मक्किएको नेतृत्व र अवसानको मार्ग

मक्किएको नेतृत्व र अवसानको मार्ग


मिलापको छनक नमिल्दै फुटको सङ्घारमा पुगिसकेको सत्तारुढ नेकपा तत्कालका लागि विभाजित हुनुबाट जोगिएको प्रचार गरिँदै छ । विचार, सिद्धान्त वा पार्टीगत चरित्रको विहङ्गम फरकपनलाई पूरै नजरअन्दाज गर्दै जबर्जस्ती एकाकारको प्रयत्न गरिनुको पीडा करिव तीन वर्ष सत्तासीन दलले राम्रैसँग महसुस गऱ्यो । दुई नितान्त फरक शैली–स्वभावयुक्त दलका नेतृत्व तह एवम् तिनका कार्यकर्ता मन–व्यवहारले एक मार्ग र एक यात्रामा अघि बढ्ने छन् भन्नेमा पर्याप्त आशङ्का यथावत छँदै छ, तथापि ‘भागबण्डा’को निकृष्ट छिनाझपटीमा हासिल भएको कथित सहमतिले दुई चिरामा विभक्त हुनुबाट हालका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौँ–रौँ बचेको छ ।

सत्तारुढ दलको शासकीय भद्दा प्रस्तुति यसरी चल्दै गर्दा प्रमुख विपक्षी नेपाली काङ्ग्रेसको ‘सदाबहार’ आन्तरिक खिचातानी पनि उत्तिकै चर्चामा रहेको छ । अत्यन्त दयनीय ढङ्गको प्रतिपक्षीय भूमिका दर्शाएकोले मात्र नभइ सङ्घारमा आइसकेको १४औँ महाधिवेशन टार्नका निम्ति मूल नेतृत्व तहबाट भए–गरेका चलखेलका कारण सो दलप्रतिको चासो र चर्चा यतिबेला चुलिन पुगेको हो ।

अवस्था सहज हुँदा कानमा तेल हालेर बस्ने ‘काङ्ग्रेसी आदत’ हो । परिस्थिति बिग्रिएपछि त्यसैलाई देखाएर तर्किने र पानीमाथिको ओभानो देखिन खोज्ने उसको चरित्र नै हो । यस्तो टीका–टिप्पणी कुनै विपक्षी–विरोधिले नभइ नेपाली काङ्ग्रेसभित्रैबाट भइरहेको सुनिन्छ । पार्टी–महाधिवेशन छल्ने चलखेल नेतृत्व तहबाटै हुन थालेको वर्तमान परिवेशमा असन्तुष्टिका यस्ता आवाज थप मुखर हुन थालेको छ ।

काङ्ग्रेसजनहरू पार्टीको १४औँ महाधिवेशन टर्दै गएको भन्दै यतिबेला चिन्ता प्रकट गरिरहेका छन् । तर ‘टर्दै गएको’ ठानिएको महाधिवेशन टरिसकेको हेक्का राखिरहेका छैनन् । अब पनि आगामी फागुनमै महाधिवेशन हुन्छ भनी ठान्नु काङ्ग्रेसको चालढाललाई नबुझ्नु मात्र हो ।

काङ्ग्रेसको नेतृत्वलाई निकम्मा सावित गर्ने यावत सन्दर्भहरू खात लागेका छन् । सामान्य अवस्थामा ‘के बिग्रेको छ र !’ भन्दै मग्न बसिदियो काङ्ग्रेस नेतृत्व । गर्नुपर्ने जति पनि काम–कदम थिए या छन्, तिनको निप्टारा लगाउने भनेकै सहजावस्थामा हो भन्ने मनन गर्नै खोजिएन । अप्ठ्यारो परिस्थितिमा त नेतृत्वले आफ्नो विशेष क्षमताको थप परिचय दिने हो, सङ्कट पार लगाएर ! तर, सहजमा सञ्चो मान्ने अनि असहजतामा त्यसैलाई बहाना बनाएर हात बाँधी आफूलाई अकन्टक ठान्ने भ्रामक मानसिकतामै अल्झिरह्यो काङ्ग्रेस नेतृत्व ।

