भारत र केपीको नाम बेच्ने नेतालाई ठूलो झट्का

भारत र केपीको नाम बेच्ने नेतालाई ठूलो झट्का


पाँच महिनाअघि अस्तित्वमा आएको जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोण र व्यवहारलाई लिएर मतभेद उत्पन्न भएको छ । नयाँ शक्ति नामक पार्टी विघटन गरेर मधेशकेन्द्रित समूहमा मिसिन जानुभएका डा. बाबुराम भट्टराई केपी ओलीविरुद्ध निर्मम प्रहार गर्दै अघि बढ्नु्पर्छ भन्ने पक्षमा देखापर्नुभएको छ भने राजेन्द्र महतोलगायतका केही नेता प्रधानमन्त्रीसँग सम्बन्ध सुधार गरी सकेसम्म सरकारमै सहभागी हुनुपर्छ भन्ने सोच राख्नुहुन्छ । खासगरी राजेन्द्र महतोले ‘अब केपी ओली पूरै कार्यकाल प्रधानमन्त्री रहने भएकोले उहाँसँग मिलेर जाने र सरकारमा सहभागी हुनुपर्ने’ कुरामा जोड दिने गर्नुभएको छ ।

महतोले महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ र बाबुराम भट्टराईसँग केपी ओली र आफ्नो बीचमा घनिष्ट सम्बन्ध रहेको बताउँदै तत्काल केपीसँग भेटी पार्टीलाई सरकारमा लैजाने वातावरण बनाउने विश्वाससमेत दिलाउनुभएको थियो । बाबुराम भट्टराईको असहमतिका बाबजुद महतोले प्रधानमन्त्रीको सचिवालयमा बारम्बार सम्पर्क गरी भेटघाटको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो, तर मिलाउने भन्दाभन्दै धेरै दिन गुज्रिएपछि उहाँ नेकपाका महासचिव विष्णु पौडेलकहाँ पुग्नुभयो । आफ्नो भाजपा नेता अमित शाह, सुरक्षा सल्लाहकार अजित डोभल र नेपालस्थित भारतीय राजदूतलगायतसँग घनिष्ट सम्बन्ध रहेकोले केपी ओलीसँग भारतको राम्रो मित्रता बनाइदिन सक्ने विश्वास दिलाउँदै नेता महतोले प्रधानमन्त्रीसँग आफूलाई भेटाइदिन आग्रह गरे । यसरी आग्रह गर्दा महतोले नेपालस्थित भारतीय राजदूतावास र भारतीय गृहमन्त्री अमित शाह आफ्नो मुठ्ठीमै रहेकोसम्म भन्न भ्याउनुभएको थियो । जसपालाई सरकारमा सहभागी गराइसकेपछि सरकार पनि दिगो हुने र नेपाल–भारत सम्बन्धमा पनि सकारात्मक परिवर्तन आउने रायसमेत महतोले पौडेलसमक्ष प्रकट गर्नुभएको थियो ।

आफ्ना यिनै एजेण्डासहित विष्णु पौडेललाई भेटेर प्रधानमन्त्रीसँग सम्वाद गराइदिन आग्रह गर्दा पनि महतोको इच्छा पूरा हुन सकेन । त्यसपछि महतो नेकपाका युवा नेता महेश बस्नेतको सम्पर्कमा पुगी प्रधानमन्त्रीसँग भेट गराइदिन आग्रह गर्नुभयो । तर बस्नेतबाट पनि प्रधानमन्त्रीसँग भेट गर्ने महतोको इच्छा पूरा हुन नसकेपछि जसपाभित्र राजेन्द्र महतोको हैसियतलाई लिएर हँसिमजाक हुन थालेको छ ।

ज्ञातव्य छ, ६ महिनाअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई सत्ताको साझेदार बन्न प्रस्ताव गर्नुभएको थियो । त्यसबेला राजपालाई सरकारमा सहभागी हुनबाट रोकाउने काम यिनै महतोबाट भएको थियो । त्यसबेला महतो सरकारविरुद्धको षडयन्त्रमा सक्रिय ढङ्गले सहभागी नभएको भए सत्ता–राजनीतिमा नयाँ मोड आउने निश्चित थियो । महतोले गरेको षडयन्त्रबारे सम्पूर्ण जानकारी भएकोले नै अहिले प्रधानमन्त्री केपी शर्मा ओली उहाँसँग भेट गर्न उत्साही नभएको बुझिएको छ ।

यसरी राजेन्द्र महतोमार्फत सरकारसँगको सम्बन्ध सहज बनाउने कार्य सम्भव नभए पनि जसपका सबैजसो प्रमुख नेताहरू केपी ओलीप्रति सकारात्मक बनेको बताइन्छ । बाबुराम भट्टराईबाहेक सबै प्रमुख नेताहरू ओलीसँग सम्बन्ध सुधार गर्दै सरकारमा सहभागिताको वातावरण बनाउने मानसिकतामा रहेको जानकारी प्राप्त भएको छ । जसपाभित्र अधिक चलखेल गर्ने र सधैं आत्मकेन्द्रित भूमिका निर्वाह गर्ने भन्ने छवि बनाउनुभएका राजेन्द्र महतोले प्रधानमन्त्री र भारतसँगको आफ्नो सम्बन्ध देखाएर हालसम्म पार्टीमा बेग्लै स्थान बनाउँदै आउनुभएको थियो । प्रधानमन्त्री केपी ओलीले झैँ भारतीय पक्षले पनि राजेन्द्रलाई महत्व नदिने हो भने पार्टीमा उहाँको हैसियत र प्रभाव नराम्रोसँग खस्किने देखिएको छ ।