टोकियो ओलम्पिक निर्धारित समयमै हुने दाबी

टोकियो ओलम्पिक निर्धारित समयमै हुने दाबी


कोरोना भाइरसका सन्त्रासका कारण स्थगित भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता आगामी वर्ष सन् २०२१ मा तोकिएको समयमै हुने भएको छ । जपानका ओलम्पिक मन्त्री सेको हाशिमोतोले यसबारे जानकारी गराएका हुन् ।

मन्त्री हाशिमोतोले अर्को वर्ष जस्तोसुकै विषम परिस्थितिमा पनि टोकियो ओलम्पिकको आयोजना हुने दाबी गरेका छन् ।

टोकियो ओलम्पिक बारेमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हाशिमोतोले ओलम्पिक खेलसँग आवद्ध सम्पूर्ण संघसंस्था ओलम्पिक तयारीको लागि एक साथ मिलेर कार्य गरिरहेको बताए । त्यस्तै, यस्तो विषम परिस्थितिका बाबजुद खेलाडीहरू आउँदो वर्ष आयोजना हुने ओलम्पिकको तयारीको लागि जुटिसकेको हाशिमोतोले खुलासा गरेका छन् ।

ओलम्पिक मन्त्री हासिमोतोले कुनै पनि हालतमा टोकियो ओलम्पिकको आयोजना गर्नुपर्ने तर्क गरे । साथै कोरोना भाइरसको नियन्त्रण र जोखिमको विरुद्धमा आफ्नो ध्यान केन्द्रीत रहेको पनि उनले बताए । ओलम्पिक मन्त्रीको यो बयान अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निर्णयपछि आएको हो ।

गत साता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष जोन कोट्सले टोकियो ओलम्पिक आउँदो वर्ष तोकिएकै समयमा हुने बताएका थिए । उपाध्यक्ष कोट्सले आगामी वर्ष कोरोना भाइरसको महामारी रहे पनि या नरहे पनि टोकियो ओलम्पिक निर्धारित समयमा हुने जानकारी गराएका थिए ।

टोकियो ओलम्पिकको आयोजना सन् २०२० को जुलाई र अगस्तमा हुने कार्यक्रम तय थियो । तर विश्वभरि कोरोना भाई्रसको महामारीका कारण टोकियो ओलम्पिक स्थगित गरिएको थियो । त्यसपछि आइओसीले सन् २०२१ को २३ जुलाईदेखि ओलम्पिक प्रतियोगिताको आयोजना हुने बताएको थियो ।