‘ट्रम्प-हराउ’ अभियानमा लागेका ब्लुमबर्गले बाइडेनको चुनावी प्रचारका लागि दिए १० करोड डलर चन्दा

न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् । यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने बताइएको छ ।

आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरु राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्बेक्षणहरुले देखाएका छन् । अझ ‘ब्याटलग्राउन्ड’ राज्यका रुपमा चिनिने फ्लोरिडामा दुवै उम्मेदवारबीच मतान्तर अति झिनो छ ।

अमेरिकामै सबैभन्दा ठूलो राज्यका रुपमा रहेको फ्लोरिडामा विजयी हुन दुबै उम्मेदवारले विशेष ध्यान दिएका छन् । दोस्रो कार्यकालको खोजीमा रहेका राष्ट्रपति ट्रम्पलाई फ्लोरिडामा विजयी हुनैपर्ने चुनौती छ ।

अमेरिकी चुनावमा राष्ट्रपतिमा विजयी हुन २७० निर्वाचन मण्डल प्राप्त गर्नुपर्ने हुन्छ । रिपब्लिकन पार्टीका नेताहरु फ्लोरिडामा विजयी हुनेमा विश्वस्त देखिएका छन् । सन् २०१८ मा सम्पन्न सिनेट चुनावमा पनि यहाँ रिपब्लीकन उम्मेदवार विजयी भएका थिए ।

रिपब्लिकन पार्टीले फ्लोरिडाका ल्याटिनो मतदातालाई आकर्षित गर्न करोडौँ रकम खर्चिएको छ । पछिल्ला मतसर्भेक्षणले पनि ल्याटिनो समुदायको मत ट्रम्पतर्फ झुकेको देखाएका छन् । यहाँ डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन पछि पर्न थालेका देखिएको छ ।

अमेरिकी अर्बपति ब्लूमबर्गले गत वर्ष आफैं डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने भन्दै चुनावी अभियान पनि थालेका थिए । उनले चुनावमा करिव एक अर्ब डलर खर्चिएका थिए, तर पर्याप्त जनसमर्थन नपाएपछि बाइडेनलाई समर्थन गर्दै उनले चुनावी प्रतिस्पर्धा त्यागेका हुन् ।



ब्लूमबर्गले यसअघि पनि ट्रम्पलाई पराजित गर्न भन्दै डेमोक्रेटिक पार्टीका लागि करोडौं डलर खर्च गरिसकेकाा छन् । उनले आफ्नो चुनावी कार्यक्रमबाट बचेको करिब १ करोड ८० लाख डलर यसअघि नै डेमोक्रेटिक राष्ट्रिय समितिलाई हस्तान्तरण गरिसकेका छन् ।

प्रतिक्रिया