सूचनाकर्मी/अभियन्ता अधिकारी बेलायतमा सम्मानित

सूचनाकर्मी/अभियन्ता अधिकारी बेलायतमा सम्मानित


बेलायतमा एनआरएनए अभियन्ता तथा पत्रकार विनय अधिकारी एक समारोहका बीच सम्मानित भएका छन् ।

जनसम्पर्क समिति बेलायतले शनिबार आयोजना गरेको १०७औँ बीपी जयन्तीको अवसरमा अधिकारीलाई सम्मान गरिएको हो । सूचना, परोपकार र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुऱ्याएबापत उनलाई जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले खादा ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा मन्तब्य दिँदै सभापति गुरुङले कोभिड–१९ मा जनसम्पर्क समितिलाई महत्वपूर्ण सहयोग गरेको र विश्वभरि चिनाउने कार्य गर्नुको साथै चेपाङ समुदायमा राहत वितरणमा महत्वपूर्ण योगदान गरिएकोमा अधिकारीको उच्च प्रशंसा गरे । साथै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले पनि सञ्चारकर्मी अधिकारीको समाजसेवाबाट प्रेरणा लिनुपर्ने धारणा राखेका थिए ।

अधिकारीले नेपालको चितवन जिल्लास्थित इच्छा कामना गाउँपालिकाको वडा नम्बर २, ४ र ५ का चेपाङ समुदायमा पुगेर राहत वितरण गर्न सफल भएका थिए । पाँच हजार पाँच सय भन्दा बढी जनसंख्या रहेको चेपाङ बस्तीमा कोभिड १९ का कारण समस्यामा परेको चेपाङ समुदायलाई जनसम्पर्क समिति बेलायतबाट संकलन गरी पठाएको रकम वितरण गर्दै महत्वपूर्ण योगदान पुऱ्याएका थिए ।

त्यस्तै उनले विश्वभरि रहेको जनसम्पर्क समितिलाई मिडियासँग जोड्ने तथा प्रचारप्रसार गर्ने कार्यमा पनि महत्वपूर्ण योगदान पुऱ्याउँदै आएका बताइएको छ ।