बीपीलाई वर्षमा एक दिन सम्झिने कि उहाँले देखाएको बाटोमा हिँड्ने ?

बीपीलाई वर्षमा एक दिन सम्झिने कि उहाँले देखाएको बाटोमा हिँड्ने ?


■ जय सापकोटा, पोर्चुगल

नेपाली काङ्ग्रेस पार्टीको १४औँ महाधिवेशनको चर्चा र रस्साकस्सी कोरोना महामारीको सङ्क्रमण सँगसँगै तातिरहेको छ । गाउँदेखि केन्द्रसम्म महाधिवेशनको रौनकले आम कार्यकर्ता र नेताहरूमा उत्साह देखिएको छ । कोरोना महामारीको सङ्क्रमणका कारण पार्टीको १४औँ महाधिवेशन तोकिएको समयमा हुने–नहुने अनिश्चितता पनि उत्तिकै बढ्दै गैरहेको छ । केही समय पछाडि पुनः समय तोकेरै भए पनि महाधिवेशन गर्न सकिएन भने पार्टीको वैधानिकतामाथि नै प्रश्न खडा हुनेछ ।

देश सङ्घीयतामा प्रवेश गरेसँगै यसका स्थानीय निकाय, प्रदेश संरचना र केन्द्र सरकारको चुनाव भइसक्दा समेत कतिपय जिल्लाहरूमा पार्टीले आफ्ना सङ्घीय निकायहरूमा संरचनाहरूको टुङ्गो लगाउन सकिरहेको छैन । विधानले तोकेको चार वर्षको समय सकिएर थपिएको मिति गुज्रिनै लाग्दाका अवस्थामा पार्टी, यसका भातृसङ्गठन र विभागहरूको गठन प्रकियालाई संयोजन, क्रियाशील सदस्यताको जटिलतापश्चात प्रतिनिधि छनौट जस्ता कामहरू सम्पन्नपश्चात् हुने १४औँ महाधिवेशनलाई बढि विशेष र महत्वका साथ हेरिएको छ ।

विगतदेखिका केही कमी–कमजोरीलाई यो पटक सुधारेर लैजानुपर्ने आवश्यकता छ भने अर्कोतर्फ पटक–पटक दोहोरिएर आउने नेता, नेतृत्वहरूले नयाँ जोश जँगर र क्षमतावान युवाहरूलाई पनि अवसर प्रदान गर्ने परिपार्टीको ब्यवस्थापन गर्नुपर्ने छ । अबको राजनीतिमा परम्परागत रूपमा रहेको जडसुत्रवादी संस्कार र संस्कृतिमा परिवर्तन गर्न युवाहरूकै अहम भूमिका जरूरी छ ।

यसै सन्दर्भमा नेपाललाई राजनीतिक, वैचारिक र सामाजिक आन्दोलनको माध्यमबाट जहानियाँ राणा शासन, निर्दलीय पञ्चायतकालीन सरकारलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको पाठ सिकाउँदै जनताको हक तथा अधिकारको ग्यारेन्टी लागि निःस्वार्थ भावले अहिंसात्मक आन्दोलनको उद्घोष गर्ने महामानव, नेपालमा प्रजातान्त्रिक समाजवादका प्रणेता, जननिर्वाचित प्रथम प्रधानमन्त्री, नेपाली काङ्ग्रेसका संस्थापक नेता, नेपाली साहित्य फाँटका आख्यानकार, जननायक बीपी कोइरालाको १०७औँ जन्मजयन्ती विभिन्न माध्यमबाट मनाउने क्रममा नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालयबाट तीन दिनसम्म जुम भच्र्युअल विधिमार्फत बीपी कोइरालाका विभिन्न आयामहरूका बारे चर्चा–परिचर्चा गरि मनाइयो ।

यता प्रवासमा रहेका नेपालीहरूले नेपाली काङ्ग्रेसको भातृसंस्था जनसम्पर्क समितिहरूले पनि स–सानो समूहमा सहभागिता हुने ब्यवस्था मिलाई बीपीलाई सम्झने काम गरे, गरिरहेका छन् । स्वर्गीय बीपी कोइरालाको जन्मजयन्ती, स्मृति दिवस र मेलमिलाप दिवसलाई जुन महत्व र अर्थपूर्ण हिसाबले उहाँका बहुआयामिक विषयहरूमाथि चर्चा गर्दै मनाउनुपर्ने हो त्यो हुन सकिरहेको छैन । हुनसक्ला यतिबेला समय–परिवेश अनुकुल रहेन ! परिस्थिति ठिक नभएको भनिए तापनि विगत वर्षका कतिपय सन्दर्भहरू हेर्दा पनि लाग्दछ– देखावटी र सस्तो लोकप्रियताका लागि कार्यक्रमहरू गर्ने गरिएको छ । बीपीको जीवन र राजनीतिक सङ्घर्षको कथा ऐतिहासिक दर्शन शास्त्र र साहित्य क्षेत्रमा समेत उत्तिकै अविस्मरणीय छ । बहुजातीय, बहुसंस्कृति विविधता रहेको नेपाली समुदायको बस्तुगत यथार्थलाई विचित्र ढङ्गबाट सिद्धान्तमुखी आलोकको रूपमा ब्याख्या गर्दै सामाजिक ब्यवहारलाई नीतिगत शैलीमा आवद्ध गरी सुखी जनता र समृद्ध नेपालको सपना कोरेर समाजवादी आन्दोलनको सुरूवात गर्न सफल ब्यक्तित्व बीपी कोइरालाको अविस्मरणीय कौशलता हो ।

