थप जीवको अस्तित्व रहेको खुलासा !

थप जीवको अस्तित्व रहेको खुलासा !


■ देवप्रकाश त्रिपाठी

धेरै दिनपछि आज उनीहरू दुवै बिहान चाँडै घरबाट निस्किएका थिए, दुवैले आफूसँग भएका आवश्यक सामान बोकेका थिए ।

अलिक टाढाको यात्रा छिचोल्नु थियो । घरदेखि पश्चिमतिर द्रुत गतिमा पाइला अघि बढाए उनीहरूले । चौर, झाडी र जङ्गल हुँदै अघि बढ्दा कैयन किलोमिटरको दूरी पार गरेपछि एउटा नदी देखा पऱ्योे । नदी ठूलो थियो । उनीहरू किनारमा पुगे, साँझ पर्न लागिसकेको थियो, साथमा भएका केही खानेकुराहरू खाए । स्याउलाको ओछ्यान बनाएर नदी किनारमै सुते । दिनभरिको थकाइ थियो, निदाउन पलभर पनि लागेन ।

नदी किनारमा चलेको चिसो हावाले निराकारलाई ब्युँझायो । उनी ब्युँझँदा पूर्वको आकाश रातो भइसकेको थियो । नित्यकर्म सकेपछि अभ्यस्तलाई पनि ब्युँझाइन् उनले । उठ्नेबित्तिकै ऊ कतै गयो र केहीबेरपछि हातमुख धुन नदीछेउको एक ढुङ्गामाथि बस्यो । निराकार पनि उसको नजिकै गइन् । अभ्यस्तले अञ्जुलीभरिको पानी आफ्नो अनुहारमा छ्याप्दै भन्यो, ‘यो नदी पार नगरी हाम्रो यात्रा पूरा हुँदैन, तर यो पार गर्न पनि सकिन्न ।’

‘किन सकिन्न यो पार गर्न ? उपाय चाहिन्छ,’ निराकारले दृढतापूर्वक भनिन् ।

‘के उपाय गर्ने त आमा ?’

‘दुईवटा उपाय छन्, एउटा सुकेका मुढाहरू खोजेर जङ्गलको लहराले तिनलाई एकआपसमा जोडी नछुट्टिने गरी कस्ने र डुङ्गाजस्तो बनाएर नदीमा हेलिने । अनि अर्कोचाहिँ नदीको किनारैकिनार यसको शिरतर्फ लाग्ने, जति माथि गयो नदी त्यति सानो हुन्छ, जहाँबाट पार गर्न सकिन्छ, त्यहीँबाट पार गर्ने ।’

अभ्यस्तलाई दोस्रो उपाय उचित लाग्यो । गन्तव्यहीन यात्रामा निस्केका उनीहरूलाई निश्चित समयमा कहाँ पुग्ने हतारो थिएन । उसले भन्यो, ‘आमा, नदीको उद्गमतिर लागौँ ।’

नदीको विपरीत गतिमा बढे उनीहरू । माछाहरू खेलेको हेर्दाहेर्दै बीसौँ किलोमिटर पार गरेको पत्तै भएन निराकार र अभ्यस्तलाई । दुई नदीको संगममा पुगे उनीहरू । एउटा केही सानो र अर्को अलिक ठूलो थियो । सानोचाहिँ नदी उनीहरूले सजिलै पार गरे र ठूलो नदीको किनारैकिनारै अझै उत्तरतर्फ लागे । केहीबेरको हिँडाइमा फेरि अर्को दोभान भेटे उनीहरूले ।

दुवै नदी तरेर आफ्नो अनिश्चित गन्तव्य सोझ्याए अभ्यस्त र निराकारले ।

जङ्गल भेटे, त्यसलाई पार गरे, खुला ठाउँमा पुगे, त्यसलाई पनि पार गरे, त्यसपछि एउटा नीलो पहाडको फेदीमा पुगे उनीहरू । उत्तरतर्फ टाढा कतै हिमालय पर्वत लहरै उभिएका थिए । दक्षिणतर्फ मरूभूमिजस्तै देखिने सुख्खा भूभाग र पश्चिमतर्फ उत्तर–दक्षिण भएर लमतन्न सुतेको पहाड । अब त्यो पहाडको फन्को मारेर यात्रा सोझ्याउने कि त्यसैमाथि चढ्ने, दुविधामा परे उनीहरू ।

घामले डाँडा काटिसकेको थियो, आजको रात त्यही पहाडका फेदीमा बिताउने निधो उनीहरूले गरे ।

भोलिपल्ट बिहानै पहाड–चढाइ सुरू भयो । पसिना बग्दै जाँदा उकालो छोटिँदै गयो । केही घन्टाको यात्रापछि पसिना सुक्न थाल्यो र अन्त्यमा पहाडमाथिको आरोहण सम्पन्न भयो । बडो सुन्दर पहाड थियो त्यो । उत्तर–दक्षिण झन्डै पाँच किलोमिटर लम्बाइ, माथि सतहमा आधा किलोमिटरजतिको चौडाइ, उत्तरतर्फ सेता पहाडको तरेली, दक्षिणपूर्वतर्फ खुला मरूभूमिजस्तै भाग, सूर्यको प्रकाशमा टल्किएका नागवेली आकारका नदी, पश्चिमतर्फ समथर हरियाली अनि सोझै माथि ठाउँ–ठाउँमा बादलको बुट्टा भरिएको आकाश, तल धरामा जवानीले भरिपूर्ण छोरा र कर्तव्यनिष्ट साहसी आमा ।

असाध्यै प्रिय लाग्यो उनीहरूलाई त्यो ठाउँ । आँखा घुमाई–घुमाई चारैतिर दृष्टि बौछार गरे । यसरी प्रकृतिको सुन्दरतामाथि भोग गर्दै थिए, यता नजिकै कतैबाट ‘खस्रक्क’ आवाज ठोक्कियो उनीहरूको कानमा । दुवैले आवाज आएतिर टाउको घुमाए, तर केही पनि परेन उनीहरूको दृष्टिमा ।

एकैछिनमा केही बुट्यान र रूखपात हल्लाउँदै कुनै बस्तु दौडियो । दौडिएको आवाज आयो तर त्यो के थियो दुवैले पहिचान गर्न सकेनन् । निराकारले सोचिन्– ‘कोही मानिस बाँचेका रहेछन् कि ! हामी दुई देखेर भागेको हो या अरू नै कुनै जनावर पो जीवित छ कि !’