काङ्ग्रेसजनहरू पार्टीको १४औँ महाधिवेशन टर्दै गएको भन्दै यतिबेला चिन्ता प्रकट गरिरहेका छन् । तर ‘टर्दै गएको’ ठानिएको महाधिवेशन टरिसकेको हेक्का राखिरहेका छैनन् । अब पनि आगामी फागुनमै महाधिवेशन हुन्छ भनी ठान्नु काङ्ग्रेसको चालढाललाई नबुझ्नु मात्र हो । समय–परिस्थितिले मात्र होइन शीर्ष तहका नेताहरूको बोली र व्यवहारले पनि महाधिवेशन फागुनमा किमार्थ हुन नसक्ने सङ्केत दिइसकेको छ । बरु १३औँ महाधिवेशनपछि निरर्थक गुजारिएको आजसम्मको अवधिबाट शिक्षा लिँदै संविधानले प्रदान गर्ने थप ६ महिना (आगामी वर्षको भदौसम्म) को अवधिमा पनि महाधिवेशनको तयारी वर्तमान नेतृत्वले गर्न सक्ने हो कि होइन भन्ने सवालमा मन्थन आरम्भ गर्न नै ढिलो भइसकेको छ । ०७८ को भदौमा पनि महाधिवेशन आयोजना गर्न नसक्दा पार्टीको वैधानिकतामाथि नै आइपर्ने सङ्कटको तारणहार को–कसरी हुन सक्ला ? कम्तिमा आजका दिनसम्म यो सुल्झनै नसक्ने प्रश्नको रूपमा ठडिएको छ ।

विधि–नीतिको खडेरी त काङ्ग्रेसमा उहिल्यैदेखि परेको हो । निश्चित सिद्धान्त, आदर्श, विधि, नीति, कार्यक्रम तथा वैचारिक बहस अवलम्बन गरिएको भए गुटले मात्र काङ्ग्रेसलाई यति कमजोर र निरीह तुल्याउन अवश्यै सक्ने थिएन । व्यक्तिवादी सोच र प्रवृत्ति हाबी भएको र झुण्ड–झुण्डमा विभक्त स्वार्थी समूहले त्यसैलाई पृष्ठपोषण गरिदिँदा आज काङ्ग्रेस यस्तो निम्छरो र जर्जर बन्न पुगेकोमा तर्कवितर्क गरिरहनै पर्दैन ।

कोभिड–१९ महामारीले सिर्जना गरेको प्रतिकुलता त पछिल्लो एक ‘जबर्जस्त’ बहाना मात्र हो, महामारी निम्तनुभन्दा निकै अघिदेखि नै महाधिवेशनमाथि झेली खेल खेल्ने प्रपञ्चको तानाबाना बुनिसकिएको थियो । कार्यकाल समाप्तिको सङ्घारमा आएर फटाफट विभागहरू गठन गरिनुको तुक के ? यो प्रश्नलाई दर्बिलोसँग उठाएर नेतृत्वलाई जवाफदेही तुल्याउन सक्ने ह्याउ मै हुँ भन्ने कुनै गुटका नेतामा पनि देखिएन । काङ्ग्रेस निकम्मा नेता–कार्यकर्ताको मक्किएको गोलो मात्र रहेको सन्देश यत्तिकै प्रवाहित हुन पुगेको छ ।

विधि–नीतिको खडेरी त काङ्ग्रेसमा उहिल्यैदेखि परेको हो । निश्चित सिद्धान्त, आदर्श, विधि, नीति, कार्यक्रम तथा वैचारिक बहस अवलम्बन गरिएको भए गुटले मात्र काङ्ग्रेसलाई यति कमजोर र निरीह तुल्याउन अवश्यै सक्ने थिएन । व्यक्तिवादी सोच र प्रवृत्ति हाबी भएको र झुण्ड–झुण्डमा विभक्त स्वार्थी समूहले त्यसैलाई पृष्ठपोषण गरिदिँदा आज काङ्ग्रेस यस्तो निम्छरो र जर्जर बन्न पुगेकोमा तर्कवितर्क गरिरहनै पर्दैन । शासकीय सत्तामा रहेको दलले मनपरी गरिरहँदा त्यसैविरुद्धको जगमा उभिएर काङ्ग्रेसले आफूलाई पुनः तिखार्न र सबल रूपमा उभ्याउन सक्नुपर्थ्यो । यस्तो सुवर्ण अवसर त उसले चुत्थैमा गुमाइसकेको छ ।

बीपी जस्ता युगीन एवम् दूरदर्शी नेताले जग बसाएको दलको यो हविगतले सच्चा प्रजातन्त्रप्रेमी तथा राष्ट्रभक्त नेपालीको हृदय छियाछिया पारिदिएको सर्वत्र महसुस गरिएको छ । वर्तमान काङ्ग्रेस नेतृत्वले तत्काल महाधिवेशनको नयाँ कार्यतालिका बनाएर महाधिवेशनको प्रक्रिया इमानदारीपूर्वक अघि बढाउन सके ध्वङ्श हुन लागेको आफ्नो ऐतिहासिक छवि थोरबहुत जोेगिन सक्ने आशा गर्न सकिन्छ ।