बीपीले गाउँघरका दुखी गरिव किसान मजदूरहरूको चित्रलाई देश निर्माणको योजनामा मुख्य सूचकको रूपमा प्रस्तुत गर्दै सामाजिक, आर्थिक र राजनीतिक आधार नै सफल समाजवाद हो भन्ने निष्कर्षसँग देशको सार्वभौमिकता, स्वतन्त्रता, स्वभिमान रक्षासहितको सबल लोकतान्त्रिक ब्यवस्थाको परिकल्पना गर्नुभएको हो । बीपी कोइरालाको दूरदर्शिता, आत्मबल, योग्यता, राजनीतिक कौशलता, साहित्य विधाप्रतिको रूची र इमान्दारिता नेपाली राजनीतिमा एउटा अनुपम उदाहरण बन्न सकेको छ, जसको अमिट महत्व विश्व शीतयुद्धकालीन समयताकाका अमेरिकन र सोभियत रूसका शासकहरूको लागि समेत सम्झनायोग्य रह्यो ।

बीपीलाई एक सरल स्वभावका सामान्य ब्यक्तिको रूपमा चिन्नेहरूका लागि बुझ्न जति सजिलो छ तर उहाँको राजनीतिक दर्शन र साहित्यभित्रको अभिरुचिलाई अध्ययन गर्न कैयौँ समय लाग्न सक्छ । २०१५ सालमा नेपाली काङ्ग्रेस पार्टीको बहुमतको सरकारका प्रथम जननिर्वाचत प्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक आयाम एसियन मुलुकहरूमा मात्र होइन मध्यपूर्व र दोस्रो उदीयमान शक्तिसम्पन्न दुई मुलुक भारत र चीनका बीचको सम्बन्धबाट नेपाल र नेपालीका लागि स्वतन्त्र राष्ट्र र तटस्थ परराष्ट्रनीतिको नारालाई विश्वसामु झल्काउने काम १९६० नोभेम्बर १९ मा महाराष्ट्रहरूको सभालाई सम्बोधन गर्दै संयुक्त राष्ट्र संघमा आवद्धता नभएका मुलुकहरूको कुटनीतिक र राजनीतिक शक्तिहरूलाई पनि कहीँ न कहीँ सम्बोधन गर्नुपर्ने र चीन जस्ता दोस्रो नयाँ शक्तिको उपस्थितिबिना राष्ट्रसंघको महत्व कम हुने कुरा राख्दै सानो देशको ठूलो नेताको दीर्घकालीन सोचले पनि शक्तिसम्पन्न देशहरूलाई सवक सिकाउने भाषण गरेर नेपाललाई चिनाउने काम भएको थियो ।

बीपीले आफ्नो सक्रिय जीवनकालमा अमेरिकाको council of state ministers ले आयोजना गरेको दिवा भोजमा सहभागीहरूसँगको कुराकानीका सिलसिलामा भन्नुभएको केही शब्दलाई पङ्क्तिकार यहाँ उल्लेख गर्न चाहन्छ । उहाँको भनाइ थियो– ‘सार्कमा सहभागी साना राष्ट्रहरूको ‘भौतिक शक्ति’ नगण्य हुन सक्छ तर उनीहरूको ‘नैतिक शक्ति’ बलियो छ । हामी आफैंप्रति इमानदार भयौँ भने र जसका लागि बोल्दैछौँ उनीहरूप्रति इमानदार रह्यौँ भने हाम्रो शक्ति ठूलो हुनेछ ।’ पछि स्वयम् बीपीको आग्रहमा चीन र सोभियत रूसको राजदूतावास काठमाडौंमा राख्ने सहमति गरियो । इजरायल र बर्मासँग पनि कुटनीतिक दौत्य सम्बन्ध कायम गर्दै सक्दो सहयोग नेपाल भित्र्याए । त्यस्तै चीन गएको बेला उहाँले बर्माको दुई दिने भ्रमण गरी भने हङकङ, कङ्गो र अल्जेरिया, कोरिया जस्ता मुलुकहरूसँगको सम्बन्धलाई पनि सुमधुर बनाउन ती देशका प्रमुखहरूलाई नेपालको महत्व दर्शाउनुभयो, जसले गर्दा हङकङमा नेपालीहरूको सहज आवतजावत र कोरियामा नेपाली उत्पादन एमम् खाद्यान्नको पैठारी हुन थालेको थियो ।

बीपी कोइराला वास्तबमै नेपाल र नेपालीको लागि एउटा विकासका प्रणेता रहनुभएको थियो । उहाँको कार्यकालमा विभिन्न देशहरूसँग भातृत्वको सम्बन्धदेखि तटस्थ अंसलग्न परराष्ट्र नीतिबाट विश्वसमुदायलाई नेपालको पहिचान गराउने काम भयो । उहाँ एक सफल दार्शनिक साहित्यिक राजनेता पनि मानिनुहुन्छ । जहरलाल नेहरूसँगै असंलग्न राष्ट्रहरूको महासभामा एशियन नेताको हैसियतले समग्र सार्क देशहरूको चाहना र एकताको पनि राष्ट्रसंघमा महत्व रहने छ भनेर प्रष्ट रूपमा कुरा राख्न सक्ने साहसी नेता हुनुहुन्थ्यो बीपी कोइराला । नेपालको विकास, शिक्षा, स्वास्थ्य र सडक निर्माणमा सक्दो सहयोगको शुरूवात त्यसै समयदेखि सुरू गराएर भारतको राजधानी दिल्लीले नेपाललाई हेर्ने एकद्वार नीतिमा परिवर्तन गराउन चीन र रूसको सम्बन्ध र सहयोगलाई पनि उत्तिकै महत्वका साथ निर्णय गराउन सफल हुनुभएको थियो उहाँ ।

नेपाल देश सानो भए पनि नेपाली जनता विकास र शान्ति चाहन्छन्, तर स्वतन्त्र र सार्वभौमिक मुलुकका हिसाबले सबैको सहयोगलाई सन्तुलित रूपमा देश र जनताको हितमा प्रयोग गर्ने नीतिअनुरूप ग्रहण गर्नेछन् भन्ने बीपीको समाजवादी सिद्धान्त थियो, जो आजको राजनीतिक परिस्थितिमा झन् सान्दर्भिक देखिएको छ । त्यसैले पनि उहाँको त्यो समाजवादी चिन्तन र सोचको गहिरो अध्ययन परिमार्जन र परिष्कृत रूपमा ब्यवहारिक बनाउँदै लैजानुपर्ने र विभिन्न राष्ट्रहरूसँग विकास गरिएका दौत्य र कुटनीतिक सम्बन्धमा देखिएको दरारलाई पुनर्जागृत गर्न सक्ने नेतृत्व र क्षमतावान ब्यक्ति र राजनीतिक पार्टीको आवश्यकता महसुस गर्न थालिएको छ ।

आज आएर तत्कालीन सोभियत संघ, चीन, भारत, इजरायल, कोरियन राष्ट्र र पश्चिमा देशहरूले नेपालमाथि हेर्ने परराष्ट्र नीति र सहयोगमा आ–आफ्ना चाहनाहरूले काम गर्न थालेका छन् जसका कारण नेपालको सार्वभौमिकता, अखण्डता र स्वाधीनतामाथि प्रहार हुन थालेको छ । राजनीतिक, आर्थिक र भौगोलिक नितिहरूमा दबाबमूलक ब्यवहारहरू हुन थालेका छन्, जसका लागि वर्तमान नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड बहुमतसहितको सरकार गम्भीर हुन सकेको छैन । उल्टै पश्चिमी र दक्षिणी सीमामा रहेका राष्ट्रहरूसँग असमान ब्यवहार गरिरहेको छ । यस्तो असमान नीति र ब्यवहारले नेपाल जस्तो सानो र अविकसित गरिब मुलुकको सार्वभौमिकतामाथि प्रहार हुने खतरा बढिरहेको छ ।

यसर्थ पनि बीपी कोइरालाले देखाउनुभएको या उहाँद्वारा सुरूवात भएको समान ब्यवहार र तटस्थ परराष्ट्र नीतिको अवलम्बन गर्ने राजनीतिक चिन्तन र विचारको परिपूर्ति अबको पुस्ताबाट पूरा हुन सक्ला ? यो नै आज बीपीले देखाएको राजनीतिक बाटो र त्यसको दीर्घकालीन प्रभाव देश एमव् जनताका लागि दर्शन बन्न सक्नेछ । यही नै बीपीको सही राजनीतिक विचार, चिन्तन र मार्गदर्शन हुनेछ र उहाँको जन्मजयन्ती र स्मृति दिवस मनाउनुको सार्थकता अनि उहाँप्रतिको सच्चा सम्मान हुनेछ । जय नेपाल ।