सम्पर्कविहीन र अलपत्र परेकासमेत ओमानबाट ८३० नेपाली घर फिर्ता

सम्पर्कविहीन र अलपत्र परेकासमेत ओमानबाट ८३० नेपाली घर फिर्ता


नेपाली राजदूतावास, ओमानले पाँचौँ उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष) लाई शुक्रबार (२६ भदौ) नेपाल पठाएको छ । यात्रु तथा चालक दलका सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको राजदूतावासले जनाएको छ ।

कोभिड–१९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्डअनुसार ओमानमा रहेका ८३० नेपालीलाई नेपाल फिर्ता गराइसकिएको जनाइएको छ ।

आजको उडानबाट नेपाल जानेमध्ये सम्पर्कविहीन र झापा बाह्रदशी गाउँपालिकाकी नेत्रकुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ ।

राउत वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका रूपमा केही वर्षअघि ओमान पुगेको र विसं २०७० देखि सम्पर्कविहीन रहेको भनी उनका छोरा नवराजले जानकारी दिएपछि कूटनीतिक माध्यमबाट सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्यावस्था नाजुक रहेकाले घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण गरिएको जनाइएको छ ।

साथै मानव तस्करको फन्दामा परी पर्यटक प्रवेशाज्ञामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीका लागि ओमानमा पुगेर घरेलु कामदारका रूपमा काम गर्ने क्रममा अलपत्र ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पूरा गरी आजकै उद्धार उडानमार्फत नेपाल फर्काइएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी सो उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारका रूपमा कार्यरत करिव ६० नेपालीलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्नसमेत दूतावास सफल भएको बताइएको छ ।

विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले सम्पूर्ण नेपालीलाई सफल यात्रा तथा सुखमय जीवनका लागि शुभकामना व्यक्त गरेकी थिइन् । यात्रुको यात्रा सहजीकरणका लागि दूतावासका द्वितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना, स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका सदस्यलगायत नेपाली राजदूतावास, मस्कट कोभिड–१९ व्यवस्थापन स्वयम्सेवी सदस्यले योगदान गरेका जनाइएको छ ।