर्थमन्त्री राख्न नपाएकोमा चाहिँ प्रधानमन्त्री अत्यन्तै दुःखी हुनुभएको बुझिएको छ । त्यसैले राष्ट्रियसभामा नियुक्त हुन बामदेव गौतमको नाम सिफारिश गरेको भए पनि मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गराउन प्रधानमन्त्रीले जाँगर चलाउनुभएन ।

बामदेवलाई पन्छाउने नियत त प्रधानमन्त्रीमा रहेको बुझिँदैन, तर युवराजलाई समेत राष्ट्रियसभामा पुऱ्याएर अर्थमन्त्री बनाउने सोचबाट भने उहाँँ मुक्त हुनुभएको थिएन । तत्कालका लागि अन्य उपाय नभएकोले आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएर अघि बढ्ने निर्णयमा प्रधानमन्त्री पुग्नुभएको छ ।

बामदेवको नाम मन्त्रिपरिषद्मा नपुग्दै ‘सम्भावित नियुक्ति’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्ने चर्चा शुरू भएको थियो । गौतमको नियुति रोकिँदा पार्टीको ठूलो हिस्सा चिढिने सम्भावना भएकोले मात्र अन्ततः प्रधानमन्त्री गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन बाध्य हुनुभएको बुझिन्छ । उहाँका सल्लाहकारहरू बिष्णु रिमाल र राजन भट्टराईको दबाबमूलक सुझाव झेल्न केपीलाई निकै मुस्किल परेको थियो ।

भनिन्छ, खतिवडालाई छोडेर मन्त्रीमण्डल पुनर्गठन गर्ने मन प्रधानमन्त्रीले अझै बनाइसक्नुभएको छैन । त्यसैले मन्त्रीमण्डल पुनर्गठन केही विलम्ब हुने देखिएको छ । प्रधानमन्त्रीको ‘दुःख’ यथावत रह्यो भने आगामी दशैँसम्म पनि पुनर्गठन नहुने अवस्था छ ।

अबको पुनर्गठनबाट धेरै सिनिएर नेताहरूको मन्त्रिपरिषद्मा सहभागिता रहने र सरकार अलिक प्रभावकारी ढङ्गले सञ्चालन हुने विश्वास गरिएको छ । को मन्त्री बन्ने र को हट्ने भन्ने कुराको यकीन अहिलेसम्म भएको छैन, तथापि विभिन्न अडकलबाजी भने शुरु भएका छन् । गोकुल बास्कोटालाई मन्त्री बन्न नदिनका लागि नेकपाभित्रबाट खेल भइरहेको र युवराज खतिवडालाई मन्त्री बनाउँदा सरकार नै सङ्कटमा पर्न सक्ने देखिएकोले उल्लिखित दुईका बारेमा केही भन्न नसकिए पनि यसपटकको पुनर्गठनमा महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे, भीम रावल, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, पम्फा भुसाल, जनार्दन शर्मा, प्रभु साह, महेश बस्नेत, प्रेम आले आदि जस्ता केही नयाँ व्यक्तिलाई समेटिन सक्ने सम्भावना छ । बामदेव गौतमलाई मन्त्री बनाइए पनि उहाँले अर्थमन्त्रालयको जिम्मेवारी पाउने सम्भावना शुन्यबराबर मानिन्छ ।

पहिल्यैदेखि मन्त्री रहेका लेखराज भट्ट, रामबहादुर थापा, योगेश भट्टराई, प्रदीप ज्ञवाली, वसन्तविक्रम नेम्वाङ र ईश्वर पोखरेलले निरन्तरता पाउन सक्ने विश्वास गरिएको छ । वर्षमान पुन, विना मगर, रामेश्वर राय यादव, भानुभक्त ढकाल, घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, जगतबहादुर विश्वकर्मा, पद्मा अर्याल र शक्ति बस्नेतले भने यसपालि मन्त्रिपरिषद्बाट बिदा पाउन सक्ने सम्भावना देखिएको छ । प्रचण्ड रामबहादुर थापा, लेखराज भट्ट, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी र जनार्दन शर्मालाई मन्त्री बनाउने पक्षमा नरहनुभएको बुझिन्छ । उहाँले क–कसको नाम सिफारिश गर्नुहुने हो र तीमध्ये प्रधानमन्त्रीले कुन–कुन नाम स्विकार गर्नुहुने हो, त्यसबारे अहिले भन्न सकिने अवस्था छैन । त्यसैले मन्त्रीमण्डल पुनर्गठनदेखि नै प्रधानमन्त्री र प्रचण्डबीच पुनः मनमुटाव शुरु हुने त होइन भन्ने आशङ्का पनि विश्लेषकहरूले गर्न थालेका छन् ।