त्यस्तै, अभ्यस्तलाई लाग्यो– ‘कतै कुनै यवती हुन् कि, एक्लै परेकी होलिन् बिचरी । हामीसँग डराएर भागिन् ।’
त्यो आवाज कुनै मानिसको थियो या मानिसमा पनि कुनै युवतीको, पहिचान हुन सकेन । पहिचान गरेर छोड्ने अठोट दुवैले गरे ।

उनीहरूको अस्थायी बसोवास अब केही दिनका लागि त्यहीँ हुने भयो ।

साँझ पर्नुअगावै उनीहरूले आफूसँग भएका केही खानेकुरा खाएर रात कटाउने ठाउँको व्यवस्था मिलाए । हिजोको जस्तो आज उनीहरू थाकेका थिएनन्, त्यसमाथि दिउँसो कुनै जीवको अस्तित्व देखापरेकोले त्यसकै विषयमा उनीहरू सोचमग्न थिए ।

राति निकै अबेरसम्म पनि निराकार र अभ्यस्त निदाएनन् । तर, उनीहरूबीच कुनै सम्वाद पनि भइरहेको थिएन ।

निराकार त्यो जीवलाई कुनै पुरूष पात्रका रूपमा कल्पना गर्दै थिइन्, तर अभ्यस्त भने कुनै युवतीका रूपमा सोच्दै थियो । ‘वास्तवमा त्यो के थियो’ रातभर उनीहरूले सोचिरहे । त्यो जे भए पनि र जो भए पनि हाम्रो समीप आए हुन्थ्यो भन्ने दुवैले सोचे, तर त्यो कम्तीमा रातभरचाहिँ आएन ।

कोही भेटिने आशामा त्यहाँ अनेक रात बिताए उनीहरूले । दुई पूर्ण चन्द्रले समयलाई घेरा लगाइसकेको थियो । कोही भेटिने निराकार र अभ्यस्तको आशा बिस्तारै निराशामा बदलिँदै गयो ।

एक साँझ अचानक ।

निराकार र अभ्यस्तको नजिकैबाट कुनै जीव दौडिएजस्तो आवाज आयो । दुवै होसियार भए र आवाज आएतिर आँखा दौडाए, करिव पचास मिटरको दूरीमा कालो छायाजस्तो कुनै हलचल नगरी उभिएजस्तो वस्तु देखियो । उनीहरूले चुपचाप त्यसलाई हेरिरहे । केहीबेरपछि त्यो कालो छायाजस्तो वस्तु ठाउँ सऱ्यो, बडो सचेततापूर्वक अभ्यस्त र निराकार भएतिर बढ्न थाल्यो त्यो । झन्डै दस मिटरको दूरीमा आएर टक्क रोकियो ।

अभ्यस्त र निराकारलाई आफ्नै श्वास–प्रश्वास प्रक्रिया पनि आँधी आएजस्तो भइरहेको थियो । दुवैले एक अर्काको हात नफुस्कने गरी पक्रेर त्यो जीवको परिचय लिन सन्नाटापूर्ण प्रतीक्षामा बसे ।

उनीहरूलाई खानेकुराको प्रबन्ध गर्नु थियो, तर अचानक पैदा भएको रोमाञ्चकारी क्षणले उनीहरूको शारीरिक भोक हराइसकेको थियो ।

आफूहरूले अग्रसरता लिँदा त्यो जीव भाग्ने या आफैमाथि आइलाग्न पनि सक्ने भएको हुँदा चुपचाप धैर्य गर्नु नै उनीहरूले उचित ठाने । झन्डै आधा घन्टाको अन्तराल पार हुनै लाग्दा त्यो जीव फेरि केही पाइला अघि सऱ्यो । त्यसको आकृति पहिलेभन्दा अलिक स्पष्ट भएकोले उनीहरूलाई त्यो प्राणीको चार वटा खुट्टा रहेको थाहा पाउन मुस्किल परेन । टाउकोमाथि उठेका दुई थुम्का सिङ थिए कि कान त्यो भने निर्क्योल हुन सकेन । आत्मरक्षाको निम्ति तयार हुन अभ्यस्त र निराकार आपसमा अझै नजिक बने ।

यसरी बढी होसियार बन्ने क्रममा नजिक हुँदा उनीहरू चलेको देखियो र केही आवाज पनि पैदा भयो । त्यसपछि त्यो ‘जीव’ तर्सेझैँ गरी फरक्क फर्कियो र खुब दौडिएर भाग्यो । अभ्यस्त र निराकारले सास फेरे । जीवको पहिचान गर्न नपाएकोमा उनीहरू दुःखी भए । अनि सुस्केरा हाल्दै रूखमाथि बनाइएको एक मचानमाथि उक्लिए र यो रात पनि अनेक कल्पना गर्दै उनीहरू सुते ।
(क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस्–
सबैले खोजेकाले सुख टाढा !