बेलायतबाट बनेको ‘शून्य’मा प्रवासी नेपालीको पीडा

बेलायतबाट बनेको ‘शून्य’मा प्रवासी नेपालीको पीडा


■ राजन घिमिरे

प्रवासमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रलाई निरन्तरता दिँदै आएका कलाकर्मीहरूमध्ये ध्रुव दत्त पनि एक हुन् । आफ्नो यही पहिचानलाई निरन्तरता दिँदै बेलायतमा रहँदै आएका अभिनेता दत्तको एकल अभिनय रहेको सर्ट मुभी सार्वजनिक भएको छ ।

लामो समयदेखि बेलायत रहँदै आएका पुराना चलचित्रकर्मी तथा फिल्म डाइरेक्टर सनम वैरागको निर्देशनमा निर्माण भएको ‘शून्य’ सोमबार बिहान युट्युबमार्फत रिलिज गरिएको हो । करिव १० मिनेट लामो ‘शून्य’मा अभिनेता दत्तको एकल अभिनय हेर्न पाइन्छ ।

कोभिड–१९ महामारीले निम्त्याएको सङ्कटपूर्ण अवस्थालाई यो छोटो चलचित्रत्रले निकै मार्मिक र भावनात्मक रूपले चित्रण गरेको छ । उक्त शर्ट फिल्म कोभिड–१९ कै वरिपरि घुमेको छ । प्रवासी जीवन बिताउने क्रममा आफ्नो जन्मभूमि फर्कन नसकी मनमा उत्पन्न पीडा–वेदनालाई शून्यले गहिराइसम्म पुगेर चरितार्थ गरेको छ । शून्यमा दर्शाइएको कथा यथार्थमा धेरै प्रवासी नेपालीमाथि पनि घट्न या घटिरहेको हुन सक्छ । देशबाहिर बस्नेले आफन्त गुमाउनुपर्दाको पीडा देखाउन खोज्नु शून्यको अर्को सवल पक्ष हो ।

भिजन संसारको प्रस्तुतिका रुपमा रिलिज गरिएको ‘शून्य’ मा डीडी इन्टरटेनमेन्टको साथ छ । जसमा कृष्णबहादुर लाम्गादेको निर्माण, गोपी सापकोटाको कथा र शन्तकुमार राईको छायाङ्कन छ । यो लघु चलचित्रको सब–टाइटल ज्ञानेन्द्र रावतले गरेका छन् भने स्वराङ्कन शशी थापा सुब्बा, सुस्मिता थापा, अभिमन्यू बैराग र सनम बैरागले गरेका छन् ।

‘शून्य’लाई भिजन संसार प्लसको युट्युब च्यानलमा हेर्न सकिने जानकारी दिइएको छ ।