सामाजिक सद्भाव बिगार्ने उद्देश्यले अमानविय घटना गराइएको आरोप

सामाजिक सद्भाव बिगार्ने उद्देश्यले अमानविय घटना गराइएको आरोप


जनकपुरधाम उपमहानगरपालिका वडा नं २० देवपुरा-रुपैठामा दाहाको तस्बिर फेसबुकमा राखी टिप्पणी गरेको निहुँमा स्थानीय हिन्दूमाथि सांघातिक आक्रमण गरिएको घटनाप्रति विश्व हिन्दू परिषद नेपाल जिल्ला कार्यसमिति धनुषाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै परिषदले सामाजिक सद्भाव बिगार्ने उद्देश्यले कट्टर जिहादी मानसिकता भएका तत्वद्वारा घटाइएको उक्त अमानवीय घटनाको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा निन्दा गर्दछ भन्दै घटनामा संलग्न दोषीलाई यथाशीघ्र सार्वजनिक गरी कारवाही गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरेको छ ।

प्रदेश नं. २ मा लगातार हिन्दू समाजमाथि आक्रमण गरिनु प्रायोजित एवं सुनियोजित रहेको स्पष्ट देखिएको परिषदले ठहर गरेको छ । बहुसंख्यक हिन्दूहरू नै असुरक्षित महसुस गर्नु एकदमै गम्भीर विषय भएको र कट्टर जिहादी मानसिकता भएका अपराधी समुहहरु हिन्दू समुदायविरुद्ध सक्रिय रहेको तथ्य पछिल्लो घटनाक्रमले स्पष्ट भएको जनाइएको छ ।

सरकारले हिन्दूविरोधी तत्वहरुलाई समयमै नियन्त्रण गर्न नसक्नुले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्नचिन्ह खडा गरेको आरोप लगाउँदै परिषदले सरकारको यस्तै रवैया रह्यो भने हिन्दू समाजमा कायम असुरक्षित वातावरणले विकराल रूप लिने निश्चित भएको र तत्पश्चात सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको मौलिक धर्म संस्कृतिविरुद्ध चौतर्फी आक्रमण भइरहेको वर्तमान परिस्थितिमा हिन्दू समाज संगठित हुनुको विकल्प छैन । हामी समयमै सावधान भएनौ भने परिस्थिति झन् प्रतिकुल हुने निश्चित छ । समाजिक सौहार्द कायम राख्दै हाम्रा विच सक्रिय रहेका असामाजिक हिन्दूविरोधी तत्वहरुको समयमै पहिचान गरी पर्दाफाश गर्नुहुन सम्पुर्ण सनातन हिन्दू धर्मावलम्बीहरूलाई हार्दिक अपिल गर्दछौँ ।’