बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने पाकिस्तानी प्रधानमन्त्रीको धारणा

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने पाकिस्तानी प्रधानमन्त्रीको धारणा


पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने अभिव्यक्ति दिएका छन् । अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री खानले यस्तो धारणा राखेका एएनआईले जनाएको छ ।

बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्दै खानले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्ने र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्ने बताए ।

पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक बलात्कृत भएकी थिइन् । त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिएका हुन् ।

गत हप्ता पञ्जाव प्रान्तको लाहोर शहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमा समेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो । उनका गरगहना पनि लुटिएको थियो । यस घटनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन् ।

महिलामाथिका यस्ता हिंसाको अन्त्य गर्दै बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रदर्शनहरु भएका हुन् । त